काठमाडौं । साउदी अरबमा भएको आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार साँझ सामाजिक सञ्जाल एक्समार्फत घटनाबारे जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार घाइतेमध्ये एक जना उपचारपछि निको भइसकेका छन् भने अन्य दुई जनाको उपचार भइरहेको छ । घटनामा ज्यान गुमाएका नेपाली नागरिकको नाम र ठेगाना भने मन्त्रालयले सार्वजनिक गरेको छैन ।
मन्त्रालयले मृतक नेपाली नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
घटनाप्रति धारणा सार्वजनिक गर्दै मन्त्रालयले सर्वसाधारण नागरिक तथा सार्वजनिक पूर्वाधारलाई कुनै पनि बहानामा निशाना बनाउन नहुने स्पष्ट पारेको छ । विवाद तथा द्वन्द्व समाधानका लागि अधिकतम संयमता अपनाउन र शान्तिपूर्ण उपाय अवलम्बन गर्न नेपालले सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।
यसअघि नोभेम्बर २४ मा साउदी अरबको राजधानी रियादस्थित किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्टमा रहेको एउटा टावरमा आक्रमण भएको थियो । उक्त आक्रमणमा यमनको हुथी विद्रोही समूहको संलग्नता रहेको साउदी नागरिक सुरक्षा निकायले आरोप लगाएको थियो ।
साउदी अरबमा भएको आक्रमणमा नेपाली नागरिकको समेत मृत्यु र घाइते भएको पुष्टि भए पनि घटनाको विस्तृत विवरण तथा प्रभावित नेपालीहरूको पहिचान सार्वजनिक हुन बाँकी छ ।
















प्रतिक्रिया