काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत मंगलबार दुई खेल हुँदैछन् । प्रतियोगिताको दोस्रो दिन बिहान चितवन राइनोज र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुनेछ भने साँझ जनकपुर बोल्ट्स र कर्णाली याक्स आमनेसामने हुनेछन् ।
सोमबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिन एक खेल मात्र भएको थियो । उक्त खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो । मंगलबार भने चार टोली मैदानमा उत्रिँदै छन् ।
बिहान हुने खेलमा सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर किङ्ग्सले कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछ । दुवै टोलीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटमा अनुभव हासिल गरेका खेलाडी रहेकाले खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।
विराटनगरको टोलीमा लोकेश बम, बसिर अहमद, प्रतिश जीसी, सुवास भण्डारी, नारायण जोशी, रुपेश सिंह, नरेन साउद र सुजन थपलियालगायतका खेलाडी छन् । त्यस्तै, इमरान शेख, प्रतिक श्रेष्ठ, आन्द्रे रसेल, एन्जेलो म्याथ्युज, शुभम रन्जाने र चरिथ असलंका पनि विराटनगरको टोलीमा समावेश छन् ।
यता, कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोजमा देव खनाल, अर्जुन साउद, रिजन ढकाल, कमल सिंह ऐरी, रञ्जित कुमार, दीपक बोहरा र रवि बोपारालगायतका खेलाडी छन् । चितवनले सिकन्दर राजा, कलिम साना, विवेक यादव, मौसम ढकाल, विपिन रावल, हसन अली, गौतम केसी, सलाहुद्दिन खान र उसामा मीरजस्ता खेलाडीको साथ पाएको छ ।
मंगलबार साँझ हुने दोस्रो खेलमा हर्मित सिंहको कप्तानीमा रहेको जनकपुर बोल्ट्सले सोमपाल कामीको नेतृत्वमा रहेको कर्णाली याक्सको सामना गर्नेछ । दुवै टोली जित निकाल्दै प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यसहित मैदानमा उत्रिनेछन् ।
जनकपुरको टोलीमा कुशल परेरा, ललित राजवंशी, मयन यादव, अनिल साह, विकास आग्री, आदित्य मेहता र तृतराज दास छन् । त्यस्तै, अभिषेक तिवारी, विशाल पटेल, विशाल सुशलिङ, अमरसिंह रौतेला, रित गौतम, सन्तोष कार्की, जिमी नीशम, मोइन अली र इफ्तिकार अहमद पनि जनकपुरको टोलीमा रहेका छन् ।
सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्समा डेभिड मिलर, नन्दन यादव, युवराज खत्री र पवन सर्राफलगायतका खेलाडी छन् । त्यस्तै, विपिनप्रसाद शर्मा, दीपक डुम्रे, युनिश सिंह ठकुरी, शुभ कंसाकार, दीपेन्द्र रावत, सूर्य तामाङ, सचिन शर्मा र दिवान पुन पनि कर्णालीको टोलीमा समावेश छन् ।
एनपीएलको समूह चरणका खेल कात्तिक २९ गतेसम्म सञ्चालन हुनेछन् । समूह चरणपछि मङ्सिर १ गते पहिलो र दोस्रो स्थानमा रहने टोलीबीच पहिलो क्वालिफायर खेल हुनेछ । मङ्सिर २ गते तेस्रो र चौथो स्थानमा रहने टोलीबीच इलिमिनेटर खेल हुनेछ ।
त्यसैगरी, मङ्सिर ३ गते पहिलो क्वालिफायरमा पराजित टोली र इलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर खेल हुनेछ । प्रतियोगिताको फाइनल खेल मङ्सिर ५ गतेका लागि तय गरिएको छ ।

















प्रतिक्रिया