२० आश्विन २०८३, मंगलबार | October 6, 2026

बेनी-जोमसोम-कोरला सडक : मर्मत जारी



म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला अन्र्तगत म्याग्दी खण्डको मर्मत धमाधम भइरहेको छ ।

पर्वतको कुश्मा नगरपालिका-१ पाङदेखि म्याग्दीको बेनी हँुदै चीनको सिमानामा रहेको कोरला नाका जोड्ने दुई सय दुई किलोमिटर दूरीको बेनी-जोमसोम-कोरला सडक असोज दोस्रो साताको बर्सातपछिको बाढीपहिरोले ५० भन्दा बढी ठाउँमा अवरुद्ध बनेको थियो । दश ठाउँमा कालीगण्डकीले सडक कटान गरेर बगाएको र भत्काएको छ ।

बेनी-जोमसोम-कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले आगामी सोमबारसम्म सवारीसाधन सञ्चालन गर्न सकिने गरी म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ कुनौटादेखि अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर खण्डको करिब १२ किलोमिटर दूरीमा धमाधम मर्मत कार्य भइरहेको जानकारी दिए ।

“वर्षा रोकिनेबित्तिकै असोज १२ गतेदेखिनै कोरला नाकातर्फबाट म्याग्दीको भुरुङ्ग-तातोपानीसम्म दुई दिनमै मर्मत गरेका थियौँ”, उनले भने, “मालढुङ्गातर्फबाट बेनी बैसरी हँुदै कुनौटासम्म करिब २५ किलोमिटर सडक सोमबार साँझसम्म मर्मत सकिएको छ ।”

कुनौटामा कालीगण्डकी नदीको बाढीले करिब दुई सय ५० मिटर सडक कटान गरेको छ । सडक कटानपछि पैदल आवतजावतसमेत कठिन बनेको कुनौटो क्षेत्र मर्मत कार्यका लागि चुनौतीपूर्ण मानिएको छ । सुरुआती चरणमा रघुगङ्गा गाउँपालिका-३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह परिसरमा कटान गरेको सडकको विकल्पमा नयाँ मार्ग बनाउन र इन्धन अभावको चुनौती थियो ।

राहुघाटको विद्युत्गृह अगाडि सडक मार्ग खुलाउने काम सकिएको, नेपाली सेना, स्वयंसेवक र ड्रोनको सहायताले ढुवानी तथा सापटी मागेर इन्धन व्यवस्थापन गरिएकाले कुनै समस्या नरहेको आयोजनाले जनाएको छ ।

“कुनौटाभन्दा माथि सडक मर्मतका लागि आवश्यक इन्धन मानिसले बोकेर लैजान सम्भव नभएपछि सोमबार नेपाली सेनाको टोली र ड्रोनको सहायतामा पहिरो तारेका छौँ”, आयोजना प्रमुख शर्माले भने, “छ पटकको उडानबाट चार सय लिटर डिजेल कटान क्षेत्र पार गराइएपछि कुनौटाभन्दा माथि पनि सडक मर्मतमा सहज भएको छ ।”

अन्नपूर्णको पोखरेबगर, रातोपानीमा सडकको नयाँ ट्रयाक खोलेर महभिर र भिरकाटे खण्डमा पनि काम भइरहेको छ । अन्नपूर्ण गाउँपालिका–६ रातोपानीमा दुई ठाउँमा गरेर करिब दुई सय पचास मिटर सडक कटान गरेको स्थानमा नयाँ ट्रयाक खोलिएको छ । पोखरेबगरको कालीगण्डकी पुलको पहुँचमार्ग निर्माणमा मजदुर परिचालन भएका छन् ।

सडक विभाग र निर्माण व्यवसायीका १५ वटा स्काभेटर, १२ वटा टिपर र १५ वटा लोडरसहित जनशक्ति परिचालन गरेर सडक निर्माणको कामलाई तीव्रता दिइएको सङ्घीय सडक सुपरीवेक्षण आयोजना पोखराका प्रमुख नरेन्द्र सुवेदीले बताए ।

“सडक विभाग र निर्माण कम्पनीले अवरुद्ध सडक खुलाउन सबै ठाउँमा समानान्तर रूपमा काम गरिरहेका छन्,” उनले भने, “यसै साताभित्र सडक मर्मत सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको छ ।” रसुवा र तातोपानी नाका बन्द रहेकाले चीनसँगको व्यापारका लागि कोरला नाका महत्वपूर्ण बनेको उनले बताए । कोरला नाका जोड्ने सडकलाई छिटो सञ्चालनमा ल्याउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको उनको भनाइ छ ।

मुस्ताङको स्याउ बजार पठाउने समय पनि सुरु भएको छ । दसैँ-तिहारका लागि भेडाच्याङ्ग्रा बजार झार्ने समय नजिकिएको छ । पर्यटकीय यामसमेत सुरु भएकाले बेनी-जोमसोम सडक छिटो सञ्चालनमा ल्याउन दबाब बढेको छ ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ६ : ४० बजे

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ । बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको

कांग्रेस १५ औँ महाधिवेशन : आजदेखि उम्मेदवारी मनोनयन, असोज २२ मा मतदान

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि

बेनी-जोमसोम-कोरला सडक : मर्मत जारी

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको

लुम्बिनीसहित देशका धेरै ठाउँमा वर्षाको सम्भावना

काठमाडौं । हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभाग तथा

अमलेखगन्ज-लोथर पेट्रोलियम पाइपलाइन : ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा

चितवन । राष्ट्रिय प्राथमिकता प्राप्त अमलेखगन्ज-लोथर पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत चितवनको