३० श्रावण २०८३, शनिबार | August 15, 2026

मतदाता फकाउने फण्डा – प्रदेश राजधानी बुटवल नै ल्याउने खाँण र पौडेलको दाबी



बुटवल । गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाण र पूर्वमन्त्री एवं नेकपा (एमाले)का नेता विष्णुप्रसाद पौडेलले लुम्बिनी प्रदेशको राजधानी बुटवलमै ल्याउने प्रतिबद्धता आफ्ना मतदातासमक्ष गरिरहेका छन् ।

रुपन्देहीमा लगभग चुनावी मुद्दाजस्तै बनेको प्रदेश राजधानीको विषयमा जिल्लाबाट प्रतिनिधिसभामा उम्मेदवार रहेका उनीरूको स्पष्ट धारणा छ– “हामीले जिल्लाका सबै नागरिकका आवाज र धरणा बुझेका छौँ, हिजो के भयो र किन भयो भन्ने विषयतिर अहिले जान चाहँदैनौँ, तर प्रदेशको राजधानी बुटवलमा फिर्ता गर्छौँ ।”

लुम्बिनी प्रदेशसभाले प्रदेशको राजधानी दाङको देउखुरी लाने निर्णय गरेको थियो । तर देउखुरीमा प्रदेश राजधानीका लागि आवश्यक पूर्वाधार नभएको र प्रदेशको पायक पनि नपर्ने भन्दै बुटवलका नागरिकले यसको विरोध गर्दै आएका छन् ।

यतिखेर प्रदेश राजधानीको विषय रुपन्देहीका नागरिकको चुनावी एजेण्डाजस्तै बनेको छ । जिल्लावासीका तर्क छन्, “प्रदेशको राजधानी लुम्बिनीबाट अन्यत्रै सारियो, जबकि भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी विश्वका कम्तीमा पनि एकतिहाइ मानिसको आस्थाको केन्द्र हो, आर्थिक र औद्योगिक क्रियाकलाप प्रदेशका अन्य भू–भागका तुलनामा यहीँ बढी छ, यहाँ अन्तर्राष्ट्रिय विमानस्थलसमेत छ, अनि प्रदेशको राजधानी बुटवल नभएर अन्त कहाँ हुन्छ ?”

स्थानीयका यी तर्कसँग जिल्लाबाट प्रतिनिधिसभामा प्रतिनिधिसभाका उम्मेदवार खाण र पौडेल पूर्ण सहमत छन् । उहाँहरू दुवैले जनताका यी तर्कसँग सहमति जनाउँदै जनताका जिज्ञासा मेटाउँदै भन्ने गरेका छन् “लुम्बिनी प्रदेशको राजधानी बुटवलबाहेक अन्यत्र हुँदैन, हामी बुटवलमै ल्याउने प्रयत्नमा छौँ ।”

गृहमन्त्री खाण भन्छन्, “तत्कालीन सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा सबै प्रदेशका अस्थायी राजधानी तोक्ने काम ग¥यो । अरु प्रदेशमा तिनै राजधानी कायम भए, तर यहाँ किन हुन सकेन ? हुन त यो प्रदेशसभाको अधिकार हो नै, तर पनि त्यस समयमा बुटवलको पूर्वाधार र महत्वमाथि किन विवेक पु¥याउन सकिएन रु प्रदेश राजधानी राख्नका लागि बुटवलमा के कुराको कमी छ र यहाँबाट सारेर अन्यत्र लगियो ?”

कोरोना महामारीमा मुलुक ठप्प भएका बेला हचुवाका भरमा यसअघि नै तोकिएको प्रदेश राजधानी यहाँबाट सार्ने काम भएको गृहमन्त्री खाणको भनाइ छ । रुपन्देहीको क्षेत्र नं ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार गृहमन्त्री खाणसँग यहाँका नागरिकले प्रदेश राजधानीका साथै कृषि मल, बीउको उपलब्धता, सुकुम्बासी समस्याको समाधान, श्रमिकका समस्या समाधान, कोरोनाकालमा भएको आर्थिक क्षतिको पूर्ति, पर्यटनका लागि लुम्बिनी क्षेत्रको विशेष विकासजस्ता माग राखेका छन् र उनले आफू नागरिकका सबै समस्यासँग परिचित रहेकाले आगामी दिनमा ती सबै समस्या समाधानमा पहल गर्ने प्रण आफ्ना मतदातासँग गर्छन् ।

त्यसैगरी एमालेका नेता विष्णु पौडेलले पनि प्रदेश राजधानीको मुद्दा बनाएका स्थानीयका जिज्ञासाहरूको सुनुवाइ हुने विश्वास दिँदै प्रदेश राजधानी सधैँका लागि बुटवलबाट सरेको होइन भन्छन् । प्रदेश राजधानी बुटवलमै राख्नुपर्ने रुपन्देहीका नागरिकको भावनासँगै आफू पनि रहेको स्पष्ट गर्दै उहाँले लुम्बिनीजस्तो सांस्कृतिक एवं ऐतिहासिक प्रदेशको राजधानी बुटवलबाहेक अन्यत्र हुन नसक्ने तर्क राख्छन् ।

उनी भन्छन्, “हुन त यो प्रदेशसभाको अधिकार हो र त्यतिबेला निर्णय पनि भयो । तर यो कुनै ढुङ्गाले लेखिएको निर्णय होइन, चकले लेखिएको हो र त्यसलाई डस्टरले मेटेर अर्को निर्णय लेख्न सकिन्छ । हामी सबै त्यसका लागि लाग्ने हो ।”

रुपन्देही जिल्लालाई आर्थिक विकासको केन्द्रका रूपमा अघि बढाइएको र लगानी र विकासको मोडेलको मुख्य गन्तव्य लुम्बिनी भइसकेकाले लुम्बिनी प्रदेशको राजधानी बुटबलबाहेक अन्यत्र हुन नसक्ने तर्क पौडेलको छ ।

“हामी सबैको प्रयासबाट लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएर सञ्चालनमा आइसकेको छ, विश्वमा लुम्बिनीको आफ्नै गरिमा र आस्था रहेकाले अब विश्वको धार्मिक एवं सांस्कृतिक पर्यटनको एक प्रमुख गन्तव्य नै हामी लुम्बिनीलाई बनाउँदैछौँ भने प्रदेशको राजधानीको विकल्प पनि बुटवलबाहेक अन्यत्र कहाँ हुनसक्छ ?”, पौडलेको प्रश्न छ ।

उनी रुपन्देहीको क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि नेकपा (एमाले)को उम्मेदवार छन् । प्रदेश राजधानीबाहेकका उनीसँग भौतिक पूर्वाधार विकास, सुकुम्बासी समस्याको समाधान, नागरिकका शिक्षा र स्वास्थ्यका समस्याको समाधानका साथै जनजीविकाको सुधारका माग छन् । आफ्ना मतदातासँग उहाँले आफू सदैव जिल्लाको विकासमा लागिनै परेको र आगामी दिनमा पनि यी सबै समस्याको समाधानका लागि आफूले जनताको साथमै रहेर पहल गर्ने प्रतिबद्धता व्यक्त गरिरहेकाछन् ।

उनले आफूले जिल्लामा पूर्वाधार निर्माणका क्षेत्रमा धेरै काम गरेको र ती सबै जनताका अगाडि छर्लङ्ग नै रहेको भन्दै आगामी दिनमा जनताको जीवनस्तर उकास्ने र कृषि र किसानलाई प्रत्यक्ष लाभ पु¥याउने योजना आफूसँग रहेकाले आफूलाई मतदान गरी विजयी गराउन आग्रह गरे । -रासस

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  १२ : ४७ बजे

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो

India’s 80th Independence Day Celebrated in Kathmandu

Kathmandu, August 15, 2026: The 80th Independence Day of India

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले भारतको ८०औँ स्वतन्त्रता दिवस विभिन्न

उच्च अदालत पाटन बारमा मतदान जारी

काठमाडौं । उच्च अदालतहरूमध्ये सबैभन्दा बढी सदस्य भएको पाटन उच्च

नुवाकोटको शिवपुरी थानाभञ्ज्याङमा रोकिराखेको बस दुर्घटना, दुई जनाको मृत्यु तीन घाइते

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस आफैं गुडेर