२७ कार्तिक २०८३, शुक्रबार | November 13, 2026

खजुराका समृद्धिका ५ आधार : कृषि, स्वास्थ, शिक्षा, खेलकुद र ब्यापार



खजुरा । खजुरा ग्रामीण परिवेशबाट बिस्तारै बिस्तारै शहर उन्मुख हुँदै छ , खजुरा-नेपालगन्जको कुनै समय प्रमुख यातायातको सवारी साधन टाँगा थियो, हामी खजुरा-नेपालगन्ज गर्न हजारौं पटक टाँगा चढियो, खजुराको मुख्य बजार क्षेत्रमा टाँगा स्टेसन कै लागी भनेर छुट्याइएको थुप्रै जग्गा थियो, जुन कालान्तरमा ब्यक्तिगत बन्न पुग्यो।

टाँगा खजुराको लाइफलाइन थियो , बिरामी देखि गर्भवती सम्म लाई टाँगामा नै भेरी अञ्चल अस्पताल पुर्याइन्थ्यो, चुनावको प्रचारप्रसार गर्ने प्रमुख सवारी साधन पनि टाँगा नै थियो । २०५४ को स्थानीय निकाय (गाबिस) को चुनावमा पनि टाँगामा माइक लगाएर प्रचारप्रसारमा हिडेको सम्झना ताजै छ भने बोर्डिङ स्कुलहरुले समेत टाँगामा नै बिद्यार्थी ल्याउने पुर्याउने गर्थे तर आज खजुरामा टाँगा एकादेशको कथा बनिसक्यो।

खजुरा बिमानस्थलमा जहाज चढ्न आउनेहरु हुन् वा अन्यत्र बाट खजुरा बिमानस्थलमा ओर्लिएर आ-आफ्नो टाढाको गन्तव्य फर्केनेहरु हुन् उनिहरु पनि टाँगा नै चढ्ने गर्थे । ६० को दशकमा आइपुगेपछि खजुराबाट टाँगा बिस्थापित भयो अनि बिक्रम टेम्पोको युग शुरु भयो। रुपान्तरणको गतिमा अगाडि बढ्दै जाँदा अहिले खजुरा नवउदयीमान शहर बन्ने सबै मापदण्ड पुरा गरिसकेको छ । लडिया, टाङ्गा,साइकल, नगरबस, बिक्रम टेम्पो, म्याजिक भ्यान हुँदै अटो र प्रसस्त निजि ४ पाङ्ग्रे र २ पाङ्ग्रे सवारी साधनले भरिएको छ अहिले खजुरा।

अब खजुराले बिकास र समृद्धिको रफ्तार भने ‘हाइगियर’मा लैजानु अनिवार्य नै छ । खजुरालाई समुन्नत र सम्पन्न बनाउन कृषि, स्वास्थ्य, शिक्षा, खेलकुद र व्यावसायिक क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गर्न आवस्यक छ । साथ साथमा पुर्वाधार निर्माणमा उचित ध्यान जानु पनि जरुरी छ।

कृषि र खजुरा : खजुरा गाउँ पालीकाको मेरुदण्ड नै कृषि हो । त्यसकारण कृषि क्षेत्रको सवलिकरण र कृषकमुखी बजेट निर्माणमा खजुराको ध्यान जान जरुरी छ । बिशेष गरि धान, गहुँ र दलहन बाली तथा तरकारी खेती र पशु पंक्षी पालन र त्यसको उत्पादनमा विशेष योजना र अनुदान दिई अगाडि बढे कृषिबाट खजुरालाइ आत्मनिर्भर बनाउन सकिन्छ र यहाँको उत्पादन खजुरालाई पुरा भै बाँकीरहेको उत्पादन सजिलोसँग नजिकै रहेको बाँके जिल्ला कै सदरमुकाम र मुख्य बजार नेपालगन्ज पुर्याउन सकिन्छ । दुग्ध उत्पादन, कुखुरा, तरकारी र धान गहुँ खजुराले आफुलाइ पुरा गरेर बाहिर पठाउन सक्ने अवस्था छ भने तरकारी पनि खजुरा बाट राम्रो उत्पादन हुँदै आएको छ। खजुरा सङ्ग जोडिएको कृषि अनुसन्धान केन्द्र , कुखुरा विकास फार्म लगायत कृषि सङ्ग जोडिएका आधा दर्जन बढी सरकारी कार्यलय खजुरा सङ्गै जोडिएका छन् । यहाँ रहेका विशेषज्ञहरुबाट आवश्यक सल्लाह, सुझाव र सीप र ज्ञान लिएर कृषि क्षेत्रमा खजुराले राम्रो फड्को मार्ने सम्भावना धेरै नै छ। खजुरा गाउँ पालीकाले अघि सारेको कृषि मा आधारित ‘ग्रीनसिटी’को परियोजना खजुरामा भित्र्याउन सके १० बर्ष भित्रमा खजुरा ठुलो परिवर्तन देख्न पाइनेछ ।

स्वास्थ्य र खजुरा : खजुरालाइ चलाएमान बनाउने अर्को पाटो हो, स्वास्थ्य, खजुरामा नै स्तरीय अस्पताल भए खजुराबासीले स्वास्थ्यका नाममा पैसा बाहिर खर्च गर्नुपर्ने अवस्था को अन्त्य हुनेछ । साधारण बिरामी लाई सेवा दिन अहिले खजुरा गाउँपालीकाका सबै वडाहरुमा स्वास्थ केन्द्र र एउटा पिएचसी छ भने खजुरा गाउँपालीकामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले विशेषज्ञ सेवा सहित ओपिडी सेवा समेत प्रदान गर्दै आएको छ । जहाँ धेरै प्रकारका विशेषज्ञ डाक्टरहरुबाट सेवा प्रदान हुँदै आएको छ। खजुरामा रहेको क्यान्सर अस्पतालमा कर्णाली प्रदेश , सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश सङ्गै मित्ररास्ट्र भारतको उत्तर प्रदेशबाट समेत बिशेषज्ञ सेवा लिन आउने बिरामी र उनीहरुको साथमा आउने सेवा ग्राही कारण खजुराको चहलपहल बिस्तारै बढ्दै जानेछ भने अर्थिक गतिविधि समेत स्वास्थ्य सेवाबाट केहि मात्रामा वृद्धि हुँदै जानेछ ।त्यसैले खजुराको समृद्धिको यात्रामा क्यान्सर अस्पताल कोशेढुङ्गा बन्न सक्दछ ।

शिक्षा र खजुरा : शिक्षा सबै ठाउँका लागी महत्वपूर्ण हुन्छ, पालीकाको शैक्षिक इन्डेक्स राम्रो देखिए पक्कै पनि पालीका उत्कृष्ट बन्ने कुराको संकेत त्यसले गर्नेछ । पालीकामा रहेका सामुदायिक र सस्थागत बिद्यालयको अवस्था राम्रो रहने र ती बिद्यालयहरुबाट गुणस्तरीय शिक्षा प्रवाह भए पालीकाले उत्कृष्ट जनशक्ति प्राप्त गर्नेछ जसबाट पालीकालाइ मात्रै होईन सिङ्गो मुलुक लाई फाइदा पुग्नेछ । खजुरा गाउँपालिकाको शैक्षिक अवस्था हेर्दा जिल्ला तहमा राम्रो नै देखिएको छ । माध्यमिक तहमा अध्ययन का लागी अझै  करिब १ हजार बिद्यार्थी खजुरा भन्दा बाहिर जाने गरेको अवस्था अहिले पनि छ । त्यसबाट लाखौं रुपैयाँ मासिक रूपमा बाहिरिने गरेको छ त्यसलाई रोक्नका लागी सामुदायिक र सस्थागत दुबै बिद्यालयहरुमा व्यापक रूपमा शैक्षिक सुधार गरिनु आवश्यक छ । प्राविधिक धार तर्फका शैक्षिक सस्थाहरु भित्र्याउन जरुरी छ जस मार्फत खजुराले शिक्षाको माध्यमबाट बाहिरी क्षेत्र र जिल्लाका मानिसहरुलाइ अध्यनका लागी खजुरा आउन आकर्षण गर्नेछ ।

अहिले खजुरामा संचालनमा आएको बिएससी एजीको क्याम्पस तह संचालनले खजुरालाई नयाँ शैक्षिक गन्तव्यका रूपमा उभ्याएको छ । खजुरामा प्रदेश विश्वबिद्यालय संचालनको तयारीले थप केही आशा उब्जाएको थियो फेरि विश्वबिद्यालय सर्ने कुराले खजुरा र सिङ्गो बाँके जिल्ला कै लागी घाटाको बिषय बन्ने खता उत्पन्न भएको छ । शिक्षा क्षेत्र खजुराको समृद्धिको एउटा महत्त्वपूर्ण आधार हो।

खेलकुद र खजुरा : खजुरा बिगतका दिनहरूबाट नै खेलकुद क्षेत्रमा चर्चित ठाउँ हो । हिजो सागमा खजुराबाट एथलेटिक्स तर्फ केशमाया श्रीस देखी आज जुडो कि सोनिया भट्टको ओलम्पिक यात्रा ले खजुरालाइ देशभर चिनाएको छ भने फुटबल खेलमा खजुराका क्लबहरु र खेलाडीहरुले जिल्लामा राम्रो स्थान बनाएका छन् ।

सितापुर रंगशाला र डि गाउँको मिनि रंगशाला जिल्ला सदरमुकाम बाहिर तयार हुँदै गरेका उत्कृष्ट पुर्वाधार हुन् । सितापुरमा रहेको भलिबल स्टेडियम जहाँ राष्ट्रिय स्तरको प्रधानमन्त्री कप भलिबल प्रतियोगिता भैसकेको छ भने डि गाउँको खेलमैदानमा समेत राष्ट्रिय स्तरको नेपालगन्ज गोल्डकप सम्पन्न भएको छ । यी दुई ठाउँको पुर्वाधारमा क्रमशः लगानी गर्दै गए नेपालगन्ज बाहिर बाँके जिल्लामा खेलगतिबिधी हुने स्थानका रूपमा खजुरा उत्कृष्ट बन्नेछ र खेलकुदका माध्यम बाट खजुराले उत्कृष्ट पालिकका बन्ने बाटोमा अगाडि बढ्नेछ । साथै राम्रो भौतिक पुर्वाधार तयार हुँदा भोलिका दिनमा राम्रा खेलाडीहरु खजुराबाट नै उत्पादन हुँदै जानेछन् ।

ब्यापार ब्यबसाय र खजुरा : खजुरा को विकास र सम्मुन्न्तीको एउटा आधार यहाँ हुने ब्यापार व्यवसाय र उद्योग तथा कलकारखाना पनि हुन् । खजुरा बाँके जिल्ला कै एउटा महत्त्वपूर्ण गल्लामन्डीका रूपमा स्थापित छ । खजुरामा बर्दिया सम्मबाट गल्ला बिक्रीका लागि किसानहरु आउने गर्छन् । धान, गहुँ, अढहर, चना, मसुरो लगायतको कारोबार खजुरामा हुँदै आएको छ । खजुरामा रहेका चामल मिलहरुबाट जिल्ला बाहिर समेत प्रत्यक बर्ष चामल लगायतका खाद्यान्न बिक्रीवितरण हुँदै आएको छ । यसबाट खजुराको अर्थ ब्यवस्था चलायमान बनाउन टेवा पुगेको छ।

खजुरा स-साना उद्याग कलकारखानाहरुले पनि खजुरालाइ चलाएमान बनाएका छन् र स्थानीय आवश्यकता पुरा गर्न मद्दत पुर्याएका छन् । पानी उद्योग, सरफ साबुन उद्योग, मरमसला उद्योग, कागज को कार्टुन उत्पादन गर्ने उद्योगहरुले केही रोजगारीको सिर्जना गर्दै खजुराको आर्थिक गतिविधि बढाएका छन् । अर्को महत्त्वपूर्ण उद्योगका रूपमा खजुरामा इट्टा उद्योगले स्थान लिएका छन् । खजुरामा उत्पादन भएका इट्टाहरु लुम्बिनी प्रदेश , कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश सम्म पुग्ने गरेका छन् र यी उद्यागहरुबाट खजुरामा आर्थिक गतिविधि बढेको छ । यसमा काम गर्ने कामदारहरु स्थानीयलाई तयार गर्ने सके थप रोजगारी सृजना हुनुका साथै ठुलो मात्रामा कामदार बापत भारत जाने रकम स्वदेश मै रोक्न सकिन्छ ।

अहिले ठूलो उद्यागका रूपमा चाडैं संचालनमा आउन लागेको पार्ले बिस्कुट कम्पनी खजुराको ठूलो उद्यागको प्रारम्भ मात्रै नभएर यसले खजुरामा ठुलो उद्यागहरुलाई भित्र्याउन प्रेरित समेत गर्नेछ र आर्थिक गतिविधिमा ठुलो प्रभाव पार्नेछ । ब्यापार, ब्यवसाय र उद्याग कलकारखाना खजुराको समृद्धि का महत्त्वपूर्ण आधार हुन् ।

खजुरामा अव पुर्वाधारमा थप लगानी गर्दै अगाडि बढे खजुरा गाउँ पालिकालाई एउटा सवल, सक्षम र उत्कृष्ट गाउँपालिका बनाउन सकिन्छ ।

(लेखक नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य हुन्)

प्रकाशित मिति : २७ कार्तिक २०८३, शुक्रबार  २ : ४७ बजे

खजुराका समृद्धिका ५ आधार : कृषि, स्वास्थ, शिक्षा, खेलकुद र ब्यापार

खजुरा । खजुरा ग्रामीण परिवेशबाट बिस्तारै बिस्तारै शहर उन्मुख हुँदै

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले काठमाडौंलाई दियो १२६ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले काठमाडौं

घाँसेमैदान सफा गरेपछि सहजै रुपमा देखिन थाले वन्यजन्तु

चितवन । जङ्गल सफारीका लागि चितवन राष्ट्रिय निकुञ्ज विश्वमै प्रख्यात

दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

महेन्द्रनगर । दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएर आवामन रोकिएपछि पुल

सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त

काठमाडौं । सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त भएका छन्