२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

‘फास्ट ट्र्याक’मा नागरिकता विधेयक



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि प्रतिनिधि सभामा फिर्ता पठाइएको विधेयक फास्ट ट्र्याकमा अघि बढ्ने भएको छ । राष्ट्रपतिबाट विधेयक फिर्तासम्बन्धी जानकारी प्रतिनिधि सभामा मङ्गलबार पेस भइसकेको छ ।

सत्ता गठबन्धनले समेत फिर्ता पठाइएको विधेयकको प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरिसकेको छ । दलहरूसँगको परामर्शका आधारमा संसद् सचिवालयले भदौ २ गतेको बैठकमा विधेयक अघि बढाउने तयारी गरेको छ । सम्भवतः भदौ २ गतेको बैठकमा विधेयकको प्रक्रिया अघि बढ्नेछ ।

सत्तारूढ दल नेपाली कांग्रेसका संसदीय दलका सचेतक मीन विश्वकर्माले विधेयक चाँडो टुङ्ग्याउने दलहरूकै निर्णयअनुसार अघि बढ्ने बताए । उनले भने, “चाँडो टुङ्गोमा पु(याउनुपर्ने अवस्था छ । दलहरूको निर्णय पनि त्यही छ । आउँदो बैठकबाट अघि बढ्न सक्छ ।”

तर प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले भने विधेयक फिर्तापछि कसरी अघि बढाउने भन्नेमा औपचारिक रूपमा आफूहरूसँग कुनै परामर्श नभएको जनाएको छ । संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने, “हामीसँग यसबारे औपचारिक परामर्श भएको छैन ।”

यसअघि पनि नागरिकता विधेयकको प्रक्रिया फास्ट ट्र्याकमा नै अघि बढेको थियो । विधेयक दफावार छलफल समितिमा नपठाई सदनमै भएको थियो । पारितका अन्य प्रक्रिया भने यथावत् राखिएको थियो । राष्ट्रिय सभामा पनि विधेयक समितिमा नपठाई छलफल गरेर पारित गरिएको थियो ।

अब विभागीय मन्त्रीले विधेयकको पुनर्विचारका विषयमा सदनमा प्रस्ताव गर्नुपर्ने छ । त्यसरी प्रस्ताव गर्दा विधेयकमा सदनमै वा समितिमा पठाएर छलफलको प्रस्ताव हुनेछ । संसद्ले विधेयकलाई यथास्थितिमा वा परिमार्जन गरेर पठाउन सक्नेछ । प्रतिनिधि सभाको प्रक्रिया पूरा भएपछि विधेयक राष्ट्रिय सभामा जानेछ । दुवै सदनबाट पारित विधेयक प्रमाणीकरणका लागि पेस भएको १५ दिनभित्र प्रमाणीकरण हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

दुवै सदनबाट पारित भई साउन १५ गते प्रमाणीकरणका लागि पठाइएको थियो तर विधेयक प्रमाणीकरण नगरी राष्ट्रपति भण्डारीले केही व्यवस्थामा ध्यानाकर्षण गराउँदै पुनर्विचारका लागि फिर्ता पठाएकी थिइन । फिर्तामा सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूको मिश्रित प्रतिक्रिया हुँदा प्रमुख प्रतिपक्ष दल एमालेले भने स्वागत गरेको छ ।

राष्ट्रपतिले विधेयकमा संविधान अनुकूलका धेरै विषय छुटेकोमा प्रश्न गरेकी छिन । संविधानको धारा १० (२) मा प्रादेशिक पहिचानसहितको नागरिकताको व्यवस्था भए पनि विधेयकमा सम्बोधन नभएको सन्देशमा उल्लेख छ । फिर्ता सन्देशमा विधेयक अपूरो भएको तर्फ पनि ध्यानाकर्षण गराइएको छ । संविधानमा उल्लेखित सबै प्रकारका अङ्गीकृत नागरिकता, सम्मानार्थ नागरिकताको प्रावधान सङ्घीय कानुनबमोजिम हुनु आवश्यक भए पनि ती सबै विषय विधेयकमा समेटिन नसकेको तर्फ पनि राष्ट्रपतिको ध्यानाकर्षण छ ।

वर्तमान संविधानअन्तर्गतको पहिलो नागरिकता कानुन हुने भएकाले संविधानअनुसारका व्यवस्थापन गर्नुपर्ने विषय समेटिनुपर्ने राष्ट्रपतिको सन्देशमा छ । वैवाहिक अङ्गीकृत नागरिकताको सवाल अहिलेकै अभ्यास उपयुक्त भएमा साझा धारणा बनाउन तथा अन्य मुलुकको अनुसार परिमार्जन आवश्यक भएमा परिमार्जन गर्न ध्यानाकर्षण गराइएको छ ।

लैङ्गिक समानताका दृष्टिले पनि विधेयकमा सुधारका ठाउँ रहेको सन्देशमा उल्लेख छ । आमाको नामबाट नागरिकता लिने व्यवस्थामा संविधानअनुसार थप विषय समेट्न सकिने पनि सन्देशमा सुझाइएको छ । नागरिकता कानुन तर्जुमा एकल मातृत्वको विषयलाई पनि ध्यान दिइनुपर्ने राष्ट्रपतिको सुझाव छ ।

प्रजनन र मातृत्वलाई आमाको मौलिक हक मानेपछि नागरिकताका लागि खोजी गरिने बाबुको स्वघोषणा संविधानसँग अनुकूल नहुने भएकाले पुनर्विचार गर्न सन्देशमा सुझाइएको छ ।

यस्तै प्रतिनिधि सभाको मङ्गलबारको बैठकले यसअघि गणपूरक सङ्ख्या नपुगेपछि रोकिएको सार्वजनिक ऋण व्यवस्थापन विधेयक पारित गरेको छ ।

पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक पनि पारित भएको छ । यस्तै स्ट्यान्डर्ड नाप तथा तौल विधेयक पनि पारित भएको छ ।
आजको गोरखापत्र दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ७ : १६ बजे

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु

नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा