२९ मंसिर २०८२, सोमबार | December 15, 2025

शहीदको सपना पूरा गर्न हातेमालो गर्न प्रधानमन्त्री प्रचण्डको आह्वान



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शहीदको सपना पूरा गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन । चुनौतीपूर्ण परिस्थितिमा गठन भएको नयाँ सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अघि बढ्न दृढ सङ्कल्पित उल्लेख गर्दै उनले शहीदका सपना पूरा गर्न आह्वान गरेका हुन ।

शहीद दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले जीवनपर्यन्त आफ्नो सम्पूर्ण तागत देश र जनताको हितका खातिर समर्पित गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । “शहीदहरूले देखाएको बाटोमा शब्दमा मात्र होइन, कर्ममा समेत अनवरत रूपमा लामबद्ध हुन, उनीहरूको त्याग र प्रेरणा राष्ट्र र जनताको विकास एवं समृद्धिका लागि खर्चिने सङ्कल्प गर्न म आम जनसमुदायमा हार्दिक अपिल गर्दछु”, सन्देशमा भनिएको छ ।

प्रधानमन्त्री प्रचण्डले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वयनमार्फत देशलाई समृद्ध र समुन्नत बनाउन शहीदहरूको सपना तथा योगदान सधैँ प्रेरणादायी हुनेछ भन्ने विश्वास पनि लिएका छन । उनले दिवसको ऐतिहासिक दिनले देश र जनताको समुन्नत भविष्यका लागि सहकार्य गरी अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामनासहित शहीदको सपना पूरा गर्न हातेमालो गर्दै अघि बढ्न सबैमा आह्वान गरेका छन ।

उनले भनेका छन, “तानाशाही र निरङ्कुश व्यवस्थाका विरूद्ध सङ्घर्षका क्रममा उच्च बलिदानी गर्नुहुने महान् शहीदहरूको बलिदानी भएको दिनलाई हामीले शहीद दिवसका रूपमा स्मरण गर्दै आएका छौँ, आजको दिन नेपाल र नेपालीहरूको आत्मसम्मान र स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान गर्ने शहीदहरूप्रति विशेष सम्मान व्यक्त गर्ने दिन हो ।”

प्रधानमन्त्री प्रचण्डले परिवर्तनका पक्षमा भएका सम्पूर्ण आन्दोलनमा आफ्नो जीवन अर्पण गर्ने महान् शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण बेपत्ता योद्धाहरुको स्मरणसहित उच्च सम्मान व्यक्त गरेका छन । उनले आन्दोलनका क्रममा घाइते भएका योद्धाहरूको शीघ्र स्वास्थ्यलाभसहित दीर्घायुको कामना गरेका छन ।

“राणाकाल सुरु हुनुपूर्वका विभिन्न आन्दोलन, सङ्घर्ष, राणाकाल विरूद्धका चरणबद्ध आन्दोलन, २००७ सालको परिवर्तन, पहिलो र दोस्रो जनआन्दोलन, १० वर्षे जनयुद्ध, मधेस आन्दोलन लगायतका आन्दोलन, जनआन्दोलन तथा सङ्घर्षमार्फत नेपालले जे–जति उपलब्धि प्राप्त गरेको छ, ती महान् शहीदहरूको सङ्घर्ष र बलिदानीबाट मात्र सम्भव भएको हो”, सन्देशमा उल्लेख छ ।

शहीदहरूको बलिदानको उच्च सम्मानका साथ उनीहरूको सपनालाई साकार पार्ने कार्यमा हामी सबै आ–आफ्नो ठाउँबाट निरन्तर प्रयत्नशील रहनु आवश्यक रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ६ : १० बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले