रसुवा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शनिबार थप ११ जनाको शव निकालिएको छ।
भदौ १० गते रसुवाको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीपछि आयोजनाबाट सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजीका क्रममा शनिबार अडिट-३ टनेलभित्रबाट थप ११ शव फेला परेका हुन्।
आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले अडिट-३ टनेलको जालीमा अल्झिएको तथा हिलोमा दबिएको अवस्थामा शव फेला पारेको थियो। फेला परेका सबै ११ शवलाई सुरुङबाट बाहिर निकालिएको आयोजनाले जनाएको छ।
यसअघि शुक्रबार दिउँसो १३ वटा र शुक्रबार साँझ थप ५ वटा शव फेला परेका थिए। शनिबार थप ११ शव भेटिएसँगै बाढीपछि आयोजनाको सुरुङ क्षेत्रमा फेला पारिएका शवको संख्या २९ पुगेको छ।
बाढीपछि आयोजनामा कार्यरत केही व्यक्ति अझै सम्पर्कविहीन रहेकाले उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको आयोजनाले जनाएको छ।
भोटेकोसीमा आएको बाढीले माथिल्लो त्रिशूली-१ आयोजनाको निर्माण क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो। त्यसयता सुरुङ तथा आयोजनाको प्रभावित क्षेत्रमा उद्धार टोलीले खोजी कार्यलाई निरन्तरता दिँदै आएको छ।
















प्रतिक्रिया