पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले निर्वाचनअघि नेकपा माओवादी केन्द्रसँग कार्यगत एकता हुने बताएका छन् । समाजवादी प्रेस सङ्गठनले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले निर्वाचन अघि पार्टी एकता सम्भव नभएको बताए ।
उनले आसन्न निर्वाचनमा दुई पार्टीको एउटै घोषणापत्रसहित चुनावी तालमेल हुन सक्ने बताउँदै आफु सधैं बाम गठबन्धन र कम्युनिष्ट एकताको पक्षमा रहेको स्पष्ट पारे । “विगतको निर्वाचनमा माओवादी र एमाले साझा घोषणापत्र बनाएर चुनावमा गएका हुन्, अहिले पनि समाजवादी र माओवादी एउटै घोषणापत्र लिएर जान कुनै समस्या छैन ।” उनले भने । उनले केही वाम घटकका नेतृत्वमा रहेका नेताहरुले कम्युनिष्ट एकतामा रुचि नदेखाएको पनि उनले बताए ।
सत्ता गठबन्धनका दलकाबीच चुनावी तालमेलमा सिट बाँडफाँटमा ९० प्रतिशत सहमति भएको खुलासा गर्दै उनले ढिलोमा आगामी आइतबारसम्म सबैकुरा टुङ्गो लाग्ने बताए । नेता खनालले आगामी निर्वाचनमा राष्ट्रियताका लागि लड्ने उम्मेदवारलाई विजयी गराउनुपर्ने पनि बताए ।



















प्रतिक्रिया