काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन गर्ने बाटो खुला गरिदिएको छ । सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले सर्वोच्च प्रशासनले गरेको दरपीठ बुधबार सदर गरेसँगै कांग्रेसको महाधिवेशन गर्ने बाटो खुला भएको हो ।
कांग्रेसको महाधिवेशन गर्ने तयारीमा रहेका सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवा दुवैको कार्यतालिका रोक्न माग गर्दै पेस भएको निवेदन दरपीठ आदेशलाई सर्वोच्च अदालतले सदर गरेको छ ।
‘‘प्रस्तुत निवेदन माग बमोजिमको नेपाली कांग्रेसको महाअधिवेशन सम्बन्धी कुनै पनि कार्य रोकी स्थगित गर्नु पर्ने सम्मको अवस्थाको विद्यमानता नदेखिँदा,’’ आदेशमा लेखिएको छ, ‘‘यी निवेदकले दर्ता गर्न ल्याएको प्रस्तुत रिट निवेदन दर्ता गर्न नमिल्ने आधार कारण समेत खुलाई यस अदालतका रजिस्ट्रारबाट मिति २०८२/०५/२९ मा भएको दरपिठ आदेश बेरितको नदेखिँदा बदर गर्नु परेन । कानुनबमोजिम गर्नू ।’’
कांग्रेसको आधिकारिकता विवाद र निर्वाचन आयोगको निर्णयका पक्षमा यसअघि भएको फैसलामाथि पुनरवलोकनको माग राखेर पुगेको विवाद सर्वोच्चमा विचाराधीन रहेको अवस्थामा दुबै पक्षबाट आह्वान गरिएको महाअधिवेशन रोक्नु पर्ने माग राखेर अधिवक्ता मणिराम उपाध्यायले रिट दिएका थिए ।















प्रतिक्रिया