नेपालगन्ज । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको पूर्व सन्ध्यामा नेपालगन्ज-दिल्ली हवाई उडान र सुख्खा बन्दरगाहा स्थापनाका विषयमा नेपालगन्जमा छलफल भएको छ । नेपालगन्ज उद्योग बाणिज्य संघको आह्वानमा भेला भएका राजनीतिक दलका जिल्ला नेताहरु तथा उद्योगी ब्यवसायीहरुले नेपालगन्ज-दिल्ली हवाई उडान संचालन र नेपालगन्जमा सुख्खा बन्दरगाहा स्थापनालाई भारत भ्रमणको एजेण्डा बनाउन माग गरेका छन् ।
उनीहरुले नेपालगन्ज-दिल्ली हवाई उडानसँगै क्रसबोर्डर हवाई सेवा संचालनलाई भारत भ्रमणको एजेण्डा बनाउन माग गरेका छन् । उद्योगीहरुले एउटै सुख्खा बन्दरगाहाबाट ३ वटा प्रदेशको आर्थिक समृद्धिमा योगदान हुने दाबी गर्दै नेपालगन्जमा सुख्खा बन्दरगाहा बनाउन भ्रमणको एजेण्डा हुनुपर्ने बताए । भेलामा सहभागीहरुले विकास र समृद्धिको मामीलामा राजनीति भन्दा माथि उठेर सहकार्य गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
भेलामा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी बाँकेका अध्यक्ष विवेक कुमार श्रेष्ठले सर्वपक्षिय भेलाले उठाएका विषयहरुलाई आफुले पार्टीगत च्यानलबाट प्रधानमन्त्री कार्यालय सम्म पुर्याउने प्रतिबद्धता ब्यक्त गरे । उनले बाँकेको विकास र समृद्धिका विषयमा पार्टीको तर्फबाट प्रधानमन्त्री सहित बिषयगत मन्त्रीहरुलाई बिभिन्न माग गरिएको जानकारी दिँदै रास्वपा बाँके सबै दल र उद्योगी ब्यवसायीसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुधान्सु कोइरालाले जिल्लाको विकास र समृद्धिका लागि सबै दलहरुको एउटै आवाज हुन आवश्यक रहेको औंल्याए । नेपालगन्ज दिल्ली हवाई उडानको माग विगत देखि नै हुँदै आएपनि त्यसले साकार रुप लिन नसकेको उनले बताए ।
उद्योगी प्रदिप छाजेडले नेपालगन्ज दिल्ली हवाई उडान भन्दा क्रसबोर्डर हवाई उडानको माग गर्नु पर्ने सुझाव दिए । उनले नेपालगन्जमा सुख्खा बन्दरगाहा स्थापना हुन सके लुम्बिनी सहित कर्णाली र सुदूरपश्चिम प्रदेशको समेत औद्योगिक विकासमा टेवा पुग्ने बताए । भारतको सिमावर्ती बजार रुपैडिहा सम्म बडीलाईन रेल सेवा संचालन भइसकेको बताउँदै उनले करिव १० किलोमिटर रेल्वे लाईन विस्तार गरेर बन्दरगाहा स्थापना गर्नसके स्वदेश मै रोजगारीको ठुलो सम्भावनाको ढोका खोल्ने बताए ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष चिरन्जिवी ओलीले विषय प्रवेश गर्दै बाँकेको समृद्धिका लागि दिल्ली नेपालगन्ज हवाई उडान र सुख्खा बन्दरगाहा स्थापना लाईफलाईन बन्न सक्ने बताए । विकासको र समृद्धिको एजेण्डामा सबै दल र उद्योगी ब्यवसायीहरुको एक आवाज हुन आवश्यक रहेको जनाउँदै उनले संघको तर्फबाट आर्थिक समृद्धिका लागि सबैसँग सहजिकरण गर्ने बताए ।
भेलाले क्रसबोर्डर हवाई उडान र सुख्खा बन्दरगाहा स्थापनाका लागि भारत भ्रमणमा एजेण्डा बनाउने माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई स्मरणपत्र पठाउने निर्णय गरेको छ । भेलाले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई पठाइएको स्मरणपत्रलाई पार्टीगत माध्यमबाट रास्वपा बाँकेका सभापति श्रेष्ठको अगुवाईमा प्रधानमन्त्रीको सचिवालय सम्म पुर्याउने सम्बन्धमा पनि निर्णय गरेको छ । मंगलबार बिहान १०ः३० बजे स्मरणपत्र बुझाउन जिल्ला प्रशासन कार्यालय पुग्न भेलाले सरोकारवालाई आग्रह समेत गरेको छ ।
भेलामा नेकपा एमालेका मीनबहादुर मल्ल, नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ र नन्नदलाल बैश्य, पर्यटन ब्यवसायी श्रीराम सिग्देल, उद्योगी कन्हैयालाल बैद्य, अधिकारकर्मी भोला महतलगायतले बाँकेको समृद्धिका लागि आफ्नो तर्फबाट पूर्ण साथ र सक्रिय सहयोग रहने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
















प्रतिक्रिया