काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता एवं सांसद जगदीश खरेलले प्रधानमन्त्री वालेन्द्र शाहले सरकार सञ्चालनका क्रममा चाल्ने आवश्यक कदममा पार्टीको पूर्ण समर्थन रहने बताएका छन् ।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको पछिल्लो विवाददेखि नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाउने वा पदमा कायम राख्ने विषयसम्ममा पार्टीले सरकारलाई कुनै निर्देशन नदिएको उनले स्पष्ट पारेका छन् ।
आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता खरेलले सरकारका आन्तरिक कामकारबाहीमा पार्टीले हस्तक्षेप गर्न नचाहेको बताए । सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सार्वजनिक भएका विषय सरकार र प्रधानमन्त्रीको कार्यक्षेत्रभित्र पर्ने भएकाले आवश्यक निर्णय लिने जिम्मेवारी पनि सरकारकै भएको उनको भनाइ छ ।
आईजीपीसम्बन्धी विषय अदालतसम्म पुगेको र कतिपय प्रक्रिया अघि बढिरहेको अवस्थामा सरकारले आवश्यकताअनुसार आफ्नो धारणा स्पष्ट पार्दै जाने उनले बताए ।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको निवासमा चौधरी ग्रुपसँग सम्बन्धित व्यक्तिहरू तथा बिचौलियाका रूपमा चर्चामा आएका इनम सापकोटाको मोबाइल फोन लगिएको घटना सार्वजनिक भएपछि रास्वपाको धारणा मागिएको थियो ।
जवाफमा खरेलले प्रधानमन्त्रीले कुनै व्यक्ति वा विषयमा गल्ती भएको निष्कर्ष निकाल्दै आवश्यक कारबाही प्रक्रिया अघि बढाए पार्टीले पूर्ण सहयोग गर्ने बताए ।
‘प्रधानमन्त्रीज्यूले कुनै विषयमा गल्ती भएको र आवश्यक कदम चाल्नुपर्ने महसुस गर्नुभयो भने उहाँले लिने निर्णयमा पार्टीको पूर्ण समर्थन र सहयोग रहनेछ,’ उनले भने ।
सरकारअन्तर्गतका निकाय तथा व्यक्तिहरूका विषयमा पार्टीले अत्यधिक चासो राख्दा राजनीतिक हस्तक्षेप गरेको अर्थ लाग्न सक्ने भन्दै उनले सरकारलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्ने पार्टीको मान्यता रहेको उल्लेख गरे ।
प्रधानमन्त्रीका सल्लाहकार, गृहमन्त्री तथा सरकारका अन्य व्यक्तिहरूसँग जोडिएका सार्वजनिक प्रश्नहरू पार्टीको औपचारिक छलफलमा प्रवेश नगरेको पनि उनले जानकारी दिए । यस विषयमा पार्टीले भन्दा पहिले सरकार र प्रधानमन्त्रीको धारणा तथा निर्णयलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।
यसबीच, रास्वपाको २० सदस्यीय प्रतिनिधिमण्डल चीन भ्रमणमा जान लागेको पनि प्रवक्ता खरेलले जानकारी दिए । पार्टीका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा जान लागेको उक्त टोलीलाई चीनको सत्तारूढ दलले निमन्त्रणा गरेको उनले बताए ।
















प्रतिक्रिया