काठमाडौं । रसुवा बाढीबाट क्षतिग्रस्त गल्छी-स्याफ्रुबेँसी सडकखण्डमा असोज महिनाभित्र यातायात सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । सडक विभागका अनुसार हाल अधिकांश स्थानमा सडक मर्मतपछि यातायात सञ्चालन भइसकेको छ ।
सडक विभागका महानिर्देशक डा विजय जैसीले गल्छी-स्याफ्रुबेँसीसम्मको सडक दसैँसम्म यातायात सञ्चालन गर्नेगरी काम भइरहेको बताए। उनका अनुसार धादिङ-नुवाकोट जोड्ने कोल्पुखोलामा अस्थायी मर्मत सकिएर यातायात सञ्चालन भइसकेको छ । हाल उक्त स्थानमा स्थायी मर्मतका लागि ठेक्का प्रक्रिया सकाएर निर्माण व्यवसायीले काम सुरु गरिसकेका छन् ।
सोही सडकको रातोमाटेमा करिब २०० मिटर सडक बाढीले कटान गरेकामा ‘ब्याक कटिङ’ गरी यातायात सञ्चालनमा ल्याइसकिएको छ । साथै नुवाकोटको देवीघाटमा पनि नेपाली सेनाले बेलीब्रिज जडान गरिसकेकाले गल्छीदेखि विदुरसम्म यातायात सञ्चालन भइसकेको छ ।
विभागका अनुसार विदुरदेखि बेत्रावतीसम्म करिब १० किलोमिटरमध्ये नौ किलोमिटर सडकखण्ड खुलिसकेको छ भने करिब ३०० मिटर क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध छ । उक्त क्षेत्रमा नेपाली सेनाले ‘ब्लास्टिङ’ गरी दुवैतर्फबाट ट्रयाक खोल्ने काम सुरु गरिसकेको छ । उक्त स्थानमा केही दिनमा यातायात सञ्चालन हुने अपेक्षा गरिएको छ । त्यसपछि बेत्रावती र स्याफ्रुबेँसीमा बेलीब्रिज जडान बाँकी हुनेछ । उक्त दुई स्थानमा बेलीब्रिज जडान भएपछि गल्छी–स्याफ्रुबेँसीसम्म यातायात सञ्चालन हुनेछ ।
“रसुवाको बेत्रावेतीमा पुरानो पुल भएकै ठाउँमा बेलीब्रिज जडान गरिनेछ । यसका लागि पुरानो फाउण्डेसन भेटिएको छ, फाउण्डेसन मर्मत सकिएपछि बेलीब्रिज जडान गरिनेछ”, महानिर्देशक जैसीले भने, “यसका लागि पहिले बिदुर–बेत्रावतीमा सडक निर्माण हुुनुपर्नेछ ।” उक्त स्थानमा नेपाली सेनासँग भएको ७२ मिटर लामो बेलीब्रिज जडान गरिनेछ ।
बेत्रावतीपछि धुन्चेहुँदै स्याफ्रुबेँसीसम्म पनि सडकमा समस्या छैन । स्याफ्रुबेँसीमा भने एउटा बेलीब्रिज जडान गर्नुपर्नेछ । उक्त स्थानमा ७६ मिटरको बेलीब्रिज जडान गर्नेगरी डिजाइनको काम सुरु गरिएको छ । “स्याफ्रुबेँसीमा करिब ९० मिटरको पुल आवश्यक भए पनि उपलब्ध संरचनाअनुसार ७६ मिटरको बेलीब्रिज प्रयोग गर्ने तयारी गरिएको छ”, विभागले भनेको छ ।
स्याफ्रुबेँसीबाट रसुवागढीतर्फ करिब १५ किलोमिटर सडक बाढीका कारण पूर्ण रूपमा प्रभावित छ । उक्त स्थानमा सर्भेक्षण सुरु भइसकेको छ । बाढीले कटान गरेको मुग्लिन–गल्छी सडकखण्डमा पर्ने कृष्णभीरमा नयाँ ट्रयाक खोल्ने काम सकिएर दुईतर्फी रुपमा यातायात सञ्चालन भइसकेको छ ।
















प्रतिक्रिया