बुटवल । बुटवलमा असोज १६ देखि ३१ गतेसम्म रमाइलो बुटवल महोत्सव आयोजना हुने भएको छ । रेड रक इभेन्ट एन्ड म्यानेजमेन्टको आयोजनामा बुटवल उपमहानगरपालिका-११ देवीनगरस्थित रंगशालामा महोत्सव सञ्चालन हुने भएको हो ।
आयोजकले सोमबार बुटवलमा पत्रकार सम्मेलन गर्दै महोत्सवको तयारी तीव्र रूपमा अघि बढिरहेको जानकारी दिएको छ । स्थानीय व्यापार, कृषि उत्पादन, कला, संस्कृति तथा मनोरञ्जनलाई एउटै स्थलमा समेट्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
रेड रक इभेन्ट एन्ड म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत पाल्देन घलानका अनुसार महोत्सवमा विभिन्न प्रकृतिका २५० भन्दा बढी स्टल रहनेछन् । तीमध्ये करिब २०० स्टल बुकिङ भइसकेका छन् । महोत्सवमा कृषिजन्य वस्तु तथा स्थानीय उत्पादनको प्रदर्शनी र बिक्रीलाई विशेष प्राथमिकता दिइने उनले बताए ।
आयोजक संस्थाका अध्यक्ष विक्कल क्षेत्रीले बुटवलको व्यापारिक गतिविधिलाई चलायमान बनाउनु महोत्सवको प्रमुख उद्देश्य रहेको बताए । दर्शकलाई नयाँ अनुभव प्रदान गर्ने उद्देश्यले मनोरञ्जनका विभिन्न आकर्षणसमेत समावेश गरिएको उनले जानकारी दिए ।
महोत्सवको मुख्य आकर्षणका रूपमा बाल उद्यानतर्फ नेपालमै पहिलोपटक ‘जिरो ग्राभिटी राइड’ सञ्चालन गरिने आयोजकको दाबी छ । यस्तै, बुटवलमा पहिलोपटक आठवटा ‘बिग बेन’ टावर राखिने तथा हट एयर बेलुनसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको सांगीतिक प्रस्तुति, विभिन्न सांस्कृतिक कार्यक्रम, व्यापारिक स्टल, रेस्टुरेन्ट तथा मनोरञ्जनात्मक गतिविधि सञ्चालन हुनेछन् । कार्यक्रम संयोजक टेकबहादुर गुरुङका अनुसार बुटवल डान्स आइडल, मम्मी डान्स प्रतियोगिता, हिपहप डान्स प्रतियोगिता र टिकटक प्रतियोगितालगायत कार्यक्रमसमेत आयोजना गरिनेछन् ।
प्रतियोगिताका विजेता छनोट गर्दा एसएमएस वा दर्शकको भोटिङ प्रणाली प्रयोग नगरिने आयोजकले जनाएको छ । निर्णायक मण्डलको मूल्यांकनका आधारमा विजेता घोषणा गरिने संयोजक गुरुङले बताए ।
महोत्सव अवलोकनका लागि विद्यार्थीलाई परिचयपत्रका आधारमा ८० रुपैयाँ र सर्वसाधारणका लागि १०० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ । विशेष सांगीतिक कार्यक्रम तथा कन्सर्टका लागि भने ३०० रुपैयाँ प्रवेश शुल्क लाग्नेछ ।
आयोजकले महोत्सव अवधिभर एक लाखभन्दा बढी दर्शक सहभागी हुने तथा एक करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरेको छ । महोत्सवले स्थानीय व्यवसायको प्रवर्द्धन, व्यापारिक गतिविधि विस्तार तथा मनोरञ्जनको अवसर सिर्जना गर्ने आयोजकको अपेक्षा छ ।
यसैबीच, आयोजकले महोत्सवबाट हुने कुल नाफाको पाँच प्रतिशत रकम बाढीपीडितको सहयोगमा उपलब्ध गराउने घोषणा गरेको छ । अध्यक्ष क्षेत्रीले व्यापार र मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्वलाई समेत महोत्सवको महत्वपूर्ण पक्षका रूपमा अघि बढाइएको बताए ।
महोत्सवले बुटवलको आर्थिक गतिविधिलाई चलायमान बनाउनुका साथै स्थानीय उत्पादन तथा व्यवसायको प्रचारप्रसारमा सहयोग पुग्ने आयोजकको विश्वास छ ।
















प्रतिक्रिया