११ कार्तिक २०८३, बुधबार | October 28, 2026

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल



बाँके । वर्षायाममा बन्द गरिएको जङ्गल सफारी पुनः सञ्चालनमा आएसँगै बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल बढ्न थालेको छ । मनसुन सकिएपछि निकुञ्जका कच्ची सडक मर्मत गरी पर्यटकका लागि सफारी खुला गरिएसँगै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्न थालेको हो ।

गाभर भ्याली सामुदायिक घरबास (होमस्टे)का अध्यक्ष कृष्ण चौधरीका अनुसार वर्षायाममा रोकिएको सफारी पुनः सुरु भएपछि निकुञ्जमा पर्यटकको आगमन बढ्न थालेको छ । हरियालीले भरिएको जङ्गल, प्राकृतिक वातावरण र दुर्लभ वन्यजन्तुको अवलोकन यहाँका मुख्य आकर्षण हुन् ।

नेपालको सबैभन्दा कान्छो राष्ट्रिय निकुञ्जका रूपमा चिनिने बाँके राष्ट्रिय निकुञ्ज जैविक विविधताका दृष्टिले महत्त्वपूर्ण मानिन्छ । यहाँ पाइने चारवटा सिङ भएको दुर्लभ मृग चौसिङ्गा निकुञ्जको प्रमुख आकर्षण हो । यसबाहेक पाटेबाघ, हात्ती, गैँडा, चितुवा तथा विभिन्न प्रजातिका चराचुरुङ्गी अवलोकन गर्न सकिन्छ ।

पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले निकुञ्ज र स्थानीय पर्यटन व्यवसायीको समन्वयमा एक हजार रुपैयाँको विशेष सफारी प्याकेजसमेत सार्वजनिक गरिएको छ । कम खर्चमा जङ्गल सफारी र वन्यजन्तु अवलोकनको अनुभव लिन सकिने भएकाले यो प्याकेजले विशेषगरी युवा तथा मध्यमवर्गीय पर्यटकलाई आकर्षित गर्न थालेको चौधरीले बताए ।

‘वर्षातपछि जङ्गलको रूप नै फेरिएको छ । चारैतिर हरियाली र ताजा हावा छ,’ चौधरीले भने, ‘जङ्गल सफारी पुनः सुरु भएसँगै पर्यटकको आगमन बढ्न थालेको छ । हामी उहाँहरूलाई स्थानीय परिकार र संस्कृतिले स्वागत गर्न आतुर छौँ ।’

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष चिरञ्जीवी वलीले बाँके राष्ट्रिय निकुञ्ज र गाभर भ्याली पश्चिम नेपालको सुलभ मूल्यमा प्राकृतिक तथा साहसिक पर्यटनको अनुभव लिन चाहनेका लागि आकर्षक गन्तव्य बनेको बताए ।

‘सहरी कोलाहलबाट मुक्त भई प्रकृति र स्थानीय संस्कृतिको नजिक पुग्न चाहने पर्यटकका लागि यो मौसम उपयुक्त अवसर हो,’ उनले भने, ‘वर्षायामको हरियाली र ओसिलो जङ्गलको आफ्नै आकर्षण हुन्छ भने हिउँदमा जङ्गलको दृश्य, वन्यजन्तुको गतिविधि नियाल्ने अवसर र खुला मौसमले सफारीलाई फरक अनुभव दिन्छ ।’

जीपमा बसेर जङ्गलका घुमाउरा बाटामा यात्रा गर्दै वन्यजन्तुको खोजी गर्नु, चराचुरुङ्गीको आवाज सुन्नु, प्राकृतिक वनस्पतिको अवलोकन गर्नु र जङ्गलको विशालता अनुभव गर्नु पर्यटकका लागि विशेष आकर्षण हुने वलीको भनाइ छ ।

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्यासमेत बढ्दै गएको तथ्याङ्कले देखाउँछ । आर्थिक वर्ष २०८२/८३ मा निकुञ्जमा एक हजार ४६६ पर्यटक पुगेका थिए। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यो सङ्ख्या ६२० थियो भने आर्थिक वर्ष २०८०/८१ मा ४४४ पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए ।

निकुञ्जमा पर्यटकको आगमन बढेसँगै पर्यटन प्रवर्द्धनका गतिविधिलाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको निकुञ्जका प्रमुख वार्डेन वीरेन्द्रप्रसाद कँडेलले बताए । उनका अनुसार निजी क्षेत्रसँग समन्वय गरेर विशेष योजनासहित पर्यटन प्रवर्द्धनका कार्यक्रम अघि बढाइएको छ ।

प्राकृतिक सौन्दर्य, जैविक विविधता, वन्यजन्तु अवलोकन र स्थानीय संस्कृति अनुभव गर्न चाहने पर्यटकका लागि बाँके राष्ट्रिय निकुञ्ज र गाभर भ्याली हिउँदको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार  ७ : ४६ बजे

भूमिगत राजनीतिदेखि कृषि उद्यमसम्म : म्याग्दीका पूर्व संविधानसभा सदस्य श्रीसको नयाँ यात्रा

म्याग्दी । कुनै समय भूमिगत राजनीतिमा सक्रिय रहेका म्याग्दीको मङ्गला

भारतीय फूलको आयात रोक्न झापाका किसानको माग

झापा । व्यावसायिक फूलखेती गर्दै आएका झापाका किसानले भारतीय सयपत्री

मुस्ताङ र आसपासका क्षेत्रमा तीन दिन पदयात्रा नगर्न प्रशासनको आग्रह

मुस्ताङ । मौसम प्रतिकूल हुने सम्भावना रहेकाले यही कात्तिक १२

चक्रवातको प्रभावले लुम्बिनी प्रदेशका सात जिल्ला प्रभावित हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

दाङ । बंगालको खाडीमा विकसित ‘अर्नाव’ चक्रवातको प्रभावले लुम्बिनी प्रदेशका

भोजपुरमा धान थन्क्याउन कामदार अभाव, युवा पलायनले किसान मर्कामा

भोजपुर । गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी र सहरतर्फ पलायन