सुर्खेत । दैलेखमा बिरामी बोकेर सुर्खेततर्फ आउँदै गरेको जीप दुर्घटनामा पर्दा चालकसहित ६ जना घाइते भएका छन्।
कालीकोटबाट सुर्खेततर्फ आउँदै गरेको डबल क्याब जीप दैलेखको गुराँस गाउँपालिका–१, काफलतोलीस्थित कर्णाली राजमार्गबाट करिब ३०० मिटर तल भीरमा खसेको हो।
कर्णाली प्रदेश ट्राफिक कार्यालयका प्रमुख मुकुन्द रिजालका अनुसार सोमबार बिहान करिब ४ः४५ बजे कर्णाली प्रदेश १२१५ नम्बरको जीप अनियन्त्रित भई सडकबाट खसेको थियो।
दुर्घटनामा चालक कालीकोटको सानी त्रिवेणी गाउँपालिका–७ का २२ वर्षीय योगेश सिम्खडासहित ६ जना घाइते भएका छन्।
घाइते हुनेमा सोही ठाउँका २२ वर्षीय तपेन्द्र सिम्खडा, सानी त्रिवेणी गाउँपालिका–६ का रणे सार्की, ३८ वर्षीया जादुकला सार्की, रास्कोट गाउँपालिकाकी १८ वर्षीया गंगा सार्की र सानी त्रिवेणी–४ की २६ वर्षीया कौसी सार्की रहेका छन्।
प्रहरीका अनुसार योगेश, तपेन्द्र र रणे सार्कीको अवस्था गम्भीर रहेको छ। तपेन्द्रको ढाडमा चोट लागेको छ भने जादुकला र कौसी बोल्न सक्ने अवस्थामा रहेका छन्।
दुर्घटनामा घाइते भएका चालकबाहेक पाँच जनालाई उपचारका लागि सुर्खेत ल्याइएको प्रहरीले जनाएको छ। दुर्घटनाको थप विवरण आउन बाँकी छ।

















प्रतिक्रिया