२६ आश्विन २०८३, सोमबार | October 12, 2026

रूपन्देही उद्योग संघको ४८ औँ वार्षिक साधारणसभा, उद्योगीका समस्या समाधान गर्न तीनै तहका सरकारसँग आग्रह



बुटवल । रूपन्देहीका उद्योगीहरूले उद्योग व्यवसाय सञ्चालनका क्रममा भोग्नुपरेका नीतिगत समस्या, करको भार, जग्गाको अभाव, बैंकबाट ऋण लिन कठिनाइ तथा औद्योगिक क्षेत्र व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न तीनै तहका सरकारसँग आग्रह गरेका छन । रूपन्देही उद्योग संघको सोमबार बुटवलमा सम्पन्न ४८ औँ साधारणसभामा सहभागी उद्योगीहरूले उद्योगमैत्री वातावरण निर्माण, लगानीको सुरक्षा र निजी क्षेत्रको मनोबल बढाउने नीति आवश्यक रहेको बताएका हुन ।

कार्यक्रममा अध्यक्ष कृष्णप्रसाद पराजुलीले संघको धारणा प्रस्तुत गर्दै उद्योगीहरूले विभिन्न शीर्षकमा धेरै स्थानमा कर तिर्नुपरेको, उद्योग विस्तारका लागि पर्याप्त जग्गा उपलब्ध नभएको तथा नीतिगत जटिलताका कारण व्यवसाय सञ्चालनमा कठिनाइ भएको गुनासो गरेका थिए । उनले स्वदेशी उद्योगीलाई टिकाउने नीति बनाउन तीनै तहका सरकारको ध्यानाकर्षण गराएका थिए ।

साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटनमन्त्री तुलसी चौधरीले उद्योगीका समस्या तीनै तहका सरकारसँग जोडिएको बताए । उनले रूपन्देही औद्योगिक क्षेत्रको केन्द्र तथा अर्थतन्त्रको जग भएको उल्लेख गर्दै उद्योग बलियो नभएसम्म सम्बन्धित क्षेत्रको विकास सम्भव नहुने धारणा राखे । उनले केही नीतिगत समस्याका कारण उद्योगीहरूले कठिनाइ भोग्नुपरेको बताउँदै बैंकको ब्याजदर घटे पनि उद्योगीहरूले सहज रूपमा ऋण प्राप्त गर्न नसकेको उल्लेख गरे । सफल उद्योगीहरूमाथि भएका गलत व्यवहारले निजी क्षेत्रको मनोबल कमजोर बनाउँदै लगेको उनको भनाइ थियो ।

देखासिकी गरेर उद्योग व्यवसाय खोल्ने प्रवृत्तिले मात्रै उद्योगको स्थायित्व सुनिश्चित हुँदैन । उद्योगीहरूले नयाँ प्रविधिको प्रयोगमा जोड दिनुपर्छ, मन्त्री चौधरीले भने । उद्योग स्थापना भएका स्थानमा पछि बस्ती विस्तार हुँदा उद्योग र स्थानीय समुदायबीच विभिन्न समस्या उत्पन्न हुने गरेको उनले बताए । उद्योगबाट हुने प्रदूषण नियन्त्रणका लागि आधुनिक प्रविधि प्रयोग गर्नुपर्ने र स्थानीय समुदायले पनि औद्योगिक गतिविधि तथा त्यसको व्यवस्थापनबारे बुझ्नुपर्ने उनको भनाइ थियो । मन्त्री चौधरीले औद्योगिक क्षेत्रको व्यवस्थापन प्रभावकारी हुन नसकेको स्वीकार गर्दै प्रदेश सरकारले काम गर्न खोजे पनि संघीय सरकारबाट आवश्यक सहयोग र अधिकार प्राप्त हुन नसकेको बताए ।

रूपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुलभ खरेलले मुलुकमा अपेक्षित आर्थिक प्रजातन्त्र स्थापित हुन नसकेको बताए । उनले अन्तर्राष्ट्रिय राजनीतिक समस्याका कारण मूल्यवृद्धि बढेको र बजारमा अस्थिरता देखिएको उल्लेख गरे । सरकारले चाहेजस्तो सेवा दिन नसकेको स्वीकार गर्दै वहाँले विगतमा देखिएका धेरै समस्या समाधानको प्रक्रियामा रहेको बताए । निजी क्षेत्रका प्रतिनिधिलाई सिधै पक्राउ नगर्ने प्रतिबद्धता प्रधानमन्त्रीबाट आएको उल्लेख गर्दै उनले सरकार र निजी क्षेत्रबीच सहकार्य तथा लगानीको वातावरण निर्माण आवश्यक रहेको धारणा राखे । सरकारका कमजोरी स्वीकार गरेर सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड दिँदै सांसद खरेलले निजी क्षेत्रको विश्वास जित्न सके मात्रै लगानी र आर्थिक गतिविधि विस्तार हुने बताए ।

कार्यक्रमका विशिष्ट अतिथि बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्यालले स्थानीय तहले गर्न खोजेका काममा विभिन्न अवरोध रहेको बताइन । उनले वन स्रोतको उपयोग गर्न नपाइएको तथा बधशाला सञ्चालनसम्बन्धी विषय अदालतमा पुगेपछि संरचना प्रयोगविहीन भएर खण्डहर बन्न पुगेको उल्लेख गरिन । स्थानीय सरकारले गरेका सकारात्मक कामको प्रचारप्रसार गर्न र कमजोरी देखिए त्यसलाई सुधार गर्न सहयोग गर्न उनले उद्योगी तथा सरोकारवालालाई आग्रह गरिन । स्थानीय सरकारका कामको आलोचना मात्र नभई सुधारका लागि रचनात्मक सुझाव दिनुपर्ने उनको भनाइ थियो ।

साधारणसभामा उद्योगीहरूले उद्योग व्यवसायको विकासका लागि सरकारका नीति व्यवहारमै उद्योगमैत्री हुनुपर्ने धारणा राखेका थिए । उद्योग स्थापना तथा सञ्चालनका क्रममा करसम्बन्धी जटिलता, जग्गाको अभाव, नीतिगत अन्योल र प्रशासनिक समस्याले लगानी प्रभावित भएको वहाँहरूको भनाइ थियो । कार्यक्रममा उद्योगी मेघराज भण्डारी, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेल, रूपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकाल, बेलहिया भन्सार कार्यालयका प्रमुख हरिहर पौडेल, संघका अध्यक्ष परिषद्का संयोजक तेजकुमार पाठक, संघका पूर्वअध्यक्ष तथा लुम्बिनी उद्योग परिसंघका लुम्बिनी अध्यक्ष एजाज आलम, राष्ट्रिय स्वतन्त्र पार्टी रुपन्देहीका अध्यक्ष महेन्द्र उपाध्याय, नेकपा एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरे र श्रम संस्कृति पार्टीका अध्यक्ष छविलाल गुरुङलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव सुमन बस्यालले गरेका थिए । वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्लेले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा प्रथम उपाध्यक्ष हरिबहादुर खत्रीले धन्यवाद ज्ञापन गरेका थिए । साधारणसभाले कोषाध्यक्ष विशाल बेल्वासेले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र महासचिव सुमन बस्यालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गरेको छ । कार्यक्रममा संघको आजीवन सदस्यता प्राप्त गर्ने तथा साधारणसभा सम्पन्न गर्न सहयोग पु¥याउने उद्योगीहरूलाई सम्मानसमेत गरिएको थियो ।

साधारणसभामा सहभागी उद्योगीहरूले औद्योगिक विकासका लागि सरकार, निजी क्षेत्र र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको औँल्याएका थिए । उद्योगीका समस्या समाधान गर्न नीतिगत सुधार, कर प्रणालीमा सहजता, औद्योगिक क्षेत्रको व्यवस्थित विकास र उद्योग विस्तारका लागि आवश्यक जग्गाको व्यवस्था गर्नुपर्नेमा उनीहरूले जोड दिएका थिए ।

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार  ७ : १९ बजे

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ । टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही-लमही

कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड

पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट टाढिएका नेता

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया । यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको

रूपन्देही उद्योग संघको ४८ औँ वार्षिक साधारणसभा, उद्योगीका समस्या समाधान गर्न तीनै तहका सरकारसँग आग्रह

बुटवल । रूपन्देहीका उद्योगीहरूले उद्योग व्यवसाय सञ्चालनका क्रममा भोग्नुपरेका नीतिगत