२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

सरकारले काम गरिरहेको छ, गौतमबुद्ध विमानस्थल चाँडै चल्छ : सांसद अग्रवाल



भैरहवा । प्रतिनिधि सभा सदस्य पुनमकुमारी अग्रवालले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकार निकै सकारात्मक ढंगले अगाडि बढिरहेको बताएकी छन् । संसदको शून्य, विशेष तथा आकस्मिक समयमा आफुले निरन्तर गौतमबुद्ध विमानस्थलको पक्षमा आवाज उठाउँदै आएको उल्लेख गर्दै उनले विमानस्थलका विषयमा फैलाइएका नकारात्मक भ्रम र आशंकाहरुलाई चिरेर अघि बढ्नुपर्नेमा जोड दिइन् ।

शनिबार भैरहवास्थित चेम्बर अफ कमर्स, रुपन्देहीको सभाहलमा आयोजित निजी क्षेत्रका प्रतिनिधि र पर्यटन व्यवसायीहरुसँगको छलफलमा सांसद अग्रवालले जसरी हुन्छ, विमानस्थल संचालन भएरै छाड्ने जनाउँदै त्यसमा सरकार लागिपरेको दावी गरिन् । ‘सरकारले आवश्यक आन्तरिक तयारी गरिरहेको छ । यसमा यहाँहरुको जनप्रतिनिधिको हिसावले संसद बैठक, मन्त्रालय, विभाग, विभिन्न कुटनीति नियोगहरुमा मैले पनि पहल गरिरहेकी छु । सबैभन्दा महत्वपूर्ण कुरा सरकारले आन्तरिक रुपमा तयारी गरिरहेको छ’, रास्वपा सांसद अग्रवालले भनिन्, ‘त्यसैले विमानस्थल छिट्टै पूर्णरुपमा सञ्चालनमा आउनेछ भन्ने मेरो विश्वास छ ।’

सरकारले निरन्तर पहल र तयारीकै कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको जनाउँदै उनले गौतमबुद्ध विमानस्थल पनि अवश्य सञ्चालन हुन्छ भन्ने आश्वस्त हुन निजी क्षेत्रका प्रतिनिधि र पर्यटन व्यवसायीहरुलाई आग्रह गरिन् । ‘विगतमा के भयो, कसले के गर्यो र कहाँ चुक्यौँ भन्नेतिर अल्झिनुभन्दा अब कसरी अगाडि बढ्ने भन्नेमा ध्यान केन्द्रित गर्नुपर्छ,’ उनले भनिन्, ‘केही ढिलाइ पक्कै भएको हो, तर यो विमानस्थल जसरी पनि चल्छ । यही सरकारले चाँडै नै चलाउँछ ।’ विमानस्थल नचल्दासम्म आफूले आवाज उठाइरहने जनाउँदै यसका लागि सबैको पहलकदमी उत्तिकै आवश्यक रहेको सांसद अग्रवालको भनाई छ ।

विमानस्थल संचालन प्रक्रियालाई तीव्र बनाउन निजी क्षेत्र विभाजित नभई एकताबद्ध भएर उभिनुपर्ने बताउँदै उनले त्यसका लागि आफू निजी क्षेत्रसँग हातेमालो गर्न सदैव तयार रहने प्रतिबद्धता व्यक्त गरिन् । विमानस्थल संचालनमा नआउँदा निजी क्षेत्रले व्यहोर्नुपरेको आर्थिक मर्का र समस्याप्रति आफू पूर्णरुपमा सचेत रहेको उल्लेख गर्दै उनले विमानस्थल संचालन हुँदा निजी क्षेत्र मात्र नभई समग्र देशको अर्थतन्त्रले नै गति लिने स्पष्ट पारिन् । पर्यटकहरुलाई आकर्षित गर्न उद्योगी–व्यवसायीहरुले आफ्ना सेवामा छुट तथा विशेष पर्यटकीय प्याकेजहरु ल्याउनुपर्ने सुझाव पनि उनले दिइन् ।

विशेष आर्थिक क्षेत्र (सेज), गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, एकीकृत जाँच चौकी (आईसीपी), बुद्ध जन्मस्थल लुम्बिनी र सिद्धार्थ क्रिकेट मैदानको एकीकृत विकास र संचालनबाट नै समग्र रुपन्देही र यस क्षेत्रको आर्थिक समृद्धि सम्भव हुने उनको भनाइ थियो ।

सांसद अग्रवालले विमानस्थल सञ्चालनका विषयमा छिट्टै नै प्रधानमन्त्रीको भारत भ्रमणबाट ‘गुड न्यूज’ आउने विश्वास व्यक्त गरिन् । ‘यहाँहरुलाई थाहै छ, म सांसद भएपछि संसदमा ५ पटकसम्म विमानस्थल संचालनको मुद्दा जोडदार रुपमा उठाइसकेकी छु’, उनले भनिन्, ‘यो कुरा पक्कै पनि प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डा छ । त्यसैले गुड न्युज यहाँहरुले पाउनुहुन्छ भनेकी हुँ ।’ उनले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा एयररुट लगायतका समस्या समाधान हुने विश्वास पनि ब्यक्त गरिन् । विगतमा केही उडान भए पनि निरन्तर हुन नसकेको जनाउँदै प्राविधिक कारणहरुका साथै रुट र निजी क्षेत्रको सहभागिताका विषयमा गम्भीर समीक्षा गर्नुपर्ने उनले औंल्याइन् ।

छलफलमा चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष सचिन रोक्का, पूर्वअध्यक्ष नारायणप्रसाद भण्डारी, बाणिज्य उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव लक्ष्मी अधिकारी, होटल संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, सिद्धार्थ होटल संघका बरिष्ठ उपाध्यक्ष किशोर जोशी, सिद्धार्थ उद्योग बाणिज्य संघका महासचिव कृष्णप्रसाद घिमिरे, होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन, रुपन्देही अध्यक्ष राजेश महोत्रालगायतले बोल्दै विमानस्थल नचल्दा निजी क्षेत्रमा मात्रै नभई समग्र अर्थतन्त्रमा असर परिरहेको जनाउँदै सरकारले तत्काल पूर्ण क्षमतामा संचालन गर्नुपर्नेमा जोड दिए ।

उनीहरुले विगतमा जति पहल गर्दा पनि विमानस्थल पूर्णक्षमतामा चल्न नसकेको जनाउँदै अहिलेको सरकारबाट थोरै आशा पलाएको बताउँदै सबै मिलेर नियमित उडानमा पहल गर्नुपर्ने बताए । व्यवसायीले प्रधानमन्त्रीको आगामी भारत भ्रमणमा विमानस्थलको एजेण्डा प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए । यसका लागि पहल गर्न सांसद अग्रवाललाई आग्रह गरे ।

प्रकाशित मिति : २१ कार्तिक २०८३, शनिबार  ८ : ३५ बजे

सरकारले काम गरिरहेको छ, गौतमबुद्ध विमानस्थल चाँडै चल्छ : सांसद अग्रवाल

भैरहवा । प्रतिनिधि सभा सदस्य पुनमकुमारी अग्रवालले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीलगायत

सर्वोच्च अदालतका लागि सिफारिस चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा

यात्रु कुट्ने चालक र सह-चालक पक्राउ

बुटवल । मागेजती भाडा नदिएको निहुमा यात्रीमाथि कुटपिट गर्ने चालक