काठमाडौं । भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका अधिकांश पुल बगाएपछि नुवाकोटका विभिन्न क्षेत्रमा यातायात तथा आवतजावत प्रभावित भएको छ ।
बाढीका कारण विदुर नगरपालिका-५, देवीघाटस्थित तादी नदीको पुल तथा सडक संरचनामा क्षति पुगेपछि नेपाली सेनाले आवतजावत पुनःस्थापित गर्न एक्रोब्रिज निर्माणको काम तीव्र बनाएको छ ।
नेपाली सेनाको इन्जिनियरिङ फौजले देवीघाटस्थित तादी नदीमा जडान गर्न लागेको एक्रोब्रिज ५७.५ मिटर लामो र ५.५ मिटर चौडा रहेको छ । उक्त पुलले अधिकतम ७० टनसम्मको भारवहन क्षमता राख्ने बताइएको छ ।
पुल निर्माण सम्पन्न भएपछि देवीघाट तथा आसपासका बस्तीमा आवतजावत र यातायात सेवा सहज हुने अपेक्षा गरिएको छ । सेनाले केही दिनमै पुल निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाएको जनाएको छ ।
















प्रतिक्रिया