१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या



म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ । गत असोज दोस्रो साता आएको बाढीपहिरोका कारण खानेपानी आपूर्ति गर्ने पाइपलाइनमा क्षति पुगेपछि बजारमा पानीको आपूर्ति घटेको हो ।

बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष रमेश गिरीका अनुसार बेनी बजारमा प्रतिसेकेन्ड २० लिटरभन्दा बढी पानी आवश्यक पर्ने भए पनि हाल प्रतिसेकेन्ड आठ लिटरका दरले मात्र पानी आपूर्ति भइरहेको छ । संस्थामार्फत बेनी नगरपालिकाका वडा नं २, ७ र ८ का एक हजार २०० घरधुरीमा बसोबास गर्ने करिब २५ हजार जनसंख्यालाई खानेपानी वितरण हुँदै आएको छ ।

बाढीपहिरोका कारण अन्नपूर्ण गाउँपालिका-८ मा पर्ने डाँडाखर्क र रिठाखर्कका मुहानबाट बेनीमा पानी ल्याउने १४ किलोमिटर लामो पाइपलाइन क्षतिग्रस्त भएको छ । बेनीस्थित खोरिया र खरेनीको पाखोमा पहिरो जान थालेपछि पाइपलाइनको मार्ग परिवर्तन गरी डल्लेपिपल-कालीपुल-बेनी चक्रपथ-दरवाङ बसपार्क क्षेत्रमा करिब तीन किलोमिटर नयाँ पाइपलाइन विस्तार गर्न थालिएको छ ।

“कोप्रेको मुहानबाट प्रतिसेकेन्ड तीन लिटर, वैकल्पिक अम्रेनी मुहानबाट तीन दशमलव चार लिटर र राहुपारेबाट चार लिटर पानी ल्याएर आलोपालो प्रणालीमा वितरण गरिरहेका छौँ । तर, सुक्खायाम सुरु भएसँगै वैकल्पिक मुहान सुक्न थालेकाले रिठाखर्क र डाँडाखर्ककै मुहानबाट पानी आपूर्ति गराउने तयारीमा जुटेका छौँ,” अध्यक्ष गिरीले भने, “राहुपारेसम्म पानी सञ्चालन भइरहेको पाइपलाइनको राहुपारे–गलेश्वर खण्ड पुनर्निर्माण गर्ने र बेनी बजार क्षेत्रमा नयाँ पाइपलाइन विस्तार गर्ने काम भइरहेको छ ।”

प्रतिसेकेन्ड २२ देखि २५ लिटरसम्म पानी आपूर्ति हुने डाँडाखर्क र रिठाखर्कका मुहानबाट पानी ल्याउने पाइपलाइन एक महिनादेखि बन्द छ । मागअनुसार पानी आपूर्ति हुन नसकेपछि बेनीको रेडक्रस मार्गका बासिन्दाले निजी मुहानबाट पानी ल्याएर उपभोग गर्न थालेका छन् ।

स्थानीयवासी दिनेश जिसीले आलोपालो प्रणालीबाट वितरण गरिएको पानीले नपुगेपछि निजी मुहानबाट पानी ल्याउनुपरेको बताए । खानेपानीको अभावले बजारवासीका साथै विद्यार्थी, पेसाकर्मी र व्यवसायीसमेत प्रभावित भएका छन् । यसअघि बेनी नगरपालिका, म्याग्दी उद्योग वाणिज्य सङ्घ, बौद्ध युवा क्लबलगायतका सङ्घसंस्थाले ट्याङ्कर र ड्रममा पानी बोकेर बजारमा वितरण गरेका थिए । अन्य विकल्प तत्काल उपलब्ध नभएकाले बेनी-जोमसोम सडकको किनारैकिनार अस्थायी पाइपलाइन विस्तार गरी तिहारअघि राहुपारेबाट बेनीमा पानी ल्याउने तयारी गरिएको अध्यक्ष गिरीले बताए । अल्पकालीन विकल्पका रूपमा रिठाखर्क मुहानको पानी आपूर्ति गर्ने तथा मङ्गलाघाटस्थित म्याग्दी नदी किनारमा लिफ्ट प्रविधिबाट पानी तानेर वितरण गर्ने वैकल्पिक स्रोत सञ्चालनका लागि पनि पहल भइरहेको उनले जानकारी दिए ।

अध्यक्ष गिरीका अनुसार बेनीमा खानेपानी आपूर्ति सहज बनाउन तत्कालीन योजनाका लागि रु १४ करोड ७० लाख र दीर्घकालीन योजनाका लागि रु ७० करोड आवश्यक पर्ने लागत अनुमान तयार पारिएको छ ।

गत साता बेनी आएका नेपाल सरकारका पूर्वाधारमन्त्री सुनिल लम्सालसमक्ष संस्थाका पदाधिकारीले खानेपानी आयोजना पुनर्निर्माण तथा सुधारका लागि बजेट व्यवस्था गर्न प्रस्ताव पेस गरेका थिए । मन्त्री लम्सालले तत्काल बजेट व्यवस्था गरी ठेक्कामार्फत बेनी खानेपानी योजनाको पुनर्निर्माण गरिने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलबार  ७ : ३३ बजे

दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक

लमजुङ । यस वर्षको दसैँ अवधिमा चक्रीय अन्नपूर्ण चक्रीय पदमार्गमा

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय

धादिङ । कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

ह्यारी केनलाई बालोन डी’ओर, २५ वर्षपछि इंग्ल्यान्डका खेलाडीलाई उपाधि

काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा । पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री । फूलको

दसैँ बिदामा १५ हजार बढी पर्यटकद्वारा सहिद स्मारक अवलोकन

बागमती । बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारकको यस वर्षको