२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव, डुबान तथा सडक र हवाई यातायातमा अवरोध हुन सक्ने भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन्।

प्रधानमन्त्री शाहका अनुसार मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

पूर्वानुमानअनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने सम्भावना छ। त्यस्तै, कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि भारीदेखि धेरै भारी वर्षा हुन सक्ने जनाइएको छ।

मौसम प्रणालीको प्रभावका कारण गण्डकी प्रदेशको पोखरा आसपास, लुम्बिनीको पहाडी तथा तराई क्षेत्र, कोशीको ताप्लेजुङलगायत हिमाली भूभाग, बागमतीको पहाडी क्षेत्र, कर्णालीको जुम्ला आसपास तथा सुदूरपश्चिमका पहाडी क्षेत्रमा बाढी, पहिरो, डुबान र सडक अवरोधको जोखिमप्रति विशेष सतर्क रहन प्रधानमन्त्री शाहले आग्रह गरेका छन्।

उनले पानी परिरहेको समयमा तथा रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न पनि अनुरोध गरेका छन्। पहिरो तथा बाढीको जोखिम भएका क्षेत्र, नदी तथा खोलानजिकका बस्ती र क्षेत्रमा विशेष सावधानी अपनाउन उनले आग्रह गरेका छन्।

त्यस्तै, ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजना बनाएका व्यक्तिहरूलाई मौसममा सुधार नआएसम्म यात्रा स्थगित गर्न वा आफ्नो योजना पुनर्विचार गर्न प्रधानमन्त्री शाहले अनुरोध गरेका छन्।

मौसम विज्ञान विभाग तथा स्थानीय प्रशासनबाट जारी हुने सूचना नियमित रूपमा हेर्न र आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्न पनि उनले नागरिकलाई आग्रह गरेका छन्।

सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि सम्बन्धित सरकारी निकायलाई आवश्यक तयारी, प्रभावकारी समन्वय र पूर्वसतर्कता अपनाउन पनि प्रधानमन्त्री शाहले आग्रह गरेका छन्।

प्रधानमन्त्री शाहले यसअघि भोटेकोसी क्षेत्रमा आएको बाढीका समयमा सरकारको पूर्वसूचना तथा सामाजिक सञ्जालमार्फत जानकारी प्रवाहलाई लिएर आलोचना भएको पृष्ठभूमिमा यसपटक सम्भावित विपद्बारे पूर्वसतर्क गराएका हुन्।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  ४ : ३२ बजे

तिहारमा मिठाई र बत्तीको व्यापार

सुनसरी । तिहार सुरु भएसँगै चहलपहल निकै बढेको छ ।

सैनिक कल्याणकारी कोष : ४० हजार विद्यार्थीलाई छात्रवृत्ति, १० लाख हिताधिकारीलाई सुविधा

काठमाडौं । सैनिक कल्याणकारी कोषलाई बहालवाला तथा अवकाशप्राप्त सैनिक र

अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका(४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर र

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप-३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अन्ताल्यामा

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना

भोटेकोशी बाढीमा बेपत्ता भएका जुम्लाका ६३ जनाको यकीन सूची सार्वजनिक

जुम्ला । रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीमा