काठमाडौं । दक्षिण अफ्रिकाका क्रिकेटर डेविड मिलर नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणका लागि कर्णाली याक्समा आबद्ध भएका छन् । कर्णालीले आज उनलाई टोलीमा भित्र्याएको औपचारिक जानकारी दिएको हो ।
मिलरले सन् २०१० मा दक्षिण अफ्रिकाका लागि अन्तरराष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए । उनले एकदिवसीय र टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गर्दै आएका छन् । अन्तरराष्ट्रिय टी–२० क्रिकेटमा उनले दुई हजार ८०४ रन बनाएका छन् । यस प्रारूपमा उनको ब्याटिङ औसत ३३.७८ र स्ट्राइक रेट १४१.४० रहेको छ ।
मिलरले सन् २०१७ मा बङ्गलादेशविरुद्ध ३५ बलमै शतक प्रहार गरेका थिए । इण्डियन प्रिमियर लिग ९आइपिएल० मा गुजरात टाइटन्स, राजस्थान रोयल्स, पञ्जाब किङ्स र दिल्ली क्यापिटल्सलगायतका टोलीबाट खेलिसकेका मिलरले विश्वका अन्य टी–२० लिगको अनुभव पनि बटुलिसकेका छन् ।
सन् २०२४ को पुरुष टी–२० विश्वकपको फाइनलसम्म पुगेको दक्षिण अफ्रिकी टोलीका सदस्यसमेत रहेका उनले महत्त्वपूर्ण खेलमा आफ्नो अनुभव र क्षमता प्रदर्शन गरेका थिए । मिलरले हालसम्म १८० एकदिवसीय र १४० टी–२० अन्तरराष्ट्रिय खेले खेलेका छन् । उनले विभिन्न १३ वटा व्यावसायिक लिग खेलिसकेका छन् ।
कर्णाली याक्सले यस शृंखलाका लागि पाकिस्तानका टी–२० टोलीका कप्तान साहिबजादा फरहान, पाकिस्तानी अलराउन्डर हुसेन तलत तथा बङ्गलादेशका अकबर अली र अरिफुल इस्लामलाई पनि अनुबन्ध गरिसकेको छ ।
एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि आयोजना हुँदैछ ।


















प्रतिक्रिया