३१ भदौ २०८३, बुधबार | September 16, 2026

डिजेल अनियमितता प्रकरणमा तीन ट्याङ्कर निलम्बित, चालक-सहचालकलाई प्रवेश निषेध

सराफ आयल स्टोर्सलाई एक लाख जरिवाना, छ महिनाका लागि पेट्रोलियम पदार्थ आपूर्ति बन्द



भैरहवा । पेट्रोलियम पदार्थ ढुवानीका क्रममा ट्याङ्करमा जडित सुरक्षा प्रणालीमा छेडछाड गरी डिजेल निकालिएको अवस्थामा भेटिएपछि नेपाल आयल निगमले तीनवटा ट्याङ्कर र एक पेट्रोल पम्पमाथि कारबाही गरेको छ ।

नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालय भलवारीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार डिजेल ढुवानी गर्ने तीनवटा ट्याङ्करमा जडित मेकानिकल सेक्युरिटी लकिङ सिस्टममा छेडछाड भएको पाइएको हो ।

घटनामा संलग्न भनिएका ट्याङ्करका चालक, सहचालक तथा पेट्रोल पम्प सञ्चालकविरुद्ध समेत कारबाही प्रक्रिया अघि बढाइएको निगमले जनाएको छ ।

निगमका अनुसार मधेश प्रादेशिक कार्यालय अमलेखगञ्जबाट डिजेल बोकेर आएका श्री पौडेल यातायात प्रालिको लु १ ख ६४०४, श्री बी.एन.एस. ढुवानी सेवाको लु २ ख १५४४ र श्री त्रिमूर्ति ट्रान्सपोर्ट प्रालिको लु १ ख ६६१९ नम्बरका ट्याङ्करमा सुरक्षा प्रणाली बिगारिएको अवस्थामा भेटिएको हो । तीनवटै ट्याङ्करले अमलेखगञ्जबाट डिजेल लोड गरी भलवारी डिपोमा स्टक ट्रान्सफर गर्न ल्याएका थिए ।

निगमले २०८३ भदौ ३० गते डिपोमा डिजेल अनलोडिङ गर्न जाने क्रममा सिद्धार्थनगर नगरपालिका-भैरहवास्थित सराफ आयल स्टोर्सको कम्पाउन्डमा ट्याङ्करको जाँच गरेको थियो । जाँचका क्रममा लु १ ख ६४०४ र लु २ ख १५४४ नम्बरका ट्याङ्करमा जडित मेकानिकल सेक्युरिटी लकिङ सिस्टम ज्याक प्रयोग गरी बिगारिएको अवस्थामा भेटिएको निगमले जनाएको छ ।

त्यसैगरी, लु १ ख ६६१९ नम्बरको ट्याङ्करबाट समेत डिजेल निकालिएको अवस्थामा भेटिएको विज्ञप्तिमा उल्लेख छ । निगमका अनुसार तीनवटै ट्याङ्करबाट निकालिएको करिब ३०-३० लिटर डिजेल निलो ड्रममा राखिएको पाइएको थियो । ट्याङ्करका म्यानहोल कभर खोलिएको अवस्थामा भेटिएपछि घटनाबारे अनुसन्धान अघि बढाइएको निगमले जनाएको छ ।

घटनाबारे जानकारी पाएपछि लुम्बिनी प्रदेश प्रहरीको टोली र निगमका कर्मचारीले संयुक्त रूपमा चेकजाँच गरेका थिए । त्यस क्रममा घटनासम्बन्धी मुचुल्का तयार गरी सराफ आयल स्टोर्सलाई सिलबन्दी गरिएको थियो । थप अनुसन्धानका लागि तीनवटै ट्याङ्करलाई जिल्ला प्रहरी कार्यालय भैरहवा, रूपन्देहीमा पठाइएको निगमले जनाएको छ ।

निगमले ट्याङ्करका चालक, सहचालक तथा पम्प सञ्चालकविरुद्ध आवश्यक कारबाही प्रक्रिया अघि बढाउन जाहेरी दिएको जनाएको छ ।

पम्पलाई एक लाख जरिवाना

निगमले २०८३ भदौ ३१ गते सराफ आयल स्टोर्सलाई अनधिकृत रूपमा पेट्रोलियम पदार्थ खरिद गरी बिक्री वितरण गरेको भन्दै नेपाल आयल निगम लिमिटेड विक्रेता विनियमावली, २०७५ (संशोधनसहित) को विनियम २९ र ३३ बमोजिम एक लाख रुपैयाँ जरिवाना गरेको छ ।

साथै, उक्त पेट्रोल पम्पलाई छ महिनासम्म पेट्रोलियम पदार्थको आपूर्ति बन्द गर्ने निर्णय गरिएको निगमको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी, लु २ ख १५४४, लु १ ख ६४०४ र लु १ ख ६६१९ नम्बरका तीनवटै ट्याङ्करलाई नेपाल आयल निगमको ढुवानी विनियमावली, २०७३ (संशोधनसहित) को विनियम १७ र १७ (घ) बमोजिम तीन महिनाका लागि निलम्बन गरिएको छ ।

निगमले उक्त ट्याङ्करका चालक तथा सहचालकलाई निगमका कुनै पनि डिपो तथा कार्यालयमा आजीवन प्रवेश निषेध गरेको जनाएको छ ।

साथै, निगमसँगको करार सम्झौताअनुसार सञ्चालनमा रहेका ती ट्याङ्कर चलाउन नपाउने गरी कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ ।

पेट्रोलियम पदार्थको ढुवानीमा हुने अनियमितता नियन्त्रण गर्न सुरक्षा प्रणालीको प्रभावकारी अनुगमन तथा कडाइ गरिने निगमले जनाएको छ ।

 

प्रकाशित मिति : ३१ भदौ २०८३, बुधबार  ७ : ३० बजे

जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग

मुस्ताङ । ‘हिमालको आवाज, स्थानीय तह तहको सङ्कल्प र जलवायु

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौँ । अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

सर्वोच्चले खोलिदियो महाधिवेशन गर्ने बाटो

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन गर्ने बाटो खुला

संविधान संशोधन गर्न दुवै सदनको दुई तिहाई बहुमत हुनैपर्ने

काठमाडौं । सर्वोच्च अदालतले संविधान संशोधन गर्न दुवै सदनमा दुई

तीन महिनादेखि उडान नहुँदा सुनसान रेसुङ्गा विमानस्थल

गुल्मी । जिल्लाको एकमात्र रेसुङ्गा विमानस्थलबाट गएको तीन महिनामा कुनै