वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले असोज महिनामा २६ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले निर्धारित लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको हो ।
कार्यालयले असोज महिनामा २६ अर्ब ४६ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । तर, लक्ष्यभन्दा २६ करोड ५८ लाख रुपैयाँ बढी राजस्व सङ्कलन भएको प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीले जानकारी दिए ।
उनका अनुसार असोज महिनामा इन्धन आयातबाट मात्रै दुई अर्ब २९ करोड रुपैयाँ राजस्व प्राप्त भएको छ। त्यस्तै, खाना पकाउने एलपीजी ग्यासको आयातबाट एक अर्ब ८० करोड, अलकत्रा (बिटुमिन) आयातबाट एक अर्ब ४० करोड तथा स्याउ र नास्पाति आयातबाट ५० करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
कार्यालयका अनुसार असोज महिनासम्मको कुल राजस्व सङ्कलन लक्ष्य ७० अर्ब ५६ करोड रुपैयाँ रहेकामा ६९ अर्ब १३ करोड रुपैयाँ सङ्कलन भएको छ । यस अवधिमा कुल लक्ष्यको तुलनामा एक अर्ब ४३ करोड रुपैयाँ कम राजस्व सङ्कलन भएको देखिन्छ ।
चाडपर्वका समयमा आयातमा हुने वृद्धिले भन्सार राजस्व सङ्कलनमा योगदान पुर्याएको बताइएको छ । असोज महिनामा भने वीरगञ्ज भन्सार कार्यालयले मासिक लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको छ ।
















प्रतिक्रिया