काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी चुनौतीपूर्ण परिस्थितिबाट गुज्रिरहेका बेला आन्तरिक रूपमा समस्या सिर्जना गर्ने प्रवृत्ति देखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
सोमबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले प्रतिकूल परिस्थितिको सामना गर्न पार्टी एकढिक्का भएर अघि बढ्नुपर्नेमा पार्टीभित्रै केही व्यक्ति र समूह समस्या सिर्जना गर्न उद्यत भएको बताएका हुन्।
‘एमाले यतिबेला एकजुट भएर, एकढिक्का भएर अघि बढ्नुपर्ने अवस्थामा छ। प्रतिकूलताको सामना गर्नका लागि हामीमाथिको फाँसीवादी हमलाको प्रतिकार गर्न पनि हामी एकजुट भएर अघि बढ्नुपर्ने थियो,’ ओलीले भने, ‘तर पार्टीभित्रै केही व्यक्ति र तत्त्वहरू समस्या सिर्जना गर्नका लागि उद्यत भए। उनीहरूले समस्या सिर्जना गरेका छन्।’
ओलीले पार्टीभित्रका विषय कमिटीमै छलफल गर्नुपर्नेमा सार्वजनिक रूपमा मिडियामार्फत नेतृत्वमाथि प्रश्न उठाउने प्रवृत्तिप्रति आपत्ति जनाए। पछिल्लो समय उपमहासचिव योगेश भट्टराईले अध्यक्षले स्वविवेकले राजीनामा दिनुपर्ने तथा नेतृत्व हस्तान्तरणका लागि विधान संशोधन, राष्ट्रिय भेला वा विशेष महाधिवेशनलगायतका विकल्पमा जानुपर्ने धारणा सार्वजनिक रूपमा राखेकोप्रति ओलीको असन्तुष्टि लक्षित देखिएको छ।
‘पार्टीभित्रको बहस पार्टीभित्र, कमिटीभित्र छलफल हुन सक्थ्यो,’ ओलीले भने, ‘तर मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो, यस्ता कुराहरू बोल्ने को न्यायाधीश ?’
उनले पार्टीमा रहेका नेताहरूले बाहिर गएर पार्टीको आन्तरिक विषयमा जथाभावी बोल्न नहुने बताए। पार्टीभित्रै छलफल, बहस र आफ्ना धारणा राख्न सकिने भन्दै उनले सार्वजनिक अभिव्यक्तिले पार्टीको प्रतिष्ठा कमजोर पार्ने र विपक्षीलाई मनोबल बढाउने अवस्था सिर्जना गर्न नहुने बताए।
‘तपाईं पार्टीमा हुनुहुन्छ भने पार्टीभित्र छलफल गर्नुस्, कमिटीमा छलफल गर्नुस्, राय राख्नुस्। तर बाहिर गएर जगँहसाइ गर्ने, पार्टीको प्रतिष्ठा कमजोर पार्ने, विपक्षीको मनोबल उठाउने, विपक्षीलाई खुसी बनाउने यस प्रकारका क्रियाकलापहरू हुनु हुँदैन,’ ओलीले भने।
पार्टीभित्र देखिएको अराजकता नियन्त्रण गर्दै एमालेलाई अनुशासित र एकताबद्ध बनाएर अघि बढाउनुपर्ने अवस्था आएको उनको भनाइ छ। उनले महाधिवेशनबाट भएका निर्णयलाई अस्वीकार गर्दै कुनै एउटा घटनालाई आधार बनाएर अराजकता सिर्जना गर्नु उपयुक्त नहुने चेतावनीसमेत दिए।
ओलीले पार्टीलाई अनुशासित, गतिशील र चुनौतीको सामना गर्नसक्ने संगठनका रूपमा अघि बढाउने बताएका छन्।
यसैबीच, केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले निर्बाध रूपमा आफ्ना धारणा राख्न पाउने वातावरण बनाउन ओलीले स्वयंसेवकहरूलाई निर्देशन दिएका छन्।
बैठक उद्घाटनअघि स्वयंसेवकहरूलाई निर्देशन दिँदै उनले केन्द्रीय कमिटी सदस्यहरूको आवतजावत र विचार अभिव्यक्तिमा कुनै प्रकारको व्यवधान सिर्जना नगर्न आग्रह गरे।
‘बैठकमा कुनै प्रकारको डिस्टर्बेन्स नहुने गरी, एउटा डिस्टेन्समा बसेर केन्द्रीय कमिटीका सदस्यहरूलाई मोबिलिटी गर्न, विचार व्यक्त गर्न कुनै व्यवधान भोलेन्टियरबाट पुग्ने छैन। भोलेन्टियरहरूले अध्यक्षको निर्देशन पालना गर्नुपर्छ,’ ओलीले भने।
ओलीले वर्तमान केन्द्रीय कमिटी बैठकले ठूलो अभिभारा बोकेको पनि बताए। देश र पार्टीका कार्यकर्ताले बैठकबाट अपेक्षा गरेको भन्दै उनले ती अपेक्षाअनुसार बैठक सफलतापूर्वक सम्पन्न गर्ने विश्वास व्यक्त गरे।
‘अत्यन्तै ठूलो अभिभारा बोकेर प्रारम्भ भइरहेको बैठक, जोसँग देशले अपेक्षा गरेको छ, कार्यकर्ता पंक्तिले अपेक्षा गरेको छ। कार्यकर्ता पंक्तिको अपेक्षाअनुसार हामी बैठक सुसम्पन्न गरेर उठ्नेछौँ,’ ओलीले भने।
















प्रतिक्रिया