२२ भदौ २०८३, सोमबार | September 7, 2026

मुस्ताङको ठिनी गाउँमा प्रकृति पूजा



मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका-३ ठिनी गाउँमा स्थानीय थकाली समुदायले परम्परागत रूपमा मनाउने फालो पर्व आइतबारबाट सुरु भएको छ । हरेक वर्ष भदौ महिनामा मनाइने भएकाले स्थानीय थकाली भाषामा यस पर्वलाई ‘फालो’ भनिन्छ ।

थकाली समुदायको उद्गमस्थलका रूपमा परिचित ठिनी गाउँ ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ । स्थानीयका अनुसार थकाली राजाले शासन गरेको यस गाउँमा पुस्तौँदेखि फालो पर्व मनाइँदै आएको छ ।

फालो पर्वका अवसरमा ठिनी गाउँमा दुई दिनसम्म विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन हुन्छन् । पर्वको पूर्वसन्ध्यामा गाउँका लामाले प्रकृतिको विशेष पूजा गरेपछि स्थानीयवासीले उनीहरूबाट आशीर्वाद लिने परम्परा छ ।

प्रकृति पूजा गर्न जाने क्रममा स्थानीय महिलाले लामालाई खादासहित फूलमाला लगाएर सम्मानका साथ बिदाइ गर्ने परम्परा छ ।

स्थानीय लामा श्यामप्रसाद थकालीका अनुसार फालो पर्वमा हिमाललाई साक्षात् भगवानका रूपमा मानेर पूजा गरिन्छ । गाउँमा कुनै अनिष्ट नहोस्, रोगव्याधि नलागोस्, अन्नबाली सप्रियोस्, प्राकृतिक विपत्ति नआओस् र विश्वमा शान्ति छाओस् भन्ने कामनासहित प्रकृति पूजा गरिने उनले बताए ।

पछिल्लो समय विपद्का घटना बढ्दै गएको र रसुवाको भोटेकोशीमा आएको विनासकारी बाढीबाट ठूलो जनधनको क्षति भएको स्मरण गर्दै उनले यस्ता घटना नदोहोरिउन् भन्ने कामनासमेत प्रकृति पूजामा गरिने बताए ।

ठिनी गाउँका स्थानीयवासी फालो पर्वको पूर्वसन्ध्यामा घोडामा सवार भएर प्रकृति पूजाका लागि नमखुलेक क्षेत्रमा पुगेका छन् । पर्वमा सहभागी हुने लामालाई गाउँका महिलाले परम्परागत रूपमा सम्मानसहित बिदाइ गरेका छन ।

प्रकृति पूजा गर्न गएको टोली दुई दिनपछि गाउँ फर्कनेछ । टोली फर्किएपछि मात्र फालो पर्व औपचारिक रूपमा सुरु हुने स्थानीय बताउँछन् । पर्वमा याक नाच, जोगी नाच, तमाया नाचलगायत सांस्कृतिक झाँकी प्रस्तुत गरिन्छ । दुई दिनसम्म सञ्चालन हुने पर्व धार्मिक विधि तथा परम्पराअनुसार समापन गरिनेछ ।

प्रकाशित मिति : २२ भदौ २०८३, सोमबार  ७ : ५३ बजे

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११

भरतपुर-काठमाडौं उडानमा यात्रुको उच्च चाप

चितवन । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि