काठमाडौं । आज विश्व शिक्षक दिवस विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । हरेक वर्ष अक्टोबर ५ मा विश्व शिक्षक दिवस मनाउने गरिन्छ ।
शिक्षकहरूको स्थिति सम्बन्धी ऐतिहासिक सिफारिस सन् १९६६ अक्टोबर ५ मा युनेस्को र अन्तर्राष्ट्रिय श्रम संगठनको संयुक्त आयोजनामा पारित भएको थियो । यही ऐतिहासिक घटनाको स्मरण गर्दै युनेस्कोको आह्वानमा सन् १९९४ देखि हरेक वर्ष अक्टोबर ५ लाई विश्व शिक्षक दिवसका रूपमा मनाउन थालिएको हो ।
विश्व शिक्षक दिवसको मुख्य उद्देश्य समाज र राष्ट्र निर्माणमा शिक्षकहरूले पुर्याएको योगदानको कदर तथा सम्मान गर्नुका साथै शिक्षकका अधिकार, कार्यस्थलको सुरक्षा, सेवा–सुविधा र क्षमता अभिवृद्धिबारे विश्वव्यापी ध्यानाकर्षण गराउनु रहेको छ । त्यस्तै, गुणस्तरीय र समावेशी शिक्षा सुनिश्चित गर्न योग्य, सक्षम तथा उत्प्रेरित शिक्षकको आवश्यकता प्रवर्द्धन गर्नु पनि दिवसको उद्देश्य हो ।
विश्व शिक्षक दिवसका अवसरमा युनेस्को, विभिन्न देशका शिक्षा मन्त्रालय, शिक्षक संघ–संगठन तथा शिक्षण संस्थाहरूले विभिन्न कार्यक्रम आयोजना गर्ने गरेका छन् । यस अवसरमा शिक्षकको भूमिका, शिक्षा क्षेत्रमा देखिएका चुनौती र सुधारका विषयमा छलफल तथा अन्तरक्रिया गर्नुका साथै उत्कृष्ट शिक्षकलाई सम्मान गर्ने कार्यक्रमसमेत आयोजना गरिन्छ ।
















प्रतिक्रिया