नुवाकोट । भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा उद्धारलाई थप तीव्र पारिएको छ । शनिबार विदुर नगरपालिका-१० स्थित वेत्रावतीमा ६४ वर्षीया महिलालाई ११ दिनपछि सकुशल उद्धार गरिएको थियो ।
सोही समयमा विदुरमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका नुवाकोट-१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा विक्रम तिमिल्सिनाले अझै केही दिन सुक्ष्म रूपमा खोज तथा उद्धारलाई जारी राख्न निर्देशन दिएका थिए ।
बाढी आएको ११ दिनपछि बेत्रावतीबाट गरिएको उद्धार उदाहरणीय बनेको थियो । अझै थप सफलता प्राप्त गर्न सकिने आशासहित केही दिन खोज तथा उद्धारलाई तीव्र बनाइएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।
उनका अनुसार सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको तालिमप्राप्त कुकुरसहित जिल्लाका विभिन्न ३० स्थानमा केन्द्रित भई बाढीमा परेर हराइरहेकाको खोजतलास गरिएको छ । सो क्रममा आइतबार विदुर-१ त्रिशूली बजारमा दुई र वडा नं ३ सिर्खालीमा थप एक गरेर तीनवटा शव फेलापरेको छ ।
“आवश्यक परेमा नेपाली सेनाको सहयोग रहनेगरी सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई उपलब्ध स्रोतसाधन प्रयोग गरेर बाढीबाट क्षतिग्रस्त भएकादेखि पुरिएका घरका प्रत्येक कोठा र कुना-काप्चासम्म पुगेर खोज उद्धारलाई तीव्र बनाउन थालेका छौँ”, उनले भने, “उद्धारमा खटिएका सुरक्षाकर्मीलाई आवश्यक सहयोग र सहजीकरण गर्न स्थानीय बासिन्दालाई अनुरोध गर्दछौँ ।”
जिल्ला विपद् व्यवस्थापन समितिको तथ्याङ्कअनुसार भोटेकोशी बाढीमा परेर बेपत्ता हुनेको सङ्ख्या नुवाकोटमा मात्रै दुई हजार ६७३ जना छन् । स्थानीय तहबाट तथ्याङ्क सङ्कलन भइरहेको हुँदा हराउनेको सङ्ख्या थप बढ्न सक्छ ।
बाढीले जिल्लाको विदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिका प्रत्यक्ष प्रभावित भएको छ । जिल्लाको मुख्य बस्ती रहेका क्षेत्र वेत्रावती, भैसेँ, तुप्चे, त्रिशूली, ढुङ्गे, देवीघाटलगायत बगरमा परिणत भएको छ । ठूलो जनधनको क्षति भएको छ ।
बाढीले धेरैको घर पुरिएको तथा बगाएर अर्को स्थानमा पुर्याएकाले हराइरहेका व्यक्तिको जीवन बचाउन सकिने आशाका साथ संयुक्त सुरक्षा फौजले खोज, उद्धारलाई तीव्र पारेको हो ।
















प्रतिक्रिया