काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका-६ मा आकस्मिक बाढी आएको छ । बाढीका कारण तल्लो तटीय क्षेत्रमा पर्ने सल्लेरी र जगत बजार जोखिममा परेका छन् ।
गोरखाका प्रमुख जिल्ला अधिकारी धरेन्द्रकुमार मिश्रका अनुसार आज बिहान ४ बजेर ३५ मिनेटमा ठूलो बाढी आएको खबर प्राप्त भएको थियो । उनका अनुसार हालसम्म बाढीबाट मानवीय क्षति भएको जानकारी प्राप्त भएको छैन ।
बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न नेपाली सेनाको हेलिकप्टर परिचालन गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए ।
चुमनुब्री गाउँपालिका-६ स्थित चुम्केको खोलामा पहिरो खसेर पानी थुनिएको र त्यसपछि बाढी आएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए ।
बाढीले तल्लो तटीय क्षेत्रका बस्ती जोखिममा परेपछि स्थानीयवासी त्रसित भएका छन् । जोखिमका कारण केही स्थानीय विस्थापित भएको बताइएको छ ।
यसैबीच, बाढी पूर्वानुमान महाशाखाले आकस्मिक बाढी आएको भन्दै सतर्कता अपनाउन आग्रहसहित एसएमएस पठाएको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सावधानी अपनाउन आग्रह गरिएको छ ।















प्रतिक्रिया