२५ आश्विन २०८३, आइतबार | October 11, 2026

नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड



कञ्चनपुर । दसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका नेपालीहरू घर फर्किन थालेपछि गड्डाचौकी नाकामा चहलपहल बढेको छ ।

भारतका विभिन्न स्थानमा रोजगारी गर्दै आएका नेपालीहरू चाडपर्व परिवारसँग मनाउन स्वदेश फर्किन थालेका हुन् । छिमेकी मुलुक भारतका उत्तराखण्ड, हिमाचल प्रदेश, दिल्ली, पञ्जाबलगायत क्षेत्रमा काम गर्न गएका नेपालीहरू दसैँ मनाउन घर फर्किने गरेका छन् ।

देहरादुन रोजगारी गर्दै आएका अछामको ढकारीका खगेन्द्र बुढा पनि आफ्ना पाँच जना साथीसँगै चाडपर्व मनाउन घर फर्किँदै गर्दा गड्डाचौकी नाकामा भेटिए । “देहरादुनमा हामीहरू रोडमा काम गर्छौ दसैँ मनाउन घर फर्किएका हौँ”, उनले भने, “दसैँतिहार मनाएर फेरि रोजगारीका लागि उतै जानुपर्छ ।” नेपालमा रोजगारी नहुँदा यहाँबाट थुप्रै मानिस मजदुरीका लागि भारतका विभिन्न सहरमा पुग्ने गरेको उनको भनाइ थियो ।

कालीकोटका निगेन्द्र शाहीले पनि हिमाञ्चल प्रदेशबाट चाडपर्व मनाउन घर फर्किएको बताउनुभयो । “हिमाञ्चलमा खेतीपातीको काम गर्छौँ, त्यसको कमाइले घरखर्च चलेको छ”, उनले भने, “दसैँ मनाउन आउँछौ तिहारपछि फर्किने हो ।” उनले आफूसँगै रोजगारीका लागि गएकाहरू पनि चाडपर्व मनाउन दसैँको बेला घर फर्किने र चाडपर्वपछि रोजगारीका लागि पुनः भारत जाने गरेको बताए ।

मसुरियाका मीनबहादुर कठायत पनि भारतको दिल्लीमा सुरक्षा गार्डको काम गर्नुहुन्छ । गत वर्ष चाडपर्व सकेर रोजगारीमा गएका उहाँ पनि दसैँ सुरु भएपछि घर फर्किएका छन् । “सधैँ दसैँमा यही नाका भएर घर फर्किन्छौँ, आवतजावतमा समस्या छैन”, उनले भने, “चाडपर्वपछि काममा फर्किन्छु ।”

चाडपर्वको समयमा घर फर्किने यात्रुको चाप बढेपछि यात्रुको सहजता र सुरक्षालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जिल्लाका विभिन्न स्थानमा नागरिक सहायताकक्षसमेत स्थापना गरेको छ ।

प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले गड्डाचौकीनाका भएर स्वदेश फर्किने नेपालीको चाप बढेको बताए । उनले चाडपर्वका बेला यात्रुको सुरक्षाका लागि नाकामा निगरानी बढाएको बताए ।

“गड्डाचौकीनाका र महेन्द्रनगर बसपार्क गरी जिल्लाका आठ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेका छौँ”, उनले भने, “नाका र बसपार्कमा तालिमप्राप्त कुकुर परिचालन गरेर पनि सुरक्षा जाँच भइरहेको छ ।” चाडपर्वका बेला हुने आपराधिक क्रियाकलाप न्यूनीकरणका लागि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।

भारतबाट आउनेहरूमा विभिन्न रोग सङ्क्रमणको जोखिम रहेकाले नाकामै स्वास्थ्य जाँचको समेत व्यवस्था मिलाएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । भारतबाट फर्किनेहरू नाकामा डेङ्गु, मलेरिया, एचआइभीलगायतका छ प्रकारका रोगको चाँज भइरहेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  ७ : ०० बजे

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

गोरखा । चुमनुब्री गाउँपालिका-६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी

नवरात्रको पहिलो दिन आज शैलपुत्रीको पूजा गरिँदै

काठमाडौं । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा

नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

कञ्चनपुर । दसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा

गोरखाको चुमनुब्रीमा आकस्मिक बाढी, सल्लेरी र जगत बजार जोखिममा

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका-६ मा आकस्मिक बाढी आएको छ