काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत राजकीय भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउँदै आर्थिक विकास, ऊर्जा, व्यापार, पूर्वाधार र जनस्तरको सम्बन्ध विस्तारमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको परराष्ट्रमन्त्री शिशिर खनालले बताएका छन् ।
आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्रीको भ्रमणबारे जानकारी दिँदै मन्त्री खनालले भ्रमणलाई ऐतिहासिक र परिणाममुखी रहेको बताए । उनका अनुसार भ्रमणबाट दुवै देशका नागरिकले प्रत्यक्ष लाभ लिन सक्ने गरी विभिन्न क्षेत्रमा सहकार्यका नयाँ आधार तयार भएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भएको राजकीय भ्रमणका क्रममा कनेक्टिभिटी, ऊर्जा साझेदारी, व्यापार, आर्थिक सहकार्य तथा जनस्तरको सम्बन्ध विस्तारलगायत विषयमा महत्त्वपूर्ण सहमति भएको उनले जानकारी दिए ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाह र मोदीले ‘विकसित भारत–समुन्नत नेपाल’ सम्बन्धी संयुक्त दूरदृष्टि दस्तावेज जारी गरेका छन् । यसले आर्थिक तथा विकास साझेदारी, भौतिक र डिजिटल सम्पर्क सञ्जाल, ऊर्जा, जलवायु उत्थानशीलता, विपद् जोखिम न्यूनीकरण, कृषि, शिक्षा, स्वास्थ्य, खेलकुद, स्टार्टअप, डिजिटल सेवा, अन्तरिक्ष र नवप्रवर्तनका क्षेत्रमा सहकार्य अघि बढाउने मार्ग प्रशस्त गरेको मन्त्री खनालले बताए ।
व्यापार र पारवहनमा नयाँ सुविधा
नेपालको तेस्रो मुलुकसँगको व्यापार सहजीकरणका लागि भारतका कोलकाता र विशाखापट्टनम बन्दरगाहसँगै गुजरातको दीनदयाल ९कान्डला० र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न पहुँच दिने सहमति भएको छ । यसले नेपालको अन्तर्राष्ट्रिय व्यापार र पारवहन व्यवस्थालाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।
जनकपुर–अयोध्याबीच यात्रुवाहक रेलसेवाको दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा भर्चुअल उद्घाटन गरेका छन् । यसबाट धार्मिक, सांस्कृतिक तथा पर्यटन सम्बन्ध विस्तार हुने विश्वास गरिएको छ ।
त्यसैगरी, काठमाडौँ–भैरहवा–लखनउ बी–३४५ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्ने सहमति भएको छ । धार्चुला–दार्चुला जोड्ने मोटरेबल पुलको संयुक्त उद्घाटन र बनबासामा एकीकृत जाँच चौकी ९आईसीपी० निर्माणको शिलान्यास पनि भ्रमणका उपलब्धि हुन् ।
ऊर्जा र पूर्वाधारमा महत्त्वपूर्ण सहमति
ऊर्जा सहकार्यअन्तर्गत इनरुवा–न्यू पूर्णिया र दोधारा–बरेली विद्युत् प्रसारण लाइन संयुक्त लगानीमा निर्माण गर्ने सहमति भएको मन्त्री खनालले जानकारी दिए । तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त शिलान्याससमेत गरिएको छ ।
भारतको सहयोगमा निर्माण भएको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालनमा ल्याइएको छ भने झापा–सिलिगुडी पेट्रोलियम पाइपलाइनको शिलान्यास गरिएको छ । यी परियोजनाले नेपालको ऊर्जा आपूर्ति र सुरक्षालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
लामो समयदेखि चर्चामा रहेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० अन्तिम रूप दिन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने सहमति भएको पनि उनले बताए ।
शिक्षा, स्वास्थ्य र अन्य क्षेत्रमा समझदारी
नेपालमा भारतीय प्रविधि संस्थान ९आईआईटी० को सम्बन्धन प्राप्त क्याम्पस स्थापना गर्ने निर्णय भ्रमणका क्रममा भएको छ । यसले उच्च शिक्षा, अनुसन्धान, नवप्रवर्तन र दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
भ्रमणका अवसरमा फरेन्सिक विज्ञान तथा अनुसन्धान, सुरक्षा तथा प्रहरी प्रशिक्षण, निजामती कर्मचारीको क्षमता विकास, आयुर्वेद तथा परम्परागत चिकित्सा, दक्षिण एसिया भूउपग्रहको उपयोग, दिगो सहरी विकास, स्वास्थ्य तथा औषधि र पशुपालन तथा मत्स्यपालन विकास गरी आठ क्षेत्रमा समझदारीपत्रमा हस्ताक्षर भएका छन् ।
नेपाल–भारत सीमाको संयुक्त स्थलगत निरीक्षण तथा सीमा स्तम्भ मर्मतसम्भारको प्रगतिलाई ध्यानमा राख्दै विद्यमान सीमासम्बन्धी विषयमा थप काम गर्न दुवै देशका परराष्ट्र सचिवलाई निर्देशन दिइएको छ ।
लगानी र उच्चस्तरीय भेटवार्ता
भ्रमणका क्रममा नेपाल–भारत व्यापार गोलमेच बैठक आयोजना गरिएको थियो । दुवै देशका उद्योगी, व्यवसायी तथा लगानीकर्ताको सहभागिता रहेको बैठकमा नेपालको लगानी सम्भावनाबारे जानकारी गराउँदै भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न प्रोत्साहित गरिएको मन्त्री खनालले बताए ।
प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटसमेत गरेका थिए । भेटमा दुई देशबीचको सौहार्दपूर्ण सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।
मन्त्री खनालका अनुसार भारतीय उच्च राजनीतिक नेतृत्वसँग भएका भेटवार्ता र छलफलले नेपाल–भारतबीच कूटनीतिक, आर्थिक तथा विकास सहकार्यलाई थप मजबुत बनाएको छ ।
उनले भ्रमणबाट आपसी समझदारी र सहयोग अभिवृद्धि हुनुका साथै आगामी दिनमा द्विपक्षीय हितका क्षेत्रमा परिणाममुखी सहकार्य अघि बढाउन बलियो आधार तयार भएको बताए । छिमेकी मुलुकका संवेदनशीलता बुझ्दै आपसी समन्वयमा समस्याको समाधान खोज्ने र साझा हित प्रवर्द्धन गर्ने दृष्टिले पनि भ्रमण फलदायी रहेको उनको भनाइ छ ।
















प्रतिक्रिया