बुटवल । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-गोरुसिङ्गे सडकखण्ड विस्तार योजनासँगै बुटवलस्थित तिनाउ नदीमा आधुनिक ‘सिग्नेचर ब्रिज’ निर्माणको बाटो खुलेको छ । सडक विभागले चिनियाँ कम्पनी एम/एस आन्हुई सिन्जियान होल्डिङ ग्रुपसँग करिब १ अर्ब ७० करोड रुपैयाँमा पुल निर्माणको ठेक्का सम्झौता गरेको हो ।
आयोजना निर्देशक इन्जिनियर अर्जुनप्रसाद अर्यालका अनुसार सम्झौता भएको मितिले तीन वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
कस्तो बन्नेछ सिग्नेचर ब्रिज ?
हाल सञ्चालनमा रहेको पुरानो पुलको दुवैतर्फ दुई-दुई लेनका नयाँ पुल थपेर चार लेनको आधुनिक पुल निर्माण गरिनेछ । नयाँ पुलको लम्बाइ करिब २३० देखि २४० मिटरसम्म हुनेछ भने त्यससँगै ९८० मिटर लामो पहुँच मार्ग (एप्रोच रोड) समेत निर्माण गरिनेछ ।
पुलमा सवारीसाधनको सहज आवागमनका साथै पैदल यात्रुका लागि छुट्टै आकर्षक फुटपाथको व्यवस्था गरिनेछ ।
सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत देशका दुई प्रमुख नदी-चितवनको नारायणी र बुटवलको तिनाउमा ‘सिग्नेचर ब्रिज’ निर्माण गर्ने योजना अघि सारेको थियो । नारायणी नदीमा पुल निर्माणले गति लिइरहेको अवस्थामा तिनाउको पनि ठेक्का सम्झौता हुनुलाई पश्चिम नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।
तिनाउमा निर्माण हुने सिग्नेचर ब्रिज बुटवल-गोरुसिङ्गे ५० किलोमिटर सडकलाई चार लेनमा विस्तार गर्ने परियोजनाकै अभिन्न हिस्सा हो । सडक स्तरोन्नतिसँगै आधुनिक पुल निर्माण भएपछि पूर्व-पश्चिम राजमार्गको यातायात सहज हुनुका साथै बुटवलको सौन्दर्य र पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।
















प्रतिक्रिया