६ असार २०८३, शनिबार | June 20, 2026

स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै



काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने अन्य देशका पर्यटकलाई सहजीकरण गर्न ‘अनलाइन’ सेवा सुरु गरेको छ ।

अर्थ मन्त्रालय मातहतको भन्सार विभागले स्थलमार्ग भएर नेपाल भित्रिने विदेशी सवारीसाधनले अनलाइनबाटै विवरण भर्न र राजस्व तिर्न सक्ने प्रणाली विकास गरेर सञ्चालनमा ल्याएको हो । उक्त प्रणालीको एक कार्यक्रमबीच अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शुभारम्भ गरे ।

नयाँ प्रणाली सञ्चालनमा आएसँगै अब नेपालमा सवारीसाधन लिएर भित्रिने भारतीय पर्यटक तथा तेस्रो मुलुकका पर्यटकले अनलाइनबाटै आफ्नो विवरण र राजस्व तिर्न सक्नेछन् । यसअघि भन्सार नाकामा आएर यस्ता सवारीसाधनले भौतिक रूपमा अस्थायी इजाजत लिनुपर्ने व्यवस्था थियो ।

साथै, नेपाल यात्राकै क्रममा यात्रा अवधि सकिए नवीकरणका लागि भन्सार नाकामै पुग्नुपर्ने वा जरिवाना तिर्नुपर्ने अवस्था थियो । तर, नयाँ अनलाइन प्रणाली सुरु भएसँगै अब नेपाल भित्रिने पर्यटकले आफ्नो सवारीसाधनको इजाजतपत्र घरैबाट अनलाइनमार्फत भरेर अनलाइनबाटै पैसा तिरेर बिना झन्झट नेपाल घुम्न आउन सक्छन् । नयाँ अनलाइन सहजीकरण सेवाको शुभारम्भ गर्दै अर्थमन्त्री डा वाग्लेले सीमा क्षेत्रमा पर्यटकले पाउने सास्ती अब हट्ने बताए ।

“सरकारले अनुसरण गरेको सुशासन र छरितो गुणस्तरीय सार्वजनिक सेवा दिने घोषणा कार्यान्वयनका क्रममा यो कार्य सुरु गरिएको हो,” अर्थमन्त्री डा वाग्लेले भने, “पर्यटकलाई कुनै कठिनाइ नहोस् । सरकारी सेवा छिटो र छरितो होस् भन्ने हामी चाहन्छौँ ।”

नयाँ प्रणाली सुरुआत गर्दै भन्सार विभागका महानिर्देशक श्यामप्रसाद मैनालीले नेपाल भित्रिने पर्यटक बोकेका विदेशी सवारीसाधनको इजाजत अब ‘डिजिटल’ भएको बताए । उनका अनुसार अब नेपाल प्रवेश गर्ने यात्रु तथा पर्यटकले प्रयोग गर्ने विदेशी सवारीसाधनसम्बन्धी विवरण अनलाइनमै स्वयं घोषणा गर्न सक्नेछन् । जसले प्रक्रिया थप पारदर्शी र प्रभावकारी बनाउनेछ ।

नेपाल सरकारलाई तिर्ने राजस्व पनि त्यस्ता पर्यटकवाहक सवारीले अनलाइनबाटै वा बैङ्क काउन्टरबाट तिर्न सक्छन् । अनलाइनबाट पैसा तिरेका गाडीले भन्सारमा आफ्नो ‘इमेल’मा प्राप्त ‘क्यूआर कोड’ देखाएरै नेपाल छिर्न सक्ने उनको भनाइ छ । यसरी प्राप्त हुने क्यूआर बोकेर पर्यटकवाहक सवारी आफ्नो गन्तव्यमा पुग्नसक्ने विभागले जनाएको छ ।

विभागका अनुसार यस्ता सवारीसाधनले आफ्नो यात्रा अवधि सकिएको खण्डमा पनि आफू रहेको नेपालस्थित ठेगानाबाट अनलाइनमार्फत नै यात्रा अवधि थप गर्न सक्नेछन् । यो सबै सेवा लिनका लागि भन्सार विभागको ‘वेबसाइट’मा गएर हाम्रा सेवाहरू शीर्षकमा रहेको टिआइभी शीर्षकमा ‘क्लिक’ गर्नुपर्छ र त्यसबाट भित्र रहेको विवरण अनलाइनबाट भर्न सकिन्छ ।

सबै विवरण अद्यावधिक गरिसकेपछि अन्तिममा ग्राहकलाई विवरण सबै खुल्ने क्यूआरकोड प्राप्त हुुन्छ । सोको आधारमा आफूले तिर्नुपर्ने शुल्क तिरेर सवारीसाधनहरू नेपाल भित्रिन सक्छन् । नेपालभरका सडकमा त्यस्ता सवारीले सोही क्यूआर कोड देखाएको खण्डमा यात्रा गर्न पाउँछन् ।

विभागका अनुसार नेपाल राष्ट्रिय एकद्वार प्रणालीमार्फत नेपाल भित्रिने विदेशी नागरिकहरूलाई सहजता प्रदान गर्न अस्थायी सवारी आयात (टिआइभी) ‘मोड्युल’ विकास गरिएको हो ।

तत्कालका लागि यो सेवा नेपाल भित्रिने भारतीय तथा तेस्रो देशका पर्यटकले प्रयोग गर्ने सवारीसाधनका लागि लागू गरिएको भन्सार विभागले स्पष्ट पारेको छ । हाललाई चिनियाँ नाका भएर स्थलमार्गबाट चिनियाँ सवारीसाधनसहित पर्यटक आउने नगरेको र आएको खण्डमा उनीहरूका हकमा पनि यो सेवा रहेको विभागले जनाएको छ । तत्कालका लागि यो सेवाबाट भारत र बङ्गलादेशका पर्यटक लाभान्वित हुने विश्वास विभागको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  ९ : २० बजे

‘बर्ड फ्लु’ सङ्क्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा

काठमाडौँ । सदर चिडियाखाना जावलाखेलमा ‘बर्ड फ्लु’ (एच फाइभ एन

ठाउँठाउँमा भारी वर्षा, तराईमा तातो

काठमाडौँ । पछिल्लो केही दिनदेखि मौसममा बदली भई वर्षा बढ्न

आईएमई लिमिटेडको ‘ब्रान्ड एम्बेसडर’ मा प्रकाश सपुत नियुक्त

काठमाडौ । आईएमई लिमिटेडले गायक प्रकाश सपुतलाई आफ्नो सांगीतिक ‘ब्रान्ड

रास्वपा महाधिवेशन : चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को यहाँ हुने प्रथम राष्ट्रिय

महाधिवेशनले रास्वपालाई नयाँ ऊर्जा दिनेछ : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको