खोटाङ । खोटाङमा स्थानीय तहको निर्वाचनको तुलनामा आगामी मङ्सिर-४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा मतदाता सङ्ख्या नौ सय ६० घटेको छ ।
गत वैशाख-३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एक लाख ४३ हजार सात सय ५२ मतदाता रहेको जिल्लामा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा एक लाख ४२ हजार सात सय ९२ मतदाताले मात्र मतदान गर्न पाउने भएका छन् ।
आसन्न निर्वाचनमा पुरुष ७४ हजार सात सय २७ र महिला ६७ हजार आठ सय ६५ मतदाताले मताधिकार प्रयोग गर्ने जिल्ला निर्वाचन कार्यालय खोटाङले जनाएको छ । गत असार-१ गतेदेखि साउन-१९ गतेसम्म सञ्चालन गरिएको मतदाता नामावली सङ्कलन अभियानमा एक हजार दुई सय ७५ नयाँ मतदाता थप हुँदा पनि मतदात सङ्ख्या घटेको हो ।
मृत्यु भएका, बसाइँ सरेका र दोहोरो नाम भएका मतदाताको लगत कटाइएका कारण स्थानीय तहको निर्वाचनमा कायम रहेको मतदाता सङ्ख्या घटेको जिल्ला निर्वाचन कार्यालय खोटाङका सूचना अधिकारी लोकेन्द्र राईले जानकारी दिए ।
करिब सात सय मतदाता बसाइँ सरेको, चार सयको हाराहारीमा मृत्यु भइसकेका र एक हजारको हाराहारीमा दोहोरो नाम भएका मतदाताको नाम हटाइएको कार्यालयले जनाएको छ ।
एकजना प्रतिनिधिसभा र दुईजना प्रदेशसभा सांसदको लागि मतदान हुने खोटाङमा एक सय ३६ मतदानस्थल र एक सय ९४ मतदान केन्द्र रहेका छन् । जिल्लाका विभिन्न पालिकाबाट चारवटा मतदानस्थल थप गर्ने प्रस्ताव आए पनि प्राविधिक कारणले नयाँ मतदानस्थल थप गर्न नसकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
यसैबीच, आगामी निर्वाचनका लागि आफूलाई टिकट दिन माग गर्दै जिल्लाका नेता राजधानी काठमाडौं पुगेका छन् । जिल्ला पार्टी समितिको बैठकबाट आ–आफ्नो नाम लेखाएर सिफारिस गराएका नेताहरु अहिले टिकटका लागि काठमाडौँस्थित केन्द्रीय नेताहरुको घरदैलोमा धाउनेक्रम जारी छ ।
दश स्थानीय तह रहेको जिल्लामा सत्ता गठबन्धनमा आवद्ध चार राजनीतिक दल र नेकपा ९एमाले० एक्लैबीच प्रतिस्पर्धा हुने देखिएको छ । सत्ता गठबन्धनमा आवद्ध चार राजनीतिक दल नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, जनता समाजवादी पार्टी ९जसपा० र नेकपा ९एकीकृत समाजवादी० चुनावी तालमेलको गृहकार्यमा देखिएका छन् ।


















प्रतिक्रिया