४ मंसिर २०८३, शुक्रबार | November 20, 2026

एसिया कप राइजिङ स्टार्समा आज नेपाल र भारत ‘ए’ भिड्दै



काठमाडौं । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ सँग प्रतिस्पर्धा गर्दैछ । समूह ‘बी’ अन्तर्गतको उक्त खेल दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रने नेपाली टोलीका लागि प्रतियोगिताको पहिलो खेल नै चुनौतीपूर्ण हुने देखिएको छ । नेपाल रहेको समूह ‘बी’ मा भारत ‘ए’ सँगै पाकिस्तान ‘ए’ र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । यसै समूहअन्तर्गत शुक्रबार बिहान ११:४५ बजे हुने पहिलो खेलमा पाकिस्तान ‘ए’ र यूएई आमनेसामने हुँदैछन् ।

अनुभवी तीव्र गतिका बलर सोमपाल कामी घाइते भएपछि प्रतियोगिताबाट बाहिरिएका छन् । उनको स्थानमा बायाँहाते तीव्र गतिका बलर प्रतिश जीसीलाई टोलीमा समावेश गरिएको छ । त्यस्तै, ट्राभलिङ रिजर्भमा रहेका मयन यादवलाई पनि मुख्य टोलीमा ल्याइएको छ ।

नेपाली टोलीमा कप्तान सन्दीप लामिछानेसहित कुशल भुर्तेल, ललित राजवंशी, सन्दीप जोरा, पवन सर्राफ, लोकेश बम, देव खनाल, वसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, राशिद खान, ईशान पाण्डे, दीपक डुम्रे, अभिषेक गौतम, प्रतिश जीसी र मयन यादव रहेका छन् ।

तिलक वर्माको कप्तानीमा मैदान उत्रने भारत ‘ए’ टोलीमा सिनियर अन्तर्राष्ट्रिय क्रिकेट र इन्डियन प्रिमियर लिग (आईपीएल) को अनुभव बटुलेका खेलाडीको बाहुल्यता छ । कप्तान तिलक र उपकप्तान रिंकु सिंहसँगै आक्रामक ब्याटर अभिषेक शर्मा तथा युवा ब्याटर वैभव सूर्यवंशी टोलीका प्रमुख आकर्षणका रूपमा रहेका छन् ।

भारत ‘ए’ को टोलीमा विकेटकिपर ब्याटरका रूपमा प्रभसिमरन सिंह र कुमार कुशाग्र छन् । अलराउन्डरतर्फ सूर्यांश शेड्गे, शाहबाज अहमद, विप्रज निगम, हर्ष दुबे र तनुष कोटियन समेटिएका छन् । त्यस्तै, बलिङतर्फ हर्षित राणा, प्रिन्स यादव र अर्शद खानजस्ता तीव्र गतिका बलर रहेका छन् ।

ब्याटिङ र बलिङ दुवैतर्फ बलियो देखिएको भारत ‘ए’ विरुद्ध नेपालले सुरुदेखि नै कसिलो बलिङ र अनुशासित ब्याटिङ गर्नुपर्नेछ । भारतीय टोलीका आक्रामक ब्याटरलाई नियन्त्रणमा राख्दै दबाब सिर्जना गर्नु नेपालका लागि महत्वपूर्ण हुनेछ ।

समूह चरणमा नेपालले भारत ‘ए’ सँगको खेलपछि आइतबार यूएई र मंगलबार पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गर्नेछ ।

आठ टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा अफगानिस्तान ‘ए’, बंगलादेश ‘ए’, श्रीलंका ‘ए’ र हङकङ छन् । समूह चरणका खेल सिंगल राउन्ड रोबिन लिगका आधारमा सञ्चालन हुनेछन्। दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतियोगिताका सेमिफाइनल खेल मंसिर ११ र १२ गते तथा फाइनल खेल मंसिर १४ गते हुनेछ ।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार  ८ : ४८ बजे

Your email address will not be published.

सार्वजनिक शौचालयलाई अनिवार्य सेवाका रुपमा सञ्चालन गर्न निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सार्वजनिक शौचालयलाई

एसिया कप राइजिङ स्टार्समा आज नेपाल र भारत ‘ए’ भिड्दै

काठमाडौं । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ

सात वर्षमा पनि बनेन मुस्ताङको लेते-धम्पु पुल

मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिकाका तीन वडा जोड्ने कालीगण्डकी नदीमाथिको

हरिबोधिनी एकादशी : देशभरका नारायण मन्दिरमा भक्तजनको लाम

काठमाडौं । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज

आयोगले थाल्यो स्थानीय निर्वाचनको तयारी, आज दलहरुसँग छलफल

काठमाडौं । निर्वाचन आयोग स्थानीय तहको चुनावको तयारीमा जुटेको छ