१२ असार २०८३, शुक्रबार | June 26, 2026

बेनी–अर्थुङ्गे–तोरीपानी–पाखापानी सडक सम्पन्न



म्याग्दी । चालु आर्थिक वर्षमा बेनी नगरपालिकाले सबैभन्दा बढी बजेट विनियोजन गरेको बेनी–अर्थुङ्गे–तोरीपानी–पाखापानी सडक आयोजना लक्ष्य भन्दा तीन महिना अघि सम्पन्न भएको छ ।

सङ्घीय सरकारको रु एक करोड ५० लाख समपूरक अनुदान र बेनी नगरपालिकाको रु एक करोड ५० लाख बजेट विनियोजनमार्फत उक्त सडक बेनी–५, ६, ९, १० र रघुगङ्गा गाउँपालिका–५, ६ र ८ नम्बर वडा केन्द्रित हुनेगरी प्राथमिकतामा परेको आयोजना हो ।

बजेट अभाव, आर्थिक सङ्कट, निर्माण सामग्रीको मूल्य वृद्धि, सामाजिकलगायत समस्या देखाएर कतिपय आयोजनाका काममा ढिलासुस्ती भइरहेको अवस्थामा बेनी– अर्थुङ्गे–तोरीपानी खण्डमा निर्माण कम्पनीले छ महिनामा सम्पन्न गर्ने लक्ष्य राखेकामा तीन महिनामा सम्पन्न भएको जनाएको छ ।

गत पुस १९ गते रु दुई करोड नौ लाखमा विकेश–दुप्चेश्वर–सुभम् जेभीले ठेक्का सम्झौता गरेको आयोजना आगामी असार २५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । बेनी नगरपालिकाको अनुगमन समितिका संयोजकसमेत रहेकी उपप्रमुख ज्योती लामिछानेको नेतृत्वमा स्थानीय जनप्रतिनिधि, प्राविधिक, कर्मचारी सहभागी टोलीले मङ्गलबार आयोजनाको अनुगमन गरेको थियो ।

“निर्माण कम्पनीले सम्झौता अनुसार परिणाममा सडक स्तरोन्नतिका लागि संरचना निर्माण गरेको छ”, उपप्रमुख लामिछानेले भने, “सडक र नालीमा ढलान उपकरणको सहायताले गरिएको हो । यसको नमुना परिक्षण गर्दा गुणस्तरीय सामग्रीको प्रयोग गरेर काम भएको पाएका छौँ ।” पहिलो चरणको ठेक्काबाट बचेको रु २० लाखरकम बराबरको थप काम गर्न हालै ठेक्का आह्वान गरिएको नगर उपप्रमुख लामिछानेले जानकारी दिए ।

उक्त आयोजनामार्फत बेनी–पाखापानी सडकको प्रवेशबिन्दु, रातोपहिरो, गिठिनी र बेनी नगरपालिका–९ र १० को सिमाना पात्लेखेतमा नौ सय आठ मिटर सडकलाई भित्ता काट्ने, पहिरो पन्छाएर फराकिलो पार्ने, टेवा पर्खाल र नाली निर्माण गरेर ढलान लगाउनेलगायत काम भएको नगरपालिकाका इञ्जिनियर सुदिप गौतमले जानकारी दिए । उनका अनुसार ढलान, नाली, ग्याबियन जाली भर्ने, पलम र मेसिनरी पर्खाल निर्माण भएपछि सडक यात्रा सहज र सुरक्षित भएको छ ।

निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले सम्झौता लगत्तै पर्याप्त मजदुर परिचालन गर्नुका साथै आवश्यकता अनुसार उपकरण र निर्माण सामग्री व्यवस्थापन गरेर लक्ष्य अघि काम सम्पन्न गरेको इञ्जिनियर गौतमले उल्लेख गरे । तत्कालीन जिल्ला विकास समितिले विसं २०५६ मा ट्रयाक खोलेको यो सडकको बेनीबाट अर्थुङ्गे हुँदै किराखोरसम्म नगरपालिकामार्फत करिब छ किलोमिटर ढलान र कालोपत्र भएको छ ।

किराखोरबाट नेप्टचौर हुँदै तोरीपानीको गलेश्वर माविसम्मको चार किमी सडक स्तरोन्नतिका लागि प्रदेश सरकारको बजेटमा पूर्वाधार विकासका कार्यालयले गत वर्षदेखि आयोजना सञ्चालन गरिरहेको छ ।

नेप्टेचौरको वडा कार्यालयबाट गिठिनी हुँदै पात्लेखेततर्फको बेनी पाखापानी सडकको वैकल्पिक खण्डमा बेनी नगरपालिकाले स्तरोन्नति गर्न थालेको नगरप्रमुख सुरत केसीले जानकारी दिए । उनले जिल्लाको प्राथमिकतामा परेको बेनी–पाखापानी सडक आयोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहजीकरण र समन्वय गरिएको बताए ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  १२ : ३० बजे

नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ

झापा । झापामा नवजात शिशुको हत्या तथा आफ्नै छोरीमाथि हाडनाता

रास्वपा महाधिवेशन : पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले लिए शपथ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट महिला उपसभापतिमा

बुटवलमा ‘मेट्रो आई केयर लुम्बिनी’ सञ्चालनमा, आधुनिक प्रविधिबाट आँखा उपचार सेवा सुरु

बुटवल । आधुनिक प्रविधिबाट आँखा सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्ने

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३

श्रीमती हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै