बुटवल । तपाईहरु मध्ये कतिजनालाई पढ्न रहर छ हात उठाउनुस त ? हलमा खचाखच भएका सबैको हात उठ्छ । हामी पढ्न चाहान्छौ , एउटै स्वर हलमा गुन्जिन्छ ।
हुन्छ म तपाँईहरुलाई शिक्षा दिलाउने वाताबरण बनाउँछु,तपाँइ सबै पढ्न मन हुनेले सेतो गुराँस बालबिकासको कार्यलयमा पुगेर नाम टिपाउनुस , अनि म संगै बुटवल उपमहानगरपालिकामा बसेर छलफल गरौंला ।
सबैकिशोरी खुशी हुन्छन्, तालीको गडगडाहट हुन्छ । बुधबार यो संवादमा सहभागी भएका हुन्, बुटवल उपमहानगरपालिकाका उप प्रमुख साबित्रादेवि अर्याल र बुटवल उपमहानगरपालिका भित्र रहेका किशोरी आमा बिचको । अर्याललाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएको थियो ,बोल्ने पालो आयो ,सामान्य औपचारिक सम्बोधन हुने बित्तिकै उप प्रमुख अर्यालले मन्चबाट यि कुराहरु सोधेकी थिइन् ।
बुटवलमा किशोरी आमा कोही बाध्यतामा परेर होलान केही अशिक्षाको कारण होलान भन्ने लागेको थियो यति धेरै किशोरी आमाहरु देख्दा दुख लागेको चिन्ता ब्यक्त गर्छु अर्यालले भनिन् र थपिन् म तपाईहरुलाई शिक्षा संगै सीप सिकाउने प्रयत्नमा रहनेछु । बुधबार सेतो गुराँस बाल विकास सेवा रुपनदेहीको आयोजना र किडासा पोखराको सहयोगमा बुटवलमा आयोजना गरिएको ब्यबहारिक तथा उपयोगी सीपको १० महिने कक्षामा सहभागी विद्यालय बाहिर रहेका किशोरीहरुलाई प्रमाणपत्र वितरण तथा दीक्षान्त समारोहमा बोल्दै उपप्रमुख अर्यालले छिटो भन्दा छिटो किशोरीहरुलाई शिक्षा र सीप संग जोड्ने बताएकी हुन । भन्दा अचम्म लाग्न सक्छ, देख्दा मन कुडिन सक्छ । आर्थिक समृद्धिको बाटोमा हिडिरहेको बुटवल उपमहानगरपालिका भित्रै ठुलो संख्यामा किशोरी आमाहरु छन्, जो सानैमा बालविवाह गरे, सानैमा आमा बने, जिम्मेवारी थपियो, आर्थिक भार थपियो । तर न हातमा सीप छ, न शिक्षा नै त्यसैले उनीहरु पढ्न चाहन्छन् ।
किडासा पोखराको आर्थिक सहयोगमा सेतो गुरास बालबिकास सेवा रुपन्देहीले आयोजना गरेको १० महिने कक्षामा सहभागी विद्यालय बाहिर रहेका २ सय ७५ किशोरीहरुलाई प्रमाणपत्र वितरण तथा दिक्षान्त गरिएको हो । उनीहरु सबै किशोरी आमाहरु हुन् ।
कार्यक्रममा सम्बोधन गर्दै अर्यालले बालबिवाह रोक्न सबैको खबरदारी जरुरी रहेको बताईन । शिक्षा र स्वस्थ्यको विषयमा सचेत हुन आग्रह गर्दै उनले शिक्षा र सीप सिकाउन सहयोग गर्ने प्रतिवद्घता जनाईन ।
सेतो गुरासकी कार्यकारी निर्देशक सुमित्रा शर्माले किशोरीहरुलाई ब्यवहारिक रुपमा एक चरणको सिकाई सकेको बताईन । नगरभित्र शहरी क्षेत्रमा किशोरीहरुको अवस्था हेर्दा धेरै नै जटिल देखिएको भन्दै उनले यसमा ३ तहकै सरकारबाट आवश्यक पहल गर्न सुझाव दिईन । दिक्षान्तसंगै थप ज्ञानहरु सिक्न अग्रसर गराउन यसले थप मद्दत मिलेको उनले बताईन ।

कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका अधिकृत कमला पौडेल, बुटवल उपमहानगरपालिका वडा न ११ का कार्यवाहक अध्यक्ष युवराज राना, सामाजिक विकास महाशाखा प्रमुख भुवाप्रसाद लुईटेल, गुरासका उपाध्यक्ष ओमीकला गाहा पुन, गुरासका सचिव मन्जु श्रेष्ठले शहरी क्षेत्रमा गरिबी, अशिक्षाकै कारण धेरै समस्याहरु देखिने गरेको बताए ।
सेतो गुरासका अध्यक्ष सकुन्तला पुनले वडा नं २, वडा नं ५, वडा न ११ मा ११ वटा केन्द्र मार्फत कक्षा संचालन गरिएको बताईन । किशोरीहरुलाई तालिम पछि दिक्षान्त गरेर पहिलो खुट्किलो चढाउने काम भएको भन्दै थप कार्यक्रमसमेत गर्ने उनले बताईन ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका न्यायिक समिति सदस्य गौतमलाल शाक्य ,किडासा पोखराका कार्यक्रम अधिकृत सचिन शाक्य,हेलेन केलर इन्टरनेशनल सुआहारका कार्यक्रम उत्पादक किस्मती चौधरी, लायन्स क्लब बुटवलका अध्यक्ष मेनुका श्रेष्ठ ,जिल्ला बाल अधिकार समन्वय समितिका सदस्य सक्सेस राना किशोरी सुननदा परियार लगायतले बोल्दै किशोरी अवस्थामा बिबाह भएका किशोर र किशोरीहरुको आर्थिक उपार्जन हुने खालका कार्यक्रम र योजना ल्याउनुपर्नेमा जोड दिएका थिए ।
संस्थाका कोषाध्यक्ष उमा भण्डारी, सदस्य यज्ञमुर्ति गैरे, कमल न्यौपाने, गोमती सुनार, नगर बाल सञ्जालका प्रबेश श्रेष्ठ लगायतको सहभागिता रहेको कार्यक्रम सेतो गुराँस बालविकास सेवा रुपन्देहीका अध्यक्ष सकुन्तलादेबि पुनको अध्यक्षता, बुटवल उपमहानगरपालिकाका उप प्रमुख साबित्रादेवि अर्यालको प्रमुख आतिथ्यता र सामाजिक परिचालक संगिता जिआरको सञ्चालनमा सम्पन्न भएको थियो ।



















प्रतिक्रिया