नेपालगन्ज । जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेशका बहालवाला २ मन्त्री सहित चार जना प्रदेश सभा सदस्यहरूलाई साधारण सदस्य समेत नरहनेगरि कारबाही गरेको छ। यही भदौ १६, १७ र १८ गते ललितपुरको बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उनीहरुलाई कारबाही गरेको हो ।
कारबाहीमा पर्नेहरुमा रुपन्देही निर्वाचन क्षेत्र नं. ३ (१) बाट निर्वाचित सन्तोष कुमार पाण्डेय, समानुपातिक निर्वाचन तर्फबाट निर्वाचित हेमा वेल्वासे (के.सी.), बाँके निर्वाचन क्षेत्र नं. २ (१) बाट निर्वाचित भण्डारीलाल अहिर र बाँके निर्वाचन क्षेत्र नं. २ (२) बाट निर्वाचित आदेश कुमार अग्रवाल रहेका छन् । उनीहरुलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको हो।
उनीहरुलाई पार्टीको नीति निर्णय विपरित लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गरी सरकारमा समेत सहभागी भएको भन्दै साधारण सदस्य समेत नरहनेगरि कारबाही गरिएको जसपा नेपालले जनाएको छ। सन्तोष कुमार पाण्डेय लुम्बिनी प्रदेश सरकारको बहालवाला शहरी विकास, ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्री हुन् भने भण्डारी लाल अहिर बहालवाला आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्री हुन् ।
कारबाहीमा परेका सांसदहरूको पद रिक्त गर्न सम्बन्धित प्रदेश सभाहरूमा छिट्टै पत्राचार गरिने जसपा नेपालले जनाएको छ ।
यस्तै, कोशी प्रदेशकी सांसद निर्मला तावा लिम्बूलाई पनि पार्टी निर्देशन उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय भएको जसपाका नेता मनिष सुमनले जानकारी दिए ।
यही भदौ १६, १७ र १८ गते ललितपुरको बालकुमारीमा पार्टीका संरक्षक महन्थ ठाकुरको उपस्थिति तथा पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले काबाही गर्ने निर्णय गरेको हो।
















प्रतिक्रिया