काठमाडौं । पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले अब आफू पार्टीको काम र समाजसेवामा लाग्ने बताएका छन् । महराले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै दाङ, रोल्पा लगायत समग्र देशको समृद्धि विकासका लागि आफु राजकीय भूमिकामा रहँदा नजिक रहेक काम गरेको उल्लेख गरेका छन् । उनले आफु संसदीय भूमिका नरहँदा पनि दाङ, रोल्पा लगायत समग्र देशको समृद्धि विकासमा कुनै कमी हुन नदिने व्यक्त गरेका छन् ।
उनले विज्ञप्तिमा अघिल्लो पटक आफू निर्वाचित भएको दाङ क्षेत्र नम्बर २ मा यसपटक माओवादी केन्द्रबाट उम्मेदवार बनेकी रेखा शर्मालाई जिताउन आह्वानसमेत गरेका छन् ।
दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका लागि सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रको स्थायी समिति सदस्य रेखा शर्मा र नेकपा एमालेका महासचिव शंकर पोखरेल चुनावी भिडन्तमा छन् ।
महराले समाजसेवा र पार्टीको काममा आफ्नो सक्रियता झनै बढ्ने उल्लेख गर्दै संसदीय राजनीति र चुनावी मोर्चाको भूमिकामा युवा तथा नयाँ ऊर्जाशील कार्यकर्ताहरु आउने विश्वास पनि व्यक्त गरेका छन् ।
उनले २०७४ सालमा आफु निर्वाचित भएको प्रतिनिधि सभा दाङ निर्वाचन क्षेत्र नं. २ मा स्थायी समिति सदस्य रेखा शर्मासहित देशभर प्रतिनिधि सभा र प्रदेश सभामा अग्रगामी गठबन्धनका सम्पूर्ण उम्मेदवारहरुलाई विजयी गराउन समेत आग्रह गरेका छन् ।
यसअघि दाङ २ बाट महरा प्रत्यक्षतर्फ सिफारिस भए पनि माओवादीले उनलाई समानुपातिक उम्मेदवार बनाएको थियो । तर महराले आफू समानुपातिक उम्मेदवार पनि नबन्ने भन्दै आफ्नो नाम फिर्ता लिएका थिए ।
महरा २०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चा नेपालको तर्फबाट र शान्ति प्रक्रियापछि २०६३ सालमा अन्तरिम व्यवस्थापिका संसद २०६४ र २०७० को संविधानसभा सदस्य एवम् २०७४ मा चुनिएका थिए ।



















प्रतिक्रिया