२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत



काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘उच्च पहाडी तथा हिमाली क्षेत्रमा लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड, २०८३’ स्वीकृत गरेको छ ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा लेक लाग्ने समस्याको रोकथाम, पहिचान, उपचार तथा व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउन उक्त मापदण्ड स्वीकृत गरिएको हो ।

उच्च क्षेत्रमा यात्रा गर्ने पर्यटक, पदयात्री, पर्वतारोही तथा स्थानीय बासिन्दामा देखिन सक्ने लेक लाग्ने समस्याको समयमै पहिचान र उचित उपचार सुनिश्चित गर्नु मापदण्डको मुख्य उद्देश्य रहेको छ ।

त्यसले विशेषगरी उच्च पहाडी तथा हिमाली क्षेत्रका स्वास्थ्य संस्थाको उपचार क्षमता अभिवृद्धि, आवश्यक औषधि तथा उपकरणको उपलब्धता र आपत्कालीन उद्धार एवं प्रेषण प्रणालीलाई व्यवस्थित गर्न मार्गदर्शन गर्नेछ ।

समुद्री सतहबाट दुई हजार ५०० मिटर वा सोभन्दा बढी उचाइमा पुग्दा वायुमण्डलीय चाप कम भई शरीरमा अक्सिजनको उपलब्धता घट्ने र शरीरले उक्त वातावरणमा अनुकूलन गर्न नसक्दा लेक लाग्ने समस्या देखिने गरेको विज्ञहरुको भनाइ छ ।

सामान्य अवस्थाबाट सुरु हुने उक्त समस्या समयमै पहिचान र उपचार नभए फोक्सोमा पानी जम्ने तथा मस्तिष्क सुन्निनेजस्ता गम्भीर अवस्था सिर्जना भई ज्यानसमेत जान सक्ने जोखिम रहन्छ ।

मापदण्डले लेक लाग्ने समस्याको रोकथामका लागि उचाइ क्रमशः बढाउँदै लैजाने, पर्याप्त समय अनुकूलनका लागि छुट्याउने, प्रशस्त झोल पदार्थ पिउने तथा लक्षण देखिएमा थप उचाइमा नजानेजस्ता उपायलाई प्राथमिकता दिएको छ ।

त्यस्तै, समस्या देखिएका बिरामीलाई आवश्यकताअनुसार तत्काल कम उचाइमा झार्ने, अक्सिजन तथा प्रेसर ब्यागको प्रयोग गर्ने र अवस्थाअनुसार उपचार गर्ने व्यवस्था समेटिएको छ ।

त्यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रका स्वास्थ्य संस्थामा अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सिमिटर, हाइपरबेरिक चेम्बर ९गामो ब्याग०, आकस्मिक उपचारका उपकरण तथा आवश्यक औषधिको व्यवस्था गर्नुपर्ने विषय मापदण्डमा समावेश गरिएको छ ।

लेक लाग्ने समस्याको पहिचान, उपचार तथा व्यवस्थापनका लागि आवश्यक पर्ने औषधि र उपकरणको सूचीसमेत मापदण्डमा समावेश गरिएको छ ।

मापदण्डले सङ्घ, प्रदेश र स्थानीय तहको जिम्मेवारीसमेत निर्धारण गरेको छ । सङ्घीय सरकारले नीति, मापदण्ड, जनशक्ति तथा बजेट व्यवस्थापन र अनुगमन गर्ने तथा प्रदेश सरकारले स्वास्थ्यकर्मीको क्षमता विकास तथा प्राविधिक सहयोग गर्ने छ ।

त्यस्तै स्थानीय तहले स्वास्थ्य सेवाको पहुँच, आवश्यक औषधि तथा सामग्रीको व्यवस्थापन र बिरामीको प्रेषण प्रणाली सुनिश्चित गर्ने व्यवस्था गरिएको छ । जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ६४ ले दिएको अधिकार प्रयोग गरी जारी गरिएको हो ।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  ११ : ०६ बजे

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ब्यागेज व्यवस्थापनको ‘लाइभ फिड’ सेवा सुरु

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुको ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘उच्च पहाडी तथा

सुनको मूल्य पाँचहजार ९००ले घट्यो, चाँदीको के छ ?

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु पाँच

जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता हुनुपर्छ : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नारायणी

बुटवलमा आजदेखि तीनदिने दीपावली सडक खाना महोत्सव

बुटवल । नेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसरमा बुटवलमा आजदेखि