८ जेष्ठ २०८१, मंगलबार | May 22, 2024

राष्ट्रिय खेलाडीको अनुभव : स्वदेशमै खेलमा बाँच्ने आधार चाहियो



पाल्पा । प्रदीप लम्साल उमेरले २० वर्षका भए । अहिले उनी ‘ए’ डिभिजन लिग फुटबल खेलमा छनोट भएर एक सिजनको खेल खेलिसकेका छन् । व्यवस्थापन सङ्कायमा काठमाडौँमा स्नातक तहको प्रथम वर्षमा अध्ययनरत उनलाई फुटबलप्रतिको मोह, लगाव र प्रेम असाध्यै छ ।

दश वर्षको उमेरदेखि नै फुटबलमा जिज्ञासु र मेहनतका साथ खेल्ने उनी सक्षम र अनुशासित खेलाडीको रुपमा कहलिएका छन् । फुटबल अहिले उनलाई एक किसिमको नशा नै बनेको छ । “फुटबल खेलमा मेरो माया प्रेम गहिरो बसेको छ, सानैदेखि नै यसमै ध्यान दिएर खेल्ने गर्थें”उनले भने, “खेललाई आफूले नै भित्रदेखि नै खेल्छु भन्ने दृढ सङ्कल्प लिइयो भने सफलता प्राप्त गरिने रहेछ ।”

स्थानीयस्तरका विभिन्न सङ्घ संस्था, क्लबको आयोजनामा हुने खेलमा समूहमार्फत खुला प्रतिस्पर्धा गर्ने क्रममा उनी ‘बी’ डिभिजन लिगअन्तर्गतको खेल खेल्न पुगे । अथक मेहनत र प्रयासले अहिले ‘ए’ डिभिजन तहको खेल खेल्ने अवस्था सिर्जना गरेकामा उनी अत्यन्तै उत्साहित छन् ।

‘ए’ डिभिजन लिगमा पुगेपछि खेलमा आत्मबल र मोह झन् बढ्दै गएको छ । खेलकुदमा सुन्दर भविष्य बुन्नुभएका लम्साल स्वदेशमै खेलाडीलाई जिउने अवसर राज्यले सिर्जना गर्नुपर्ने बताउँछन् । “खेलमा भविष्य नभएको होइन, राम्रा खेलाडी नेपालमा उत्पादन भएका छन्, तर खेल खेलेर हामीलाई स्वदेशमै बाँच्नसक्ने आधार राज्यले देखाइदिनु पर्दछ, यहाँ खेल खेलेर बाँच्ने आधार नहुँदा अधिकांश राम्रा खेलाडी विदेशिएको हामीले देखेका छौँ, तीनलाई रोक्ने वातावरण राज्य तहबाट सिर्जना हुनुपर्छ” उनले भने ।

आफू र आफ्नो जन्मभूमि रामपुरलाई राष्ट्रियस्तरमा चिनाउने सङ्कल्प बोकेर देशका विभिन्न स्थानमा खेल खेल्न पुग्ने उनी राज्यले खेलकुदमा कम बजेट विनियोजन गरेकाले अब वृद्धि गरेर पूर्वाधार र खेलाडीको सीप विकासमा जोड दिन अनुरोध गर्छन् । विदेशमा खेलिने खेल र नेपालमा हुने खेलको स्तरमा फरक नभएको बताउनुहुने लम्साल सिङ्गल राउण्डको मात्रै खेल नेपालमा सञ्चालन हुने गरेको बताउँछन् ।

अब त्यसलाई डबल राउण्डमा खेलाउनुपर्ने उनको माग छ । पोखराका २७ वर्षीय अजित गुरुङ चार वर्षदेखि लगातार रुपमा ‘ए’ डिभिजन लिग फुटबल खेलिराखेका छन् । यस क्षेत्रमा सुनौलो भविष्य बनाउने सपना बोकेका उनी निकै सङ्घर्षले अहिले राष्ट्रियस्तरका खेलमा सहभागी हुने वातावरण आफूले बनाएको बताउँछन् । लिगअन्तर्गत खेलाइने खेल छोटो अवधिको हुने हुँदा यस खेललाई अब बारैमहिना खेल्ने वातावरण बनाइएमा छोटो समयमा धेरै खेलाडी जन्मने बताउँछन् । सानै उमेरदेखि नै यस खेलमा रुचि राख्ने उनी स्थानीयस्तरमा हुने फुटबल खेलमा प्रतिस्पर्धा गर्दै जाँदा अहिले राम्रो खेलाडीको पहिचान दिनसक्ने भएका छन् ।

उनी कक्षा १२ सम्मको अध्ययनलाई बीचमै बिट मार्दै बाँकी समय खेल क्षेत्रमै बिताउँने सङ्कल्प लिएर अगाडि बढेका छन् । खेलमा सबै उमेर समूहको रुचि हुन्छ । खेल क्षेत्रलाई विकास गरेर राम्रो वातावरण तयार पारियो भने लुकेर रहेका प्रतिभाको विकास हुनेछ । खेलमैदान, एकेडेमी सञ्चालन गरेर नयाँ नयाँ पुस्तालाई सानैदेखि खेल्ने वातावरण तयार पार्न स्थानीय सरकार, परिवार, समाजले अहम् भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।

“खेलकुदको क्षेत्रमा धेरै सङ्घर्ष गरियो, गाउँघरमा राम्रो खेलमैदान नभए पनि चउर, सडक क्षेत्रमा नै फुटबल भनेपछि खाली खुट्टा पनि खेलिन्थ्यो, अभ्यास निरन्तर गरियो भने क्षमता विकास हुँदै जाने रहेछ” उनले भने ।

विश्वकप खेलबाट प्रभावित भएर सानैदेखि नै अभ्यास गर्दै जाँदा ‘ए’ डिभिजन लिगको खेल खेल्ने वातावरण आफूले बनाएकोमा उनी गर्व गर्छन् । उनका अनुसार स्थानीयस्तरका खेलकुदको दाजोमा लिगमा खेलाडीले बढी तनाब र दबाब भोग्नुपर्नेछ । सानैदेखि नै खेल्ने वातावरण बन्यो भने बाहिर प्रतिस्पर्धामा जाँदा हतोत्साहित हुननपर्ने उनको बुझाइ छ ।

वालिङ स्याङ्जाका टङ्कराज गुरुङ खेलकुदमा नै भविष्य बनाउने गरी कक्षा १२ को अध्ययनपश्चात् यसै क्षेत्रमा रम्दै छन् । नेपालमा राम्रो नीति र व्यवस्था नहुँदा व्यावसायिक रुपमा बाँच्ने राम्रो वातावरण नबनेको उनले बताए ।

उनी ‘ए’ डिभिजन लिग खेल्न थालेको दुई सिजन भयो । नेपालको पूर्वदेखि पश्चिम सबै क्षेत्रमा पुगेर खेलेको धेरै अनुभव बटुलेका छन् । उनी सानैदेखि नै फुटबलमा देखेको सपनालाई यसमै भविष्य बनाउने सोच लिएर अगाडि बढेको बताउँँछन् । राष्ट्रियस्तरमा मात्र नभइ अन्तर्राष्ट्रियस्तरमा नाम चिनाउने उनको रहर छ । स्थानीयस्तरका क्लबले आयोजना गर्ने खेलबाट खेलाडीले खेल्ने र सिक्ने अवसर पाएका छन् । राष्ट्रिय रुपमा प्रतिस्पर्धा कम हुने हुँदा खेलमा भविष्य बोकेका युवा अन्योलमा परेका छन् ।

उदाउँदो खेलाडीका रुपमा जोस, जाँगरका साथ यस क्षेत्रमा निस्केका खेलाडी वातावरण र पूर्वाधार विकास अभावमा नचाहेर पनि छाड्नुपर्ने स्थिति छ । करिब तीन दशकदेखि खेलकुद क्षेत्रमा अनुभव बटुल्नुभएका राष्ट्रिय फुटबल रेफ्री बुटवलका विष्णुप्रसाद पौडेल अहिले पनि चन्दा उठाएर खेल आयोजना गर्नुपर्ने बाध्यता रहेको बताउँछन् ।

“खेल क्षेत्रमा राज्यको लगानी न्यून रहेको छ, कल्भर्ट, साना सडक बनाउन राज्यबाट करोडौँ रकम खर्चिएको हुन्छ तर खेलकुद क्षेत्रमा राम्रोसँग ध्यान दिइँदैन, खेल क्षेत्रमा राज्य उदासिन छ, स्थानीय निकायले खेलमा बजेट विनियोजन गर्न पहल गरेको देखिँदैन” पौडेलले भने ।

सिर्जनशील कप २०७९ को सन्दर्भमा पाल्पा जिल्ला फुटबल सङ्घमार्फत पहिलो पटक रामपुरमा आएका उनी यो क्षेत्र खेलकुदमा धेरै सम्भावना बोकेको र दर्शकको उत्साह राम्रो पाएको बताउँछन् । पहिला टिम प्रशिक्षकका रुपमा काम गरेका उनी यो क्षेत्रमा खेलकुदलाई प्राथमिकता दिएर काम गरेमा राम्रो खेलाडी उत्पादन गर्ने थलोको रुपमा चिनिने बताउँछन् ।

“नेताहरुले खेल क्षेत्रमा राम्रो गरेका छौँ भनेर भाषणमा विभिन्न अभिव्यक्ति सुनिन्छन्, अहिलेको युगमा पनि पुरानै दशरथ रङ्गशालामा खेल खेलाउनुपर्ने बाध्यता छ, हाम्रा देशमा ठूला–ठूला पूर्वाधार छन्, बजेट विनियोजन गरेर त्यसलाई स्तरोन्नति गर्दै लैजानुपर्नेछ, यसमा सरोकारवाला निकायले ध्यान दिनुप¥यो” उनले भने ।

प्याराफिट जडान गरेर रामपुर गोल्ड कपका नामले नेपालको राष्ट्रियस्तरको गोल्डकप गर्न सक्ने ठाउँ बन्ने उनले देखेका छन् । यहाँ राष्ट्रियस्तरका खेलाडी विभिन्न स्थानबाट खेल खेल्न भित्रिने गरेकाले राजनीतिक दलका व्यक्तिले खेलमा राजनीतिकरण नगरिकन खेलकुदको विकासमा चासो दिनुपर्ने उनको भनाइ छ । खेलले एउटा भूगोल, क्षेत्रको मात्रै चिनारी नभइ दुर्व्यसनीमा लागेका युवालाई सही मार्गमा लगाउने माध्यमको रुपमा पनि लिने गरिन्छ । कतिपय बालबालिका, युवा खेल खेल्ने ठाउँ नपाएर दुरेव्यसनी लागेको पाइन्छ । वर्षौंदेखि स्वास्थ्यका लागि खेलकुद भनिए पनि नारामा मात्रै सीमित बनेको छ । राम्रो मार्गदर्शन गर्ने व्यक्तिको अभाव छ । पुराना खेलाडीले कोच गर्न सक्ने र तल्लो तहबाट आएका खेलाडीले विभिन्न क्लबमा आवद्ध भएर मासिकरुपमा रु ५० देखि ६० हजारसम्म कमाउन सक्ने आधार खेलकुदमा रहेको संलग्न खेलाडी तथा प्रशिक्षक बताउँछन् । यसमा स्थानीय निकायले चासो दिएर काम गर्नुपर्ने हुन्छ ।

राष्ट्रियस्तरमा हुने खेलको समय छोटो हुँदा यस क्षेत्रलाई छाडेर अन्यत्र जानुपर्ने बाध्यता पनि छ । कम्तीमा पनि छ देखि आठ महिनासम्म लिग खेल्ने अवसर सिर्जना भएमा खेल क्षेत्रले धेरै फड्को मार्ने खेलाडी बताउँछन् । खेलमै केही गर्छु भन्नेका लागि अहिले नेपालमा हुने गरेका खेलमा प्रतिस्पर्धा गर्ने समय अति कम रहेकाले यस क्षेत्रबाट खेलाडी अन्यत्र पलाउन हुनुपर्ने बाध्यता बनेको छ । स्थानीय तहबाट नै खेललाई प्राथमिकता दिएर पूर्वाधार विकास, हरेक पालिकामा एउटा एकेडेमी स्थापना, खेलाडीलाई प्रशिक्षण, छात्रवास तथा कोचजस्ता कुराको व्यवस्था गर्नु जरुरी छ । स्थानीयस्तरबाट नै राष्ट्रियस्तरसम्म खेल्न सक्ने सक्षम र योग्य खेलाडी थुपै्र जन्मनेछन् । स्थानीय सरकारले पनि खेलकुदमा ध्यान दिएर काम गरेमा राम्रो खेलाडी उत्पादन हुने र स्वदेशमै यसै क्षेत्रमा खेलाडी रमाउनसक्ने वातावरण बन्नेछ । गाउँघरमा विभिन्न खालका खेल बेला बेलामा भइरहेमा ‘ए’ डिभिजन, ‘बी’ डिभिजन र ‘सि’ डिभिजन खेल खेल्न पाउने अवसर मिल्नेछ ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  १ : ४१ बजे

नन्दिनी गौशालालाई बुटवल १० का वडाबासीको तर्फबाट अहार बिहार प्रदान

बुटवल । छाडा चौपाया नियन्त्रण र गौशालाको व्यवस्थापन एकैपटक गरिएपछि

नेपाल र बेलायतबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको सय वर्ष पूरा : बेलायती प्रधानमन्त्रीद्वारा स्वागत समारोह आयोजना

काठमाडौं । नेपाल र संयुक्त अधिराज्यबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको एकसय

प्रधानमन्त्रीसँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बहुपक्षीय प्राविधिक एवं आर्थिक

समानीकरण अनुदान कटौती हुँदैन- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय सरकारलाई

बस्ती पसेको बाघ नियन्त्रणमा

चितवन । चितवनमा बस्तीमा पसेको बाघलाई नियन्त्रणमा लिइएको छ ।