बुटवल । नेपाली मौलिक कला, संस्कृति, स्वाद र पहिचानको प्रवर्द्धन गर्दै आन्तरिक पर्यटन विकास तथा रोजगारी सिर्जना गर्ने उद्देश्यसहित बुटवल खाना महोत्सव २०८३ आयोजना हुने भएको छ ।
होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा मंसिर ११ देखि १५ गतेसम्म देवीनगरस्थित रंगशालामा पाँचदिने महोत्सव हुने भएको हो ।
बुटवलमा खाना महोत्सवलाई पर्वकै रूपमा निरन्तरता दिँदै आएको संघका अध्यक्ष माधवकुमार खनालले बताए । बुधबार बसेको संघको बैठकले महोत्सवको मिति तय गरेको जानकारी दिँदै उनले नेपाली मौलिक खानाका परिकारसँगै विविध मनोरञ्जनात्मक गतिविधि समावेश गरिने बताए ।
महोत्सवको तयारीका लागि विभिन्न उपसमिति गठन गरिएको छ । अध्यक्ष खनालको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । निवर्तमान अध्यक्ष लेखनाथ भण्डारीलाई स्टल अनुगमन तथा निरीक्षण, पर्यटन उपाध्यक्ष रोमाकान्त पाण्डेलाई विद्युत् जडान तथा व्यवस्थापन र वरिष्ठ उपाध्यक्ष अर्जुन थापालाई स्वागत सत्कारको जिम्मेवारी दिइएको छ । सांस्कृतिक कार्यक्रम, मञ्च तथा सजावटका लागि पनि उपसमिति गठन गरिएको छ ।
त्यस्तै, प्रथम उपाध्यक्ष थम्मन भण्डारीलाई स्टल निर्माण, साउण्ड तथा सुरक्षा व्यवस्थापन, द्वितीय उपाध्यक्ष प्रेमप्रसाद भट्टराईलाई स्टल बुकिङ तथा वितरण व्यवस्थापन र तृतीय उपाध्यक्ष रामबहादुर न्यौपानेलाई मञ्च तथा सचिवालय निर्माणको जिम्मेवारी दिइएको छ ।
महासचिव केशवराज कँडेललाई मूल समारोह समितिको सदस्य सचिव, कोषाध्यक्ष अर्जुन पोखरेललाई आर्थिक समन्वय तथा खाना र आवास व्यवस्थापन, सचिव तुल्सीराम पराजुलीलाई संघसंस्था समन्वय तथा पत्राचार, सहसचिव डिल्लीराम अर्याललाई छपाइ तथा पुरस्कार वितरण र सहकोषाध्यक्ष खुमराज ज्ञवालीलाई सामग्री खरिद तथा बजार व्यवस्थापनको जिम्मेवारी दिइएको छ । सदस्य एकदेव पाण्डेलाई जनचेतना र्याली तथा मञ्च व्यवस्थापन उपसमितिको जिम्मेवारी प्रदान गरिएको छ ।
विगतका वर्षको निरन्तरतासँगै यसपटक थप पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति र विभिन्न मनोरञ्जनात्मक स्टलहरू राखिने संघका कोषाध्यक्ष अर्जुन पोखरेलले बताए ।
















प्रतिक्रिया