१० चैत्र २०८२, मंगलबार | March 24, 2026

रात्रिकालीन व्यवसाय मापदण्ड स्वीकृत, बुटवल-भैरहवामा  रात्रिकालीन व्यवसाय गर्ने बाटो खुल्यो



बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले ‘रात्रिकालीन होटेल तथा मनोरञ्जनात्मक व्यवसाय सञ्चालन सम्बन्धी मापदण्ड, २०७९’ तयार गरेको छ । यससँगै भैरहवा, बुटवल तथा आसपासका क्षेत्रमा रात्रिकालीन व्यवसायको बाटो खुलेको छ ।

व्यवसायीहरूको लामो समयको मागपछि रुपन्देहीमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने वातावरण तयार भएको हो । द्वन्द्वकाल सुरक्षाको कारण देखाउँदै बन्द गरिएका रात्रिकालीन व्यवसाय लामो समयपछि सञ्चालनमा आउने भएपछि यस क्षेत्रका व्यवसायीहरू उत्साहित देखिएका छन् ।

खरबौँको लगानी रहेको भैरहवा तथा यस आसपासमा होटेलहरूले आफ्ना पाहुनाहरूलाई साँझ पर्नासाथ सुताउन बाध्य रहेका थिए । यो निर्णयसँगै बजारमा चहलपहल बढ्ने आशा बढेको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मापदण्डमा रहेर रात्रिकालीन व्यवसाय सञ्चालन गर्न सक्ने सूचना प्रकाशन गरेको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले व्यवसायीहरूले अब रात्रिकालीन व्यवसाय सञ्चालनको लागि निवेदन दिन सक्ने जानकारी दिए । उनले मापदण्डले निर्दिष्ट गरेको सूचकको आधारमा निवेदन दिएकालाई व्यवसाय सञ्चालनको अनुमति दिन सकिने बताए ।

तयार भएको मापदण्डमा जिल्लामा होटेल तथा मनोरञ्जनात्मक व्यवसाय सञ्चालन गर्ने व्यवसायीले व्यवसायको प्रकृति अनुसार अधिकार प्राप्त निकायमा दर्ता गरी व्यवसाय सञ्चालन गरेको हुनु पर्ने पहिलो सर्त तोकेको छ । दर्ता भएका व्यवसाय रात्रिकालीन समयमा सञ्चालनको लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीसँग अनुमति लिनु पर्नेछ । व्यवसायीले जिल्ला प्रशासन कार्यालयमा रातीमा व्यवसाय सञ्चालनको लागि अनुमति मागे स्थलगत अनुगमन गरी रातीको समय तोकी सञ्चालन अनुमति दिन सक्ने व्यवस्था रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए ।

तर यसरी रात्रिकालीन व्यवसाय सञ्चालन गर्दा सदाचार र नैतिकताको आधारभूत मूल्य मान्यता प्रतिकुल नहुने गरी सञ्चालन गर्नु पर्ने प्रशासनको सर्त रहेको छ । यसको लागि प्रशासनले डिस्को, डान्स रेस्टुरेन्ट एण्ड बार, लाइभ ब्याण्ड, पब, बार क्लब लगायतमा १८ वर्ष मुनिका बालबालिकाको प्रवेश निषेध गरेको छ ।

यस्तै सेवाग्राहीले अनुरोध गरेमा व्यवसाय स्थलबाट घर सम्म पुर्‍याउन व्यवसायीले सशुल्क सवारी साधनको व्यवस्था गर्ने लगायतका नियम रहेका छन् ।

रात्रिकालीन व्यवसाय सञ्चालनको निर्णय सकारात्मक रहेको यहाँका होटेल व्यवसायीहरूले प्रतिक्रिया दिएका छन् । सिद्धार्थ होटेल संघका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले यसले यस क्षेत्रको समग्र पर्यटकीय चहलपहल बढाउने बताए । ‘हाम्रो मुख्य बजार भनेको भारत हो, अब भारत लगायतका देशमा भैरहवामा राती पनि होटेल सञ्चालन हुन्छ भन्ने सन्देश जानेछ,’ श्रेष्ठले भने, ‘यसले लुम्बिनी आउने धार्मिक पर्यटक मात्र नभई, रमाइलो गर्न आउने अन्य पर्यटकलाई पनि आकर्षित गर्नेछ ।’

उनले यस क्षेत्रको प्रवर्द्धनको लागि अब निजी क्षेत्रले पनि सोही अनुसारको प्रचार प्रसार गर्न आवश्यक रहेको बताए । यो निर्णयले यो क्षेत्रमा रहेका ८९ वटा स्तरीय होटेल, १५० बढी अन्य होटेल तथा ६ वटै क्यासिनोलाई सहयोग पुग्ने उनको भनाई छ । भैरहवाको मुख्य पर्यटक भारतीय रहेको र अहिले पनि सीमा १० बजे राती नै बन्द हुने गरेको कारण यसले केही अप्ठ्यारा पनि रहेको श्रेष्ठको भनाई छ ।

प्रकाशित मिति : २३ भदौ २०७९, बिहिबार  ६ : १० बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण