२३ भदौ २०८३, मंगलबार | September 8, 2026

भेडागोठमा लालबिरका सात दशक



म्याग्दी । शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा भिरेर ट्याक पाइन्ट लगाएका । खुट्टामा घुँडासम्म छोपिने गमबुट । भेडाबाख्राका हुलको पछिपछि दौडिरहेका ८१ वर्षीय लालबिर तिलिजाको सक्रियता युवा र किशोर अवस्थाको तुलनामा कम छैन् ।

समुद्री सतहदेखि चार हजार दुई सय मिटर उचाइमा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ स्थित खयरखोला क्षेत्रमा यही भदौ दोस्रो साता भेटिएका लालबिरलाई खर्कबाट चरन क्षेत्रमा हिँडेका भेडाबाख्राको बथानलाई पछ्याउन फुर्सद थिएन ।

“जिजुका पालादेखि सुरु भएको भेडापालन मसम्म आउँदा चार पुस्ता भएको छ,” अन्नपूर्ण गाउँपालिका-५ पाउद्वारका लालबिरले भने, “छ वर्षको उमेरदेखि बस्न थालेको भेडागोठ अझै छोडेको छैन ।”

हाल एक सय ६० वटा भेडाबाख्रा पालेका लालबिर हिउँदको चिसो छल्न घुम्ती गोठ लिएर बेँसीमा र गर्मीमा पोषिलो घाँस पाइने अन्नपूर्ण र बराहशिखर हिमालको फेदीमा रहेको खयरखोला क्षेत्रको बुकीमा पुग्छन ।

बुढ्यौली बढ्न थालेपछि भतिज टेकजित तिलिजासँग लालबिरले संयुक्त गोठ बनाएका छन । खयरखोला र नौलोबन क्षेत्रमा पाउद्धारका तीन वटा भेडागोठ छन् । त्यहाँ करिब दुई हजार भेडा बाख्रा छन् । जेठमा लेक उक्लिएका गोठालाहरुलाई हप्ता दश दिनमा गाउँबाट आफन्तहरुले खाद्यान्न पु¥याइदिन्छन् ।

“घरव्यवहार चलाउने र छोराछोरी पाल्ने, पढाउने आम्दानीको स्रोतनै भेडापालन हो,” लालबिरले भने “भेडाबाख्रा बेचेरै नौ जना छोराछोरीलाई हुर्काए र पढाए ।” सहरबजारको विलाशी जीवनभन्दा स्वच्छ हावापानीमा गोठालो बस्न लालबिरलाई रमाइलो लाग्छ । दौतरीहरु भारतीय र बेलायती गोर्खा सैनिकमा भर्ती हुन गए पनि आफू वनपाखामा रमाएको उनले बताए ।

विदेशमा रहेका छोराछोरीको साथमा भेडाबाख्रा बेचेर भएको कमाइबाट पोखरामा घडेरी किनेर घर पनि बनाएको लालबिरले सुनाए । “छोराछोरीले भनेपछि एक वर्ष पोखरा गएर बस्दा कुज्जिएको जस्तो भएपछि फेरी बेचेको भेडा फर्काएर लेकबेँसी गर्न थालेको छु,” उनले भने, “शरिर र स्वास्थ्यले साथ दिदाँसम्म भेडाबाख्रासँगै बिताउने मेरो योजना छ ।”

उनीसँगै कुनै समय पाँच सयभन्दा भेडाबाख्रा थिए । बार्षिक ५० वटासम्म भेडाका साँड, खसी र बोका बिक्री हुन्छ । जनै पूर्णिमा पर्वमा खयरभारानी तालमा लाग्ने मेलामा भाकल पूरा भएका भक्तजनले बली चढाउन गोठबाटै साँढे र बोका किनेर लैजान्छन् । एक वटा साडको मूल्य रु २० देखि ३५ हजारसम्म पर्छ । दसैँतिहार, माघे सङ्क्रान्ति, साउने सङ्क्रान्ति, भूमे पूजाजस्ता चाडपर्वमा पनि मासुका लागि साँढे तथा खसीबोका बिक्री हुन्छ ।

सूचना प्रविधिको विकासले गर्दा पहिलेजस्तो महिनौँसम्म आफन्तसँग सम्पर्कविहीन हुनुपर्ने अवस्था छैन । मनोरञ्जनका लागि रेडियो सुन्ने, मोबाइल बजाउने गर्छन् । उज्यालोका लागि घुम्ती सोलार प्यानल गोठमा राखेका छन् । चितुवा र ब्वाँसोबाट भेडाबाख्रा बचाउनका लागि भोटे जातका कुकुर पालेका छन् । एउटा गोठमा न्यूनतम तीन वटा कुकुर पालेका छन् ।

लेकाली क्षेत्रमा विषालु घाँस पलाउन र हिउँदमा बेँसीका चरन क्षेत्रमा घाँसको अभाव मुख्य चुनौती रहेको लालबिरले बताए । तापक्रम वृद्धिका कारण बिषालु घाँस उम्रिन थालेको र बेँसीमा चरनको अभाव हुन थालेको लालबिरको अनुभव छ । वन्यजन्तुको आक्रमण र गोठाला बस्ने जनशक्ति पाइन छाड्नु पनि भेडापालनलगायत घुम्तीगोठमा गरिने पशुपालनका लागि चुनौती बनेको छ ।

प्रकाशित मिति : २३ भदौ २०८३, मंगलबार  ७ : २९ बजे

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज, अधिवेशन कार्यतालिका तय गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार बैठक बोलाएको

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका

काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा छ हजारभन्दा बढी भूमिहीन सुकुमवासी, दलित र

भेडागोठमा लालबिरका सात दशक

म्याग्दी । शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा