ललितपुर । मल्लकालीन कला, संस्कृति र नाट्य परम्पराको जीवन्त धरोहरका रूपमा रहेको ऐतिहासिक कार्तिक नाच आजदेखि पाटनमा सुरु हुँदैछ ।
तीन सय ८६ वर्ष पुरानो इतिहास बोकेको उक्त नाच यस वर्ष १२ दिनसम्म प्रदर्शन गरिने भएको कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले जानकारी दिए।
अध्यक्ष चित्रकारका अनुसार कात्तिक २७ देखि मङ्सिर ८ गतेसम्म प्रत्येक दिन साँझ ७ः०० बजे पाटन दरबार क्षेत्रस्थित कार्तिक डबलीमा नाच प्रदर्शन हुनेछ ।
नेपाल संवत् ७६१ अर्थात् विसं १६९७ मा मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याण तथा धार्मिक–सांस्कृतिक उद्देश्यले कार्तिक नाच सुरु गराएको इतिहास छ ।
नेपाल भाषामा ‘कात्ति प्याखं’ भनिने यस नाचमा भगवान् विष्णुका विभिन्न अवतार, कृष्णलीला, धार्मिक आख्यान तथा लोकनाटक प्रस्तुत गरिने परम्परा छ ।
यस वर्ष भक्त सुरदास प्याखं, माधवानर लीला, बायः प्याखं, बाथः प्याखं, जलशयण, वराह अवतार, नृसिंह अवतार, वस्त्रहरण लीला र दधि लीलालगायतका प्रस्तुति रहने समितिका उपाध्यक्ष प्रकाशराज शर्माले जानकारी दिए ।
यसअघि कार्तिक नाच विसं २०३८ देखि २०६० सम्म आठ दिन, विसं २०७० मा १० दिन र २०७१ देखि २०७६ सम्म १२ दिन प्रदर्शन गरिएको थियो । कोरोना महामारीका कारण विस २०७७ मा भने दुई दिनमा सीमित गरियो ।
यस ऐतिहासिक नाचको संरक्षण र निरन्तरताका लागि आर्थिक स्रोत, कलाकारको व्यावसायिक विकास तथा नयाँ पुस्तामा सीप र परम्पराको हस्तान्तरण चुनौतीका रूपमा रहेको समितिले जनाएको छ ।
ललितपुर महानगरपालिकाले विगतमा रु एक करोडको अक्षयकोष स्थापना गरेकामा पछि त्यसमा रु १० थप गरिएको थियो । यस वर्ष नाच सञ्चालनका लागि महानगरपालिका–१६ ले रु १५ लाख सहयोग गर्ने छ । दीर्घकालीन संरक्षणका लागि समितिले रु १० करोडको अक्षयकोष स्थापना गर्ने लक्ष्यसमेत अघि सारेको छ ।
नाचलाई ऐतिहासिक स्वरूपअनुसार पुनः २७ दिनसम्म सञ्चालन गर्न सक्ने वातावरण निर्माण गर्ने समितिको योजना रहेको कार्तिक नाच प्रचारप्रसार समितिका संयोजक सञ्जय शर्मा राजोपाध्यायले जानकारी दिए ।
कार्तिक नाच संरक्षण समितिले ऐतिहासिक सम्पदाको अवलोकन तथा संरक्षणमा साथ दिन सर्वसाधारण, संस्कृतिप्रेमी र स्वदेशी तथा विदेशी पर्यटकलाई आग्रह गरेको छ ।
महानगरपालिका–१६ का अध्यक्ष निर्मलरत्न शाक्यले नेपालकै गौरवको रुपमा रहेको र इतिहास बोकेको नाचलाई राष्ट्रिय महत्त्वको सम्पदाका रुपमा पहिचान गराउने प्रयास भइरहेको बताए । एक महिनासम्म सञ्चालन हुने उक्त ऐतिहासिक सांस्कृतिक नाचलाई विश्वको अमूर्त सम्पदामा सूचीकृत गर्ने तयारी भइरहेको जानकारी दिँदै उनले अर्को वर्ष २७ दिनसम्म नै सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिए ।

















प्रतिक्रिया