२९ माघ २०८२, बिहिबार | February 12, 2026

मिथिलामा मधुश्रावणीको रौनक



महोत्तरी । मिथिलाका प्रत्येकजसो बस्ती अहिले मधुश्रावणीको रङमा व्यस्त देखिन्छन् । मधुश्रावणी श्रावण कृष्ण पञ्चमीमा सुुरु भई शुक्ल तृतीयाका दिन सम्पन्न गरिन्छ ।

शिव, पार्वती (गौरी) र ‘विषहरा’ (नागदेवता)को आराधना गरिने यो पर्वमा भोलिपल्टको पूजाअर्चनाका लागि एक दिनअघिको सन्ध्याकालमा सामूहिकरूपमा फूल खोज्न निस्कने विधिलाई ‘फूललोढी’ भन्ने गरिएको छ । पर्वमा भगवान् शङ्कर र देवी गौरीलाई बासी फूल चढाउने चलन छ ।

पर्व अवधिमा प्रत्येक दिन सूर्यास्त हुनपूर्वको बेलामा प्रणयगान गाउँदै विशेष वस्त्र परिधानमा सजिएका मैथिल नवयौवना फूल खोज्ने विधिका लागि निस्कन्छन् । ‘भर्खरै विवाहित जोडिको प्रणय सम्बन्ध प्रगाढ बनाउने उद्देश्यभित्रको पर्वको ‘फूललोढी’ विधिमा निस्केका मिथिलानीको त्यही विषय भाव समेटिएका गीतले आफ्ना सबै गुमाएको वा छोडेको फुटपाथेलाई पनि रोमाञ्चित गराउँछ’, जलेश्वर नगरपालिका-४ सुगाभवानीपट्टिका मैथिली लोक परम्पराका ज्ञाता ८० वर्षीय कृष्णचन्द्र झा भन्छन्, ‘गीतका शब्द र भावले शिष्टता नाघेको भान हुँदैन ।’ गीत बर्तालुको प्रणय सम्बन्ध प्रगाढ होस् भन्ने सलल बगेको भाव अत्यन्त कर्णप्रिय लाग्ने उनको भनाइ छ ।

वर्षायाम प्रगाढ प्रणय सम्बन्धलाई अपिल गर्ने मौसम मानिन्छ। वनमा रमाउने मयूर पनि यसै मौसममा प्रणय सम्बन्धमा लिन हुन्छन् । यस्तो बेला नवविवाहिता जोडीबीच रतिरागदेखि भावात्मक रुपमा एकाकार गराउनु पर्वको मुख्य पक्ष रहेको मिथिला संस्कृतिका जानकार बताउँछन् । यसैले यो पर्व नवविवाहिताका लागि खास हुने गरेको छ ।

पर्वमा नवविवाहिता मिथिलानी यौवनाको सखीहरूबीच भर्खरै सुरु भएको दाम्पत्य जीवनका कौतुहलता, पतिले देखाउने वास्ता र रतिरागसम्मका अनुभव साटासाट हुन्छन् । ‘बेहुली भएर पति घर गएदेखि मधुश्रावणी मनाउन माइत आएबीचका अन्तरंग अनुभव बर्तालुुले सुनाउँदा विवाहयोग्य सखीको कौतुहलताको मापन के होला?’ राय भन्छिन्, ‘यो कुराको अनुमानले मात्र पनि जो-कसैलाइ रोमाञ्चित बनाउँछ ।’

पहिले मिथिलाका ब्राह्मण, कायस्थ, देव र सोनार जातिका महिलाले मात्र मनाउने यो पर्व अब साझा भइसकेको छ । पतिघरबाट आएका सामग्री प्रयोग गरेर माइतमा मनाइने यो पर्व मिथिला लोकसंस्कृतिको अभिन्न अंग नै बनेको मिथिलानी बताउँछन् । पर्वमा शिव, पार्वती (मधुश्रावणी व्रत विधानमा पार्वतीलाई गौरी नाम दिइएको छ) र विषहराको पूजा आराधना गरेपछि बर्तालुलाई ज्येष्ठ महिलाले मधुश्रावणी कथा सुनाउँछन् । यिनमा पौराणिक गाथामा आधारित मैना पञ्चमी, विषहरि, विहुला, मनसा, मङ्गला गौरी, पृथ्वीको जन्म, समुद्र मन्थन र सतीको कथा हुन्छन् ।

पर्वको मुख्य पक्ष नै नारी जीवनमा पतिप्रतिको स्नेह र सम्बन्ध प्रगाढ बनाउन केन्द्रित रहेकाले यससँग जोडिएर आउने ठट्यौली र हासपरिहासले पर्वको महत्ता उज्यालिएको पाका मिथिलानी बताउँछन् । प्राचीन वैदिक ग्रन्थ शिव पुराणमा कुष्ठरोग भएका आफ्ना पतिलाई ठिक गराउन मधुश्रावणी नाउँकी नवविवाहितालाई शिवले यो व्रत गर्न लगाएका प्रसंग छ । शिवको आज्ञाअनुसार मधुश्रावणीका पति ठिक भएपछि पति कल्याण र आपसी सम्बन्ध प्रगाढताको कामना राखिने यो पर्व परम्परा चलेको विश्वास छ ।

बर्तालुले श्रावण कृष्ण चतुर्थीका दिन पवित्र स्नान गरेर चोखोनितो बनेपछि व्रत संकल्प गर्छन् । व्रत अवधिभरि मन पवित्र बनाएर सात्विक भोजन गर्नुपर्ने विधान छ । सधैँ दिउँसोपछि सूर्यास्त हुनपूर्व सखीसहेलीका साथ हाँस्दै र प्रणयभावका गीत गाउँदै ‘फूललोढी’मा निस्कनु र सङ्कलन गरिएका बेलपत्र र विभिन्न जातका फूल राति बासी राखेर भोलिपल्ट त्यसैले शिव, पार्वती र विषहराको पूजा आराधना गरेर कथा श्रवण गर्नु पर्वअवधिको दैनिक तालिका हो । बर्तालुले सधैँ बिहान पवित्र स्नान गरेर पूजाआराधना गरेर कथा श्रवण गरेपछि सात्विक भोजन गर्छन् । पर्वमा अटल सौभाग्यकी देवी मानिने गौरीको पूजाआराधनाका लागि छुट्टै नैवेद्य बनाउने चलन पनि छ ।

माइतमै बसेर मनाइने भए पनि पर्वमा नवविवाहिताका लागि व्रतअवधिको खाद्यान्न, वस्त्रपरिधान, बर्तालुका शृङ्गार प्रशाधन, पूजा सामग्री र अन्य पर्वविशेषका आवश्यक वस्तु पतिघरबाटै पुर्‍याउनुपर्ने चलन छ । माइतीघरको आँगन वा अन्य सुरक्षित ठाउँमा बनाइएको खास मण्डप (अरिपन) मा बसेर त्यहीँ देवता स्थापना गरेर यो पर्व मनाइन्छ । कूलदेवताको स्मरण गरेर सुरु गरिएको पूजा आराधनामा प्रत्येक दिनको पूजापछि माइती घरका ज्येष्ठ महिला सदस्यबाट बर्तालुले आशीर्वाद लिन्छन् ।

पर्व १३औँ दिन समापन गरिन्छ। समापन भएपछि दिनहुँ पूजा गरिएका बेलपत्र र फूल सङ्ग्रह गरेर पवित्र नदी वा तलाउमा विसर्जन गर्ने चलन छ । यसअघि १२ औँ दिन साँझ पूजाअर्चनापछि बर्तालुुलाई ‘टेमी’ दिने गरिन्छ । दियोमा बालिने बत्तीको लप्कोले बर्तालुुको देब्रे गोडाको घुँडामा डाम्ने विधिलाई ‘टेमी’ भन्ने गरिएको हो । ‘टेमी’ दिइएको ठाउँमा फोका उठे पति पत्नीबीच प्रेमसम्बन्ध अत्यन्त गाढा हुने विश्वास गरिन्छ ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ९ : ३३ बजे

हिउँले सेताम्मे मनाङका मतदान केन्द्र

मनाङ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको मिति

कोकाकोला फाउन्डेसनसँगको सहकार्यमा क्रिएसनद्वारा ‘३ सफा गरौँ’ अभियानको शुभारम्भ

काठमाडौं । क्रिएसन नेपालको आयोजनामा दि कोकाकोला फाउन्डेसनको सहयोगमा सञ्चालन

स्थानीयतहमा अर्घाखाँचीको पाणिनि गाउँपालिका देशभरिकै अब्बल (सूचीसहित)

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको स्थानीय

एक करोड ५७ लाख ७८ हजार मतपत्र छपाइ

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

भदौ २४ गते राष्ट्रपतिलाई समेत ढालेर कठपुतली सरकार बनाउने षड्यन्त्र भएको थियो : प्रचण्ड

बागलुङ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान निर्वाचनलाई