बेइजिङ । अमेरिकी इतिहासका सेवानिवृत्त शिक्षक रोनाल्ड साकोल्स्की र चिनियाँ मरुभूमिकरण नियन्त्रण विशेषज्ञ यिन युजेनबीचको मित्रताले चीनको मरुभूमिलाई हरियालीमा बदल्न सहयोग गरेको छ । सत्ताइस वर्षअघि साकोल्स्कीले दिएको आर्थिक सहयोगबाट रोपिएका ५० हजारभन्दा बढी बिरुवा अहिले जङ्गलमा परिणत भएका छन् । उनीहरूको मित्रताले वातावरण संरक्षणमा राष्ट्रिय सीमाभन्दा माथि उठेर सहकार्य गर्न सकिने उदाहरण प्रस्तुत गरेको छ ।
“हामी एउटै भाषा बोल्दैनौँ, हाम्रो रूप पनि उस्तै छैन, तर हामी दाजुभाइ तथा दिदीबहिनीजस्तै छौँ र एकअर्कालाई बुझ्छौँ”, साकोल्स्कीले यिनसँगको सम्बन्धबारे भने । आफ्नो मित्रतामार्फत थप मानिसलाई साझा पृथ्वीको संरक्षणका लागि सीमापार सहकार्य गर्न प्रेरित गर्ने उनको आशा छ ।
सन् १९९९ तिर चीनमा शिक्षण आदानप्रदान कार्यक्रममा सहभागी भएका बेला साकोल्स्कीले उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रस्थित माओउसु मरुभूमिमा यिनले सञ्चालन गरेको वृक्षरोपण अभियानलाई सहयोग गर्न पाँच हजार अमेरिकी डलर जुटाएका थिए । त्यसपछि दुवैबीच केही समय सम्पर्क टुटे पनि पहिलो भेटको दुई दशकभन्दा बढी समयपछि यसै वर्षको अगस्टमा चीनमा पुनर्मिलन भएको थियो ।
यस वर्ष अगस्टमा पुरानो वृक्षरोपण क्षेत्र पुग्दा आफूले देखेको परिवर्तनले भावुक बनाएको साकोल्स्कीले बताए। सन् २००० मा आफू त्यहाँ पुग्दा जताततै बालुवा मात्र देखेको स्मरण गर्दै उनले अहिले त्यही ठाउँ हरियालीले भरिएको बताए ।
“यस वर्ष फर्किंदा आमा–बुबाले आफ्ना सन्तानलाई भेटेजस्तो अनुभव भयो । हामीले रोप्न सहयोग गरेका बिरुवा ठूला रूख बनेका थिए । म धेरै रोएँ”, उनले भने । यिनले भनेझैँ ती रूखहरूले आफ्ना सन्तानले जङ्गलबाट स्वागत गरेजस्तो लागेको उनको भनाइ थियो ।
साकोल्स्की र यिन हालै इटालीको रोममा संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले आयोजना गरेको विश्व खाद्य मञ्चमा पुनः भेटेका थिए। कार्यक्रममा दुवैलाई आमन्त्रण गरिएको थियो ।
जङ्गलमा हेडफोन लगाएर जमिनमा माइक्रोफोन राखी प्रकृतिको आवाज सुनेको अनुभव सुनाउँदै साकोल्स्कीले पृथ्वी जीवित रहेको अनुभूति आफूले गरेको बताए। मानवजातिले पृथ्वीको संरक्षण गर्न नसके यसले फलफूल, तरकारी, फूल र सास फेर्न आवश्यक अक्सिजन उपलब्ध गराउन नसक्ने उनको भनाइ छ ।
साकोल्स्कीले मरुभूमिकरण नियन्त्रणमा चीन सरकारले दिएको प्राथमिकताको प्रशंसा गर्दै वातावरण संरक्षणमा सक्रिय चिनियाँ नागरिकको योगदानको पनि सराहना गरे । उनका अनुसार यस्तो सहकार्य साझा भविष्य निर्माण गर्ने मानव समुदायको ठोस उदाहरण हो ।
दुई दशकअघि आफूले गरेको आर्थिक सहयोगलाई साकोल्स्कीले सामान्य मानवीय सद्भावको कार्यका रूपमा लिएका छन् । “म चीनलाई सहयोग गर्न चाहन्थेँ । त्यसबापत केही पाउने अपेक्षा गरेको थिइनँ”, उनले भने । यिनले दशकौँदेखि निरन्तर गरेको काम भने प्रशंसायोग्य रहेको उनको धारणा छ ।
बिहीबार साकोल्स्की दर्शकदीर्घामा उपस्थित रहे, जहाँ यिनलाई एफएओको ‘कृषि–खाद्य प्रणाली तथा ग्रामीण विकासका १०० महिला नायक’ सूचीमा समावेश गरिएको सम्मान प्रदान गरियो । यो सम्मान यिनको जीवनको अर्को महत्त्वपूर्ण उपलब्धि बनेको छ ।
उनीहरूको सहकार्यबाट रोपिएका बिरुवा हरियो जङ्गलमा परिणत भएका छन् । यससँगै दुई व्यक्तिबीचको मित्रताले मरुभूमि पुनःस्थापना र वातावरण संरक्षणको सन्देश पनि फैलाएको छ । उनीहरूको अनुभवले थप मानिसलाई भूमि पुनःस्थापना तथा प्रकृति संरक्षणमा सहभागी हुन प्रेरित गर्ने अपेक्षा गरिएको छ ।


















प्रतिक्रिया