काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका नागरिकको उद्धारलाई पहिलो प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन्।
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि उद्धार, राहत तथा पुनःस्थापनाका विषयमा सुझाव दिन अध्यक्ष घिसिङ नेतृत्वको टोलीले बिहीबार प्रधानमन्त्री वालेन्द्र शाहसँग सिंहदरबारस्थित प्रधानमन्त्री निवासमा भेटवार्ता गरेको हो।
भेटमा घिसिङले विपद् प्रभावित क्षेत्रमा स्थलगत रूपमा देखेका र बुझेका समस्याका साथै तत्काल गर्नुपर्ने कामबारे प्रधानमन्त्रीलाई लिखित तथा मौखिक सुझाव दिएको बताए।
‘विपद्को अवस्थामा हामीले फिल्डमा भिजिट गरेर धेरै ठाउँमा देखेका, बुझेका र गर्नुपर्ने विषयमा उहाँहरूलाई दिने सुझावका लागि भेटघाट गरेका हौं,’ प्रधानमन्त्री कार्यालयबाट बाहिरिने क्रममा घिसिङले भने।
उनका अनुसार अहिलेको अवस्थामा विशेषगरी उद्धार, राहत र पुनःस्थापनालाई प्राथमिकतामा राखेर सरकारले काम गर्नुपर्ने सुझाव दिइएको छ।
भेटका क्रममा प्रधानमन्त्री शाहले जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका नागरिकको उद्धारबारे विशेष चासो राखेका थिए। घिसिङका अनुसार प्रधानमन्त्रीले सुरुङमा फसेकाहरूको उद्धारका लागि आवश्यक सबै स्रोतसाधन परिचालन गर्ने प्रतिबद्धता जनाएका छन्।
‘मुख्य गरेर सुरुङभित्र थुनिएका साथीहरूलाई कसरी उद्धार गर्ने भन्नेबारे उहाँहरूको जिज्ञासा थियो। त्यससम्बन्धमा हामीले बुझेका र गर्नुपर्ने कुराहरू राखेका छौं,’ घिसिङले भने।
प्रधानमन्त्री शाहले स्वदेशमा उपलब्ध स्रोतसाधनले नपुगे विदेशबाट आवश्यक उपकरण, विज्ञ तथा प्राविधिकसमेत ल्याएर उद्धार कार्य अघि बढाउने बताएको घिसिङले जानकारी दिए।
घिसिङले सुरुङभित्र फसेकाहरूको उद्धारका लागि कुनै विशेष प्रविधि आवश्यक नरहेको बताए। उनका अनुसार पर्याप्त उपकरण र दक्ष प्राविधिकसहितको उद्धार टोली घटनास्थलमा पुर्याएर सुरुङमा जमेको गेग्रान तथा ढुंगा हटाउँदै उद्धार कार्य अघि बढाउन सकिन्छ।
‘सुरुङमा फसेकाहरूलाई उद्धार गर्न स्पेसल प्रविधि भन्ने हुँदैन, काम नै गर्ने हो त्यहाँ,’ उनले भने, ‘हामीले इक्विपमेन्ट पुर्याउनु पर्यो र प्राविधिकहरू लगेर समयमा काम गर्नुपर्यो।’
उनका अनुसार अहिलेको मुख्य चुनौती उद्धारका लागि आवश्यक उपकरण घटनास्थलसम्म पुर्याउनु हो। त्यसका लागि पर्याप्त उपकरण र प्राविधिक जनशक्ति तत्काल परिचालन गर्नुपर्ने उनले बताए।
‘टिमले मात्रै नपुग्ने भएकाले पर्याप्त उपकरण पुग्नुपर्यो। मुख्य समस्या भनेकै त्यहाँ उपकरण पुर्याउन गाह्रो भएकाले हो,’ घिसिङले भने।
प्रधानमन्त्री शाहले भने उद्धारका लागि जुनसुकै अवस्थामा पनि आवश्यक कदम चाल्ने र आवश्यक परे स्वदेश तथा विदेशबाट स्रोतसाधन परिचालन गर्ने प्रतिबद्धता जनाएको घिसिङले बताए।
भदौ १० गतेको भोटेकोसी बाढीपछि विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीबाट प्रभावित क्षेत्रको निरीक्षणका क्रममा घिसिङ नेतृत्वको टोलीले उद्धार, राहत तथा पुनःस्थापनासँग सम्बन्धित समस्या र आवश्यकताबारे जानकारी संकलन गरेको थियो।
















प्रतिक्रिया