बुटवल । ‘राष्ट्रियता, भौगोलिक अखण्डता, वीर पुर्खाहरूको योगदान र युवाहरूको भूमिका’ विषयक बृहत् शिक्षामूलक अभिमुखीकरण कार्यक्रम बुटवलमा आयोजना हुने भएको छ ।
सुस्ता बचाउ युवा अभियान र सुस्ता बचाउ अभियान नवलपरासीको आयोजनामा यही मङ्सिर १४ गते सोमबार बुटवलको रामनगरस्थित अन्तर्राष्ट्रिय सभाहलमा कार्यक्रम हुन लागेको हो ।
कार्यक्रमबारे जानकारी दिन आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले सामुदायिक तथा संस्थागत विद्यालय, लखन ब्रदर्श युवा क्लब र रुद्रगण धार्मिक संस्थाको सहकार्यमा अभिमुखीकरण कार्यक्रम गर्न लागिएको जानकारी गराएको हो ।
कार्यक्रममा सीमाविद् बुद्धिनारायण श्रेष्ठ र नेपाली सेनाका पूर्व उपरथी डा. पूर्णबहादुर सिलवाल प्रमुख वक्ताका रूपमा सहभागी हुने जनाइएको छ । उनीहरूको अनुभव, ज्ञान र मार्गदर्शनबाट सहभागीहरू लाभान्वित हुने आयोजकको विश्वास छ ।
सुस्ता बचाउ युवा अभियानका संयोजक योगेन्द्र गौतमले कार्यक्रमले विशेषगरी नयाँ पुस्ता तथा विद्यार्थीमा देशप्रतिको माया, जिम्मेवारीबोध र राष्ट्रिय सचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको बताए ।
राष्ट्रिय अखण्डता र स्वाभिमानको रक्षा गर्न देशभक्तिको भावना जागृत गराउने, आत्मगौरव बढाउने तथा तथ्यपरक अभिलेख र सचेतनामार्फत युवा विद्यार्थीलाई देशप्रेमप्रति प्रेरित गर्ने कार्यक्रमको उद्देश्य रहेको उनको भनाइ छ ।
पत्रकार सम्मेलनको अध्यक्षता बटौली संरक्षक मञ्चका संयोजक रविन्द्रगोपाल लाकौलले गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, दीप बोर्डिङका प्राचार्य टीकाराम न्यौपाने, नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयका प्राचार्य प्रेम बस्नेत र कान्ति माध्यमिक विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीलगायतको उपस्थिति रहेको थियो ।
आयोजकका अनुसार कार्यक्रममा कक्षा ९ देखि १२ सम्म तथा स्नातक तहमा अध्ययनरत विद्यार्थीका साथै राष्ट्रियताबारे चासो राख्ने सर्वसाधारण सहभागी हुन सक्नेछन् । कार्यक्रम सञ्चालनका लागि बुटवलका निजी विद्यालय तथा लखन ब्रदर्श युवा क्लबले सहयोग गरेका छन् ।
















प्रतिक्रिया