जनकपुरधाम । नेपालको जनकपुरधामदेखि भारतको अयोध्यानसम्म सञ्चालन हुने भनिएको आयोजना अन्तर्गत रेल सञ्चालनको तयारी तीव्र पारिएको छ । प्रस्तावित जनकपुरधाम-अयोध्याधाम रेल सेवा सञ्चालन गर्नुअघि सुरक्षा तथा प्राविधिक अवस्थाको निरीक्षण गर्न भारतीय रेलवेका अधिकारीहरू बिहीबार रेलसहित जनकपुरधाम आउने भएका छन् ।
भारतीय रेलवेका अधिकारीहरूको टोलीले नेपाल रेलवे अन्तर्गतको प्रमुख जक्सन कुर्थासम्म पुगेर रेल सञ्चालनका लागि आवश्यक पूर्वाधार, सुरक्षा व्यवस्था र अन्य प्राविधिक पक्षको स्थलगत निरीक्षण गर्ने बताइएको छ। यस क्रममा नेपाली रेलवेका अधिकारीहरूसँग रेल सञ्चालनको व्यवस्थापन र सुरक्षाबारे समेत छलफल हुने जनाइएको छ ।
प्रस्तावित रेल सेवा सञ्चालनमा आएपछि जनकपुरधामबाट भारतको अयोध्याधामसम्म करिब ४६४ किलोमिटरको यात्रा रेलमार्फत गर्न सकिनेछ। प्रारम्भिक योजनाअनुसार जनकपुरधामबाट प्रस्थान गर्ने रेल अर्को दिन बिहान अयोध्या पुग्नेछ । रेल सेवाको औपचारिक समयतालिका, टिकट दर र साप्ताहिक सञ्चालन दिनबारे अन्तिम निर्णय हुन बाँकी रहे पनि प्रारम्भिक तयारीअनुसार सातामा एक दिन शनिबार रेल सञ्चालन गर्ने योजना रहेको रेलवे अधिकारीहरूले बताएका छन् ।
प्रस्तावित रुटअनुसार रेल जयनगरबाट मधुवनी, दरभंगा, सीतामढी हुँदै गोरखपुर भएर अयोध्या पुग्नेछ। शनिबार मध्यान्ह जनकपुरधामबाट छुट्ने रेल आइतबार बिहान अयोध्याधाम पुग्ने गरी सञ्चालनको प्रारम्भिक खाका तयार गरिएको छ । रेल सेवाको सुरक्षालाई लिएर नेपाल र भारतबीच जिम्मेवारीसमेत छुट्याइएको बताइएको छ। जयनगरदेखि जनकपुरधामसम्मको नेपाली रेलमार्गको सुरक्षा नेपाल रेलवेले गर्नेछ भने जयनगरदेखि भारतीय भूभागमा पर्ने रेलमार्गको सुरक्षा भारतीय रेलवेले गर्नेछ ।
यसैबीच, नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा जनकपुरधाम–अयोध्याधाम रेल सेवाको उद्घाटन गर्ने तयारी छ । उद्घाटन भारतको राजधानी नयाँदिल्लीबाट गर्ने कार्यक्रम रहेको अधिकारीहरूको भनाइ छ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिवको उपस्थितिमा नेपालका परराष्ट्र सचिव तथा अन्य अधिकारीहरूसँग हुने कूटनीतिक छलफलमा समेत प्रस्तावित रेल सेवाको विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ ।
रेलमा यात्रुहरूको सुविधालाई ध्यानमा राख्दै एसी, स्लिपर र जनरल गरी तीन प्रकारका कोच रहने बताइएको छ। यसले धार्मिक यात्राका लागि अयोध्या जाने नेपाली तथा जनकपुरधाम आउने भारतीय पर्यटकलाई सहज आवागमनको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
यसअघि पनि जनकपुरधाम र अयोध्याबीच धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा बस सेवाको शुभारम्भ गरेका थिए। तर, उक्त बस सेवा नियमित हुन नसकी एक वर्ष पनि टिक्न सकेको थिएन ।
जनकपुरधाम माता जानकीको जन्मभूमि र अयोध्या भगवान् रामको जन्मभूमिका रूपमा परिचित रहेका यी दुई धार्मिक नगरीबीच प्रत्यक्ष रेल सम्पर्क स्थापित भएमा धार्मिक पर्यटन, तीर्थयात्रा, व्यापार तथा सांस्कृतिक आदानप्रदानमा नयाँ सम्भावना खुल्ने विश्वास गरिएको छ । हप्तामा एक एक पटक सो रेल सेवा सञ्चालन हुने जनाइएको छ । प्राप्त जानकारी अनुसार जकपुरधामबाट शनिवार र अयोध्याबाट सोमवार सो रेल सेवा सञ्चालन हुने बुझिएको छ ।
















प्रतिक्रिया